होम क्वारेन्टाइनमा रहेकी दीपाश्री निरौलासँग पाँच प्रश्न...

  • मनाेज न्याैपाने चैत १४, २०७६ | शुक्रबार | दमक, झापा




पूरा देश कोरोना भाइरस (कोभिड-१९)को सङ्‍क्रमणबाट जोगिन यतिबेला लडकडाउनको अवस्थामा छ। अत्यावश्यकबाहेक सामाजिक, राजनीतिक, आर्थिक तथा मनोरञ्जनात्मक क्रियाकलाप शून्य प्रायः छन्।
यस अवस्थामा सबै नागरिक आ-आफ्ना घरमै होम क्वारेन्टाइनमा बस्न बाध्य छन्। यसरी होम क्वारेन्टाइनमा समय व्यतित गर्नुपर्ने बाध्यताबाट कलाकार पनि अछुत छैनन्। उनीहरू पनि आ-आफ्ना स्थानमा रहेर कोभिड-१९ को सङ्‍क्रमण रोक्न सहयोग गरिरहेका छन्। उनीहरू सरकारको आग्रहलाई थप प्रभावकारी बनाउन लागिरहेका छन्।
यस विषम परिस्थितिमा कलाकार तथा निर्देशक दीपाश्री निरौलासँग नेपालन्युजका मनोज न्यौपानेले गरेको टेलिफोन संवादको सम्पादित अंशः
घरमै हुनुहुन्छ?
नाई, हामी त सामाजिक सचेतनाका लागि क्रियाशील नै छौं। सामाजिक सचेतना फैलाउने, सामाजिक रूपमा छुट्टा-छुट्टै बस्न आग्रह गर्ने हाम्रो कर्तव्य पनि त हो। त्यसैले आज चाँहि नेपाल टेलिभिजनको प्राङ्‍गणमा छायाङ्‍कनमा छौं। कारण मानिसहरू दिउँसोभर कर्फ्यु लगाएर साँझ खुलेझैँ ५ बजेपछि असरल्ल हिँड्न थाल्नुभयो, त्यसैले सामाजिक सचेतनाका लागि यहाँ भेला भएका हौँ।
नेपाल टेलिभिजनको प्राङ्‍गणमा को-को भेला हुनुभएको छ?
हामी ३ जना उपस्थित छौँ, अहिले। प्राविधिकबाहेक म, जितु नेपाल र केदार घिमिरे छौँ।
सचेतनाकोे मुख्य सन्देश चाहिँ?
अहिलेको यो बन्दाबन्दीको अवस्था कर्फ्यु होइन, महामारीका कारण नेपाल सरकारले तपाईं-हाम्रा लागि घरमै बसौँ, सामाजिक सुरक्षा अपनाऔँ भन्ने नै हो।
आजलाई छोडेर कति दिन भयो होम क्वारेन्टाइनमा बस्नुभएको?
सरकारले लकडाउन गरेको नै आज ४ दिन भयो। त्यो भन्दा एक दिन अघिबाट, भनेपछि ५ दिन भएछ।
फुर्सदको समय कसरी सदुपयोग गर्दै हुनुहुन्छ?
एक हिसाबले मेरो लागि यो समय निकै सहज बनेको छ। बिहानै उठेर नित्यकर्म गर्ने अनि आफू सुहाउँदो र रोजेर गीत बजाउँदै जुम्बा गर्ने। बिहानको खाना खाने। अनि, नेपाली, हिन्दीलगायत फिल्म हेर्ने। दिउँसोको खाजापछि भने बेलुकाको समय भजनमा नृत्य गर्ने। यस्तै-यस्तै हो।
जीवनकालमै यस्तो भयावह अवस्था भोग्नुपर्दाको अनुभूति?
यो अवस्था त हाम्रो लागि ठूलो शिक्षाप्रदक बनेको छ। अझ घरमै बसेर बाँच्ने अवसर पनि पाएझैँ लागेको छ। जीवनमा नाम, दाम वा पैसाभन्दा ठूलो र महत्त्वपूर्ण कुरा भनेको स्वास्थ्य नै हो भन्ने चेतना पाइयो।
खुसीको कुरा भनेको विश्वमा यस्तो महामारीका रूपमा भाइरसको प्रभाव देखिरहँदा भाग्यबस हामीले कसैलाई गुमाउनुपरेको छैन।
आफ्ना प्रशंसकहरूलाई यो समय कसरी सदुपयोग गर्न आग्रह गर्नुहुन्छ?
पहिलो कुरा तपाईं कुन कुरामा बढी रमाउन सक्नुहुन्छ त्यसको छनोट गर्नुहोस्। कारण, लकडाउन भन्नेबित्तिकै तपाईंले घरमै आफ्नो समय व्यातित गर्नुको विकल्प छैन। यसरी घरमा बस्दा आफूलाई कुन कुरामा खुसी बनाउन सकिन्छ त्यसैलाई प्राथमिकतामा राख्नुहोस्।
होला, कसैलाई पुस्तकमा रामाउन मनपर्छ, कसैलाई गीत, सङ्‍गीत र फिल्म मनपर्छ अनि कसैलाई इन्टरनेट र सामाजिक सञ्जाल नै प्यारो हुनसक्छ। जे भए पनि यो पाएको फुर्सदको समय मन खुसीले परिवारसँग रमाउँदै बिताउनुहोस्। घरभित्रै बस्नुहोस्, बसौं। आफू बचौं र अरूलाई पनि बचाऔं।
पुस्तकको कुरा गरिरहँदा, तपाईंले यो ५ दिनभित्रमा कुन-कुन पुस्तक पढ्नुभयो?
केही पुस्तक पढ्दै छु। मदनकृष्ण श्रेष्ठ दाइको ‘महको म’, हरिवंश दाइको ‘चिना हराएको मान्छे’ पढें। अस्ति भर्खरै किनेकी थिएँ भरतमोहन अधिकारीको जीवनी, त्यो पढ्दैछु। यी नै हुन्।

Comments