- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस १९, २०७६ | शनिबार | काठमाडौं

बागबजारको सिटिम्याक्स हल नजिकैको साँघुरो कोठाभित्र जोड-जोडले सङ्गीत गुञ्जिरहेको छ।
सानो टेबल। टेबलमा केही पुस्तक। अनि टेबल सुहाउँदो सोफा।
अर्को छेउमा स्टुडियो डेक्स, माइक्रो फोन, स्टुडियो मोनिटर्स अनि, १६/१७ इन्चको कम्प्युटर सबै सङ्गीतको कम्पनले कम्पित छन्।
कोठाभित्रको माहोल सङ्गीतमय छ।
कहिले नेपाली पार्श्व सङ्गीत, कहिले आधुनिक। अनि कहिले हिन्दी गीतमा सङ्गीत भर्न व्यस्त छन् बाबुल गिरी।
सँगै बसेका छन् हास्य कलाकार शिवहरी पौडेल। बाबुलको साङ्गीतिक रागमा शिवहरी पनि झुमिरहेका छन्।
फिल्म ‘लक्का जवान’को गीत फाइनल गर्न बागबजार छिरेका शिवहरी पुसको चिसो मौसममा बाबुलको सानो, तर सङ्गीतमय कोठामा हराइरहेका छन्।
०००
बाबुल गिरी नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेका स्रस्टा हुन्। नेपाली भएर पनि उनको नाम भने केही भिन्न लाग्छ। पंक्तिकारको जिज्ञासा थियो। के यो नाम नेपाली नै हो?
स्थायी घर सिन्धुपाल्चोक भए पनि उनको जन्म भारतको अरुणाञ्चलमा भएको रहेछ। बुबा भारतीय सेनामा जागिर गर्ने भएकाले उनको जन्म उतै भयो।
दिदीले भाइलाई मायाले बाबु भनेर बोलाउँथिन्, तर दिदी तोते बोल्ने भएकाले बाबु उच्चारण बाबुल सुनिन्थ्यो।
उनको खास नाम नागरिकतामा धनबहादुर गिरी छ, तर दिदीले बोलाउने त्यो बाबुल नाम नै उनलाई प्यारो लाग्यो रे। त्यसैले साङ्गीतिक क्षेत्रमा पनि आफ्नो नाम बाबुल नै राखेका रहेछन्।
दुई-दुई वटा नामले अप्ठ्यारो पर्दैन? भन्ने प्रश्नमा बाबुलको जवाफ थियो, ‘खै अहिलेसम्म अप्ठ्यारो परेको छैन, नाम फरक भए पनि, पहिचान फरक भए पनि मान्छे त एउटै हो नि!’
०००
‘ठ्याक्कै यति भनेर काउन्ट त गरेको छैन, तर अहिलेसम्म ४/५ सय गीतमा सङ्गीत भरिसकेको छु,’ आफ्नो साङ्गीतिक करिअरतर्फ फर्किए बाबुल, ‘पुस १२ गते मैले कम्पनी खोलेको ४ वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश भयो। यसको अर्थ मैले सङ्गीतकै लागि जीवन खर्चिएको त्यही ४ वर्ष पुग्यो।’
उनले सुनाएको साङ्गीतिक यात्रा र काम गरेका गीतको सङ्ख्या सुन्दा पंक्तिकार स्वयमलाई पनि विश्वास गर्न गाह्रो भयो। प्रश्न उठ्यो, यति छोटो समयमा यति धेरै काम?
‘धेरै गीत तयार भएर पनि सार्वजनिक गरिएका छैनन्। यद्यपि, २ सय ५० बढी त बजारमा छन्,’ उनले भने।
बाबुल सङ्गीतकारसँगै गायक पनि हुन्।
बाबुलका आवाज तथा सङ्गीतमा रहेका केही गीत बजारमा चल्तीमा छन्। ‘कोया कटरको...’, ‘दिनदिनै आउँछु लड्डु चढाउँछु...’, ‘तिमीसँगै’, ‘ड्याम ड्याम...’, ‘झ्याप्पै तिमलाई...’, ‘वर्षियो माया...’, ‘के साह्रो मिठो कुवाको पानी...’, ‘मयालुको साथ...’, ‘तिमै माया...’ लगायत बाबुलका केही चलेका गीत हुन्।
पछिल्ला दिन पनि उनी गीत-सङ्गीतमै व्यस्त छन्। विभिन्न फिल्मका पाश्र्व गीतमा सङ्गीत भर्न उनलाई भ्याइनभ्याइ छ।
पछिल्ला दिन पनि उनी गीत-सङ्गीतमै व्यस्त छन्। विभिन्न फिल्मका पाश्र्व गीतमा सङ्गीत भर्न उनलाई भ्याइनभ्याइ छ।
पंक्तिकार उनको अफिसमा पुग्दा हिन्दी गीतमा सूर र सङ्गीत भरिरहेका थिए। भन्दै थिए,‘यो निर्माणको तयारीमा रहेको बलिउड फिल्म ‘म्याड लभ’का लागि तयार भइरहेको गीत हो, सुनेको छु यो फिल्ममा गोविन्दा, सञ्जय दत्तलगायतको पनि अभिनय रहन्छ रे।’
नेपालमा रहेर बलिउड फिल्मको सङ्गीत भर्न पाउनु सौभाग्यको कुरा हो। बाबुल भन्दै थिए, ‘म भाग्यमानी हुँ नि! कर्म गर्न थालेपछि कामको खाँचो भएको छैन। अनुभव गर्दै जाँदा काम पनि आइरहेकै छ। व्यस्त नै छु।’ यसबाट उनी कर्मबाट सन्तुष्ट छन् भन्ने प्रस्ट हुन्थ्यो। पेसाप्रति जिम्मेवार अनि खुसी छन् बाबुल।

बाबुलको साङ्गीतिक यात्रा
‘म त ३/४ वर्षको उमेरबाटै गाउने मान्छे हुँ,’ आफ्नो बालापन सम्झन्छन् उनी, ‘३ वर्षको उमेरमा अरुणाञ्चलबाट नेपाल आएका हौं, उतिबेला तोते बोलीमा पनि म गीत गाउँथें रे। म आफैंलाई पनि याद छ, ‘बिगुबिगु लागिछे, हमारा भुन्टी भागिछे...’ यिनै थिए त्यो बेला मैले गाउने गीतका शब्द।’
विद्यालय उमेरबाट नै पढ्नभन्दा टेबल ठटाएर गाउन रूचाउने बाबुल विद्यालयका शिक्षक योगबहादुर थापाबाट अझ प्रभावित थिए।
‘कक्षा ५ बाट नै सङ्गीतप्रति झुकाव थियो। अझ योगबहादुर थापा सरले लय हालेर कविता वाचन गर्दा साँच्चै आनन्द आउँथ्यो। सँगै उहाँले मलाई गायन क्षेत्रमा लाग्न प्रेरणा दिनुहुन्थ्यो। विद्यालयमा वाद्यवादन त थिएन, तर पनि गाउन, लेख्न स्टेज प्रस्तुतिका लागि उहाँले नै मलाई हौसला र प्रेरणा दिनुहुन्थ्यो,’ आफ्ना शिक्षकप्रति ऋणी छन् बाबुल।
विद्यालय र घरको दूरी ४५ मिनेट बढी लाग्ने। त्यही बाटो बाबुलका लागि सङ्गीत सिक्ने समय थियो। सङ्गीत विद्यालयमा बसेर सिक्ने रहर हुँदा-हुँदै पनि घरको आर्थिक अवस्थाले रहरमै सीमित थियो।
‘प्लस टू सकेर सङ्गीत सिक्न काठमाडौं आएको डेढ महिना बसेपछि पैसाको अभावले गाउँ फर्किएँ। त्यसपछि गाउँमै स्नातक पढ्न थालेँ,’ आर्थिक अभावको कारूणिक भाव पोख्छन् उनी, ‘स्नातक पढ्दै फर्निचरको काम सिकेँ। गाउने रहर त थियो, तर पैसा थिएन। यता पढ्नु थियो, त्यसैले फर्निचरमा काम गर्दै पढ्न थालेँ।’
सङ्गीत सिकेर किबोर्ड, हार्मोनियम, तबला, गीतार... समाउनुपर्ने बाबुलका हात हम्मर, राँबो, बसिला र आरी समात्न बाध्य थिए। त्यो बाबुलको रहर थिएन बाध्यता थियो।
‘रहर न हो, पहिलो वर्षको परीक्षा दिएर काठमाडौं आएँ। कोठाभाडा, खाना कपडाका लागि कमाउनु थियो। फर्निचरमै काम गर्न थालेँ। सँगै बचेको पैसाले ६ वटा गीत समावेश गरी एल्बम निकालेको थिएँ, पूरापुर असफल भयो। करिब ४ लाख बढी डुब्यो।’ साङ्गीतिक करिअरको पहिलो पाइलामै ठेस लाग्यो उनलाई।
कर्म फर्निचरमा थियो, मन सङ्गीतमा। अर्कोतिर रहरमा निकालेको एल्बमको ऋणले पिरोल्न थालेको थियो। पुनः साङ्गीतिक करिअरलाई अघि बढाउने चाहना पनि व्यग्र थियो।
उनले पुनः नयाँ गीत निकाल्ने साहस गरे। ‘दिन-दिनै आउँछु, लड्डु चढाउँछु...’ बोेलको गीत बजारमा आयो। सोचेका थिएनन् गीत चल्छ भनेर, तर गीतको चर्चा बढ्यो। बाबुलको नयाँ गीत आएको छ भन्ने हल्ला काठमाडौं हुँदै सिन्धुपाल्चोकस्थित उनको गाउँसम्म पुग्यो।
‘मलाई त थाहै थिएन गाउँमा मेरो गीतको चर्चा छ भनेर। गाउँमा गायकको हल्ला चलेछ, यता आफू फर्निचरवाला। तर, मलाई आफ्नो कामप्रति कुनै सङ्कोच थिएन।’ फर्निचरमा काम गर्दै सङ्गीत करिअर अघि बढाउने सोचमा रहेका बाबुलका लागि माहोल सोचेजस्तो बनेन।
एक दिन गाउँकै बहिनीले बाबुल फर्निचरमा काम गर्दै गरेको देखिछन्। हतार-हतार गाउँको खबर सुनाउन भ्याइन्, ‘गाउँमा भने गायक भनेर हल्ला छ, यता काम चाहिँ यस्तो, बरु घरमा गएर जोत्न सघाउनु नि!’ बहिनीको कुराले बाबुलको मन दुख्यो।
बुबासँग सल्लाह गरेर फर्निचर कर्म छोडेर सङ्गीतमै पूर्णजीवन खर्चने निर्णयमा पुगे। त्यो बेलासम्ममा बाबुलले फर्निचरमा पनि आफ्नो लगानी हाल्न भ्याइसकेका थिए। त्यही फर्निचरको सेयर लगानी ६०/७० हजार बोकेर उनले बागबजारमा आफ्नै अफिस खोलेका रहेछन्।
पंक्तिकारसँग उनी भन्दै थिए, ‘यो स्टुडियो डेक्सलगायत फर्निचरका सामग्री सबै म आफैंले बनाएको हुँ।’ उनले यसो भनिरहँदा मिहेनतको फल भनौं या कर्मप्रतिको इमान्दारिता, हिजो फर्निचर सामग्री खेलाएका औँलाहरू आज किबोर्डमा सलबलाइरहेका थिए। उनका हात म्युजिकल इन्स्ट्रमेन्टमा पोख्त छन्।
चल्तीका सङ्गीतकारहरूसँग त्यति धेरै सङ्गत गरेका छैनन् बाबुलले, तर धेरै गायक गायिकासँग हिमचिम छ उनको।

रामकृष्णले स्टेजबाट गलहत्याएकोे त्यो क्षण
एउटा एल्बम र गीत बजारमा सार्वजनिक गरिसकेका थिए बाबुलले। ‘दिन-दिनै आउँछु, लड्डु चढाउँछु...’ बोेलको गीत त राम्रै चलेको थियो।
बाबुलको जीवन सङ्गीतमय बन्दै थियो। फर्निचरमा काम गरिरहँदा उनले थाहा पाए, गायन रियालिटी सो ‘नेपाली तारा सिजन-३’को अडिसन चलिरहेको छ।
रहर न हो, उनी अडिसनका लागि निस्किए। काठमाडौं अडिसनको अन्तिम दिन। उनीभन्दा पछि १५/२० जनामात्र थिए।
रहर न हो, उनी अडिसनका लागि निस्किए। काठमाडौं अडिसनको अन्तिम दिन। उनीभन्दा पछि १५/२० जनामात्र थिए।
स्टेजमा निर्णायकका रूपमा थिए गायक रामकृष्ण ढकालसँगै सङ्गीतकारद्वय सुरेश अधिकारी र प्रकाश गुरुङ।
बाबुल आत्मविश्वासका साथ स्टेज उक्लिए। पहिलो प्रस्तुतिमा चित्त बुझाएका निर्णायकहरूले दोस्रो गीत पनि गाउन लगाए। तर, उनको प्रस्तुतिले निर्णायकको चित्त बुझेन। आत्मविश्वास बोकेर स्टेज उक्लिएका बाबुल प्रतियोगिताका लागि छनोट नहुँदा स्टेजमै केही ढिट गर्न थाले।
अपसोच, बाबुल निर्णायक ढकालबाट गलहत्याइए।
‘त्यो बेला गल्ती मेरो पनि थियो होला, तर निर्णायकले त्यसरी ठेलमठेल गरेर अपमान गरेको सायद रियालिटी शोमा पहिलोपटक होला,’ त्यो दिन सम्झिएर बाबुल भावुक बने, ‘त्यो दिन त सकियो, तर मलाई स्टेजमा गरिएको हर्कत टेलिभिजनमा हाइलाइट्स बनाएर राखियो। रियालिटी सोमा मेरो अपमान यत्रतत्र छरियो। म नभएर अरू कोहीले त्यो बेइज्जत खेप्नुपरेको भए सायद आत्महत्या गर्न सक्थ्यो।’
‘आजको जस्तो युट्युबको समय भएको भए म त भाइरल नै हुन्थेँ हेला!,’ विगत र अहिलेको प्रविधिलाई तुलना गर्दै चित्त बुझाउँछन् बाबुल।

बाबुलको एरेन्जमा रामकृष्णले गाउँदा...
‘मनमा इगो कसलाई हुँदैन र? तर, गल्ती मेरो पनि थियो। यति हुँदा-हुँदै सोचेको थिएँ जीवनमा यिनै रामकृष्णलाई आफ्नै एरेन्जमा काम गर्न लगाउँछु।’
संयोग पनि त्यस्तै जुर्यो, रचनाकार लोक राईले एउटा गीतमा सङ्गीत भर्न बाबुललाई जिम्मा लगाए। गीतका शब्द सङ्गीतबद्ध गरिएपछि रामकृष्णको स्वरमा सुहाउँदो भयो। रचनाकारले पनि रामकृष्णलाई नै गाउन दिने निर्णय गरे।
यही मौकालाई बाबुलले सदुपयोग गरे। स्टुडियोमा अन्य गायकलाई जस्तै बाबुलले रामकृष्णलाई पनि उसैगरी निर्देशन गरे। आफ्नो सङ्गीतमा तयार गीतलाई रामकृष्णको आवाजमा तयार गरेरै छोडे। गीतको बोल थियो ‘मायालुको साथ...’।
यही मौकालाई बाबुलले सदुपयोग गरे। स्टुडियोमा अन्य गायकलाई जस्तै बाबुलले रामकृष्णलाई पनि उसैगरी निर्देशन गरे। आफ्नो सङ्गीतमा तयार गीतलाई रामकृष्णको आवाजमा तयार गरेरै छोडे। गीतको बोल थियो ‘मायालुको साथ...’।
स्टेजमा रामकृष्णको मन जित्न नसकेका बाबुलले स्टुडियोमा रामकृष्णबाट चित्त बुझाउनुपर्ने थियो। यसबाट थाहा हुन्छ कि सधैँ एउटै मान्छे गुरूकै रूपमा रहिरहँदैनन्। त्यो दिन बाबुल रामकृष्णका गुरू बने।
‘जे भए पनि रामकृष्ण ढकाल मेरो गुरू हुनुहुन्छ। उहाँलाई गाउन दिन पाउनु मेरो सौभाग्य थियो। त्यो भन्दा धेरै नेपाली ताराको अडिसन स्टेजमा रामकृष्णसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने मौका मिल्यो,’ बाबुल आफ्नो सालीन व्यवहार अनि जिम्मेवार सङ्गीतकर्मीका रूपमा आफूलाई उभ्याउन चाहन्छन्।
यद्यपि, बाबुलले रामकृष्णसँग स्टेजमा भोग्नुपरेको त्यो अपमानका विषयमा कहिल्यै गुनासो गरेनन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment