- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने चैत २१, २०७६ | शुक्रबार | झापा

डा.कृष्णहरि बराल जति बेला अमेरिका घुम्न निस्किएका थिए उतै कार दुर्घटनामा परे। करिब ४५ दिन लामो हस्पिटल बसाइपछि उनी नेपाल फर्किए।
उनी एक्लै नेपाल फर्किएनन्, दुर्घटनाले दिलाएको एउटा तीतो स्मृति पनि साथमै बोकेर आए। उनी मृत्युको मुखबाट बाँचेर नेपाल आए। त्यही पल आफ्नी कान्छी छोरीले उनलाई सुझाइन्-बुबा कहिलेकाहीँ त मृत्युका बारेमा पनि कलम चलाउनु न।’
अनि जन्मिएको थियो-
मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।
भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन।
‘साँच्चै मान्छे चाहेर मर्दैन, अनि नमरेको सहर पनि हुँदैन, यही कुरालाई केन्द्रमा राखेर गीत लेखेको थिएँ, तर थाहा थिएन यसरी गीत हरेक व्यक्तिका लागि पलपल जीवन्त र अर्थपूर्ण हुन्छ भनेर।
विगत र वर्तमानलाई एकसाथ तुलना गर्छन्, गीतकार कृष्णहरि बराल- प्रत्येकको जीवनसँग मेल खाने गीत बनेछ, त्यसैले होला समाजमा यही गीतका पंक्तिहरू प्रयोग गरिन्छन्, सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू तयार गरिन्छ।
‘हिजो भूकम्पको दुर्र्दशामा होस् वा अन्य प्राकृतिक विपत्ति र आजको महामारीको रूपमा फैलिएको कोरोना कहरमा गीतको भावमिल्दो छ। यसले नेपाली स्रोतालाई मात्र सम्बोधन नगरी विश्वले भोगिरहेको/सोचिरहेको भावलाई सम्बोधन गरेझैं लागेको छ,’ बराल केही भावुक बन्छन्।
विगत र वर्तमानलाई एकसाथ तुलना गर्छन्, गीतकार कृष्णहरि बराल- प्रत्येकको जीवनसँग मेल खाने गीत बनेछ, त्यसैले होला समाजमा यही गीतका पंक्तिहरू प्रयोग गरिन्छन्, सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू तयार गरिन्छ।
सुरुमा गाउँबाट मान्छे सहर आउँछ, तर, त्यहाँ पनि मृत्युले उसलाई पछ्याइ रहन्छ भन्ने भावमा गीत तयार गरेका थिए, तर आज गीतको प्रभाव त्यतिमा मात्र सीमित रहेन। यो प्रकृति यो दैव निर्दयी बनेपछि प्राणी जगतका कोही कसैको सीप नचल्ने रहेछ।
त्यसैले गीतकार बरालले गीतको पहिलो अन्तरा तयार गरे-
हुँदैन मान्छे मात्रै नजाती, दैव पनि त रहेछ पक्षपाती
कोपिला नै पनि त झर्छ कहिले, सधैं सजिलो सफर हुँदैन।
गीतको यो पहिलो अन्तरा आजको विश्व परिवेश सुहाँउदो लाग्छ। 'केही कुरा पनि त हाम्रो बसमा रहेनछ। आज धेरै देश महामारीको रूपमा रहेको कोरोना भाइरस प्रभावित छन्। ५० हजार हाराहारीले ज्यान गुमाइसकेका छन्। अनि अधिकांश देश लकडाउनको अवस्थामा त्रासपूर्ण जीवन बिताइ रहेका छन्,’ उनी थप्छन्, ‘गीतमा राखिएको कोपिला नै त झर्छ... भन्ने लाइन फिल्म नाई नभन्नु ल-२ को कथा सुहाउँदा शब्द हुन्, तथापि यसले वृद्धदेखि बालकसम्मको प्रतिनिधित्व गरेझैं लाग्छ।’
गीतको दोस्रो अन्तराचाहिँ उनले तिहारमा बल्ने दियोहरूसँग जीवन तुलना गर्ने प्रयास गरे। कुनै दियोमा तेल सकिएर पनि बत्ती बलिरहेकै हुन्छ त, कुनै दियोमा तेल भरिएर पनि बत्ती निभ्छ।
जीवन किन यहाँ चल्दैन उस्तै, बत्ती दियोमा बल्दैन उस्तै
कस्तो खटन हो यो नियतिको, को निभ्छ कहिले ठहर हुँदैन।
‘जीवन पनि यस्तै रहेछ, कतै रित्तिएर पनि चलिरहने अनि कतै भरिएर पनि खालि-खाली,’ गीतकार बराल भन्छन्।
गीतको दोस्रो अन्तराले पनि विश्वको विषम परिस्थितिलाई न्याय गरेझैं आभास हुन्छ। इटाली, अमेरिका, स्पेनलगायत देश आफैँमा भरिएर पनि कोरोना कहरमा रित्तिएझै लाग्छन्। प्राकृतिक विपत्तिले को कहिले निभ्ने हो ठेगान छैन। जीवन साँच्चै खटनविहीन छ, ठेगानाविहीन छ।
०००
आफ्नो गीत हरेक दुःखको वाणी बने पनि गीतकार बराल स्वयं भने आज खुसी छैनन्। यो विपत्ति दुःखको क्षण रहेकाले सबै मिलेर यसको सामना गर्नुपर्ने बताउँछन्।
‘आज विश्व मिलेर यसको विरुद्धमा लड्नुको विकल्प छैन। तर, हाम्रो देशमा भने समय हुँदाहुँदै सावधानी नअपनाउँदाको परिणामले हामीले दुःख पाएझै लाग्छ,’ उनी सरकारी निकायको गैरजिम्मेवारीपनले आजित शैलीमा थप्छन्,‘हाम्रो देश ठूलो पनि होइन। संक्रमणको प्रभाव सुरु हुँदै अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका र भारतबाट नेपाल भित्रिएका जनतालाई १४ दिने क्वारेन्टाइनमा राखिदिएको भए आज यो अवस्था आउने थिएन।’
‘देश लकडाउनमा जाँदा मसहित सम्पूर्ण जनतामा न बाहिर निस्कने न भित्रै बस्ने संकट उत्पन्न भएको छ। तथापि, आफ्नो स्वास्थ्यका खातिर घरमै बस्ने, केही रचनात्मक कलम चलाउने, घरायसी काम गर्ने यस्तैमा दैनिकी गुज्रिरहेको छ,’ उनी सम्पूर्ण नेपालीमा सन्देश प्रवाह गर्दै थप्छन्, ‘अब, धेरैजना देश नेपाल फर्किएर गाउँगाउँ पुग्नुभएको छ, सरकार/प्रहरी प्रशासनले उनीहरूलाई खोजेर क्वारेन्टाइनमा राख्ने चेकजाँच गर्ने अवस्था पनि उति सहज छैन। त्यसैले घरमा बसौं संक्रमणबाट जोगियौं अरूलाई पनि जोगिन सहयोग गरौं।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment