अन्तर्वार्ता- सधैं हिरोइन नै हुनुपर्छ भन्‍ने छ र?

एउटा फरक कथा र फरक शैलीमा दर्शकमाझ आउने तयारीमा छ, फिल्म ‘सरौतो।’
निर्माण युनिटले दिएको जानकारी र सार्वजनिक गीत/ट्रेलरका आधारमा महिला पात्रकेन्द्रित तथा फरक क्षमता (बहिरा) महिलाको कथामा रहेर फिल्म निर्माण गरिएको छ। फिल्ममा फरक क्षमता भएकी महिला पात्रमा देखिएकी छन् नवनायिका सुमी मोक्तान।
प्लस–टुसम्म दिल्लीमा अध्ययन गरेर नेपाल फर्किएकी सुमी त्यो बेलाबाटै ब्युटी पेजेन्टमा सहभागी थिइन्। सन् २००८मा मिस दिल्ली एलपिएसकी विजेता सुमी ‘मिस तामाङ २०१२’ पनि हुन्। अमेरिकामा रहेर मनोविज्ञान पढेर नेपाल फर्किएकी सुमी मिस नेपाल २०१३ को उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन्।
फिल्म ‘झ्यानाकुटी’, ‘दुई रुपैयाँ’मा केमियो भूमिकामा देखिएकी सुमीले हालसम्ममा तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। अब भने ‘सरौतो’ मार्फत् मुख्य पात्रका रुपमा दर्शकमाझ आउँदै छिन्। उनै सुमीले फिल्म सरौतो र आफ्नै करिअर ग्राफसँग रहेर नेपालन्युजसँग गरेको कुराकानीः
मनोविज्ञानको विद्यार्थी भएर पनि सुमी मोक्तानलाई ब्युटी पेजेन्टप्रति आकर्षण किन?
म स्नातक तहमा मात्र ‘साईकोलोजी’को विद्यार्थी हो। प्लस–टु मा ‘साइन्स’की विद्यार्थी हुँ।
ब्युटी पेजेन्टमा सहभागी हुने मेरो आफ्नो सपना होइन। दिल्लीमा कक्षा दशमा पढ्दै गर्दा साथीहरूको लहडमा प्रतिस्पर्धी भएकी थिएँ। अलि अग्ली कदकी केटी अन्तिममा त मैले नै क्राउन जितें।
मिस तामाङमा सहभागिता जनाउँदाको कथा पनि त्यस्तै छ। अमेरिकाबाट कलेज बिदामा घर आएका बेला काम गर्ने दिदीले जानकारी गराएपछि मात्र सहभागी बनेकी थिएँ। तर, त्यो प्रतियोगिताको पनि विजेता बनेपछि मिस नेपालमा सहभागिता जनाउने रहर जागेको थियो। त्यत्तिकै उत्कृष्ट पाँचौं बनेकी थिएँ।
sumi moktan inside photo 2
अनि, कलाकार पनि लहडमै बन्नु भएको हो कि?
भविष्यमा यस्तै बन्छु भन्ने सपना त देखेकी थिइनँ। तर, परिवारले भने डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो। व्यवहारले निकै चकचके भए पनि पढाइमा म तिख्खर। यसले गर्दा पनि बुबाले डाक्टर बन्नुपर्छ भनेर सुझाइरहनुहुन्थ्यो। मलाई भने डाक्टर बन्ने रहर नै थिएन।
प्लस–टु पछि के पढ्ने, के गर्ने, गन्तव्यविहीन थिएँ। त्यहीबेला ‘ह्युमन साइकोलोजी’ अध्ययन गर्ने हुटहुटी जाग्यो। उतैतिर व्यस्त भइयो। पछि नेपाल फर्किएपछि केही म्युजिक भिडियोबाट अफर आयो।
धेरै अफर आएपछि हेरौं न त कस्तो हुनेरहेछ भनेर विना योजना नै आएकी हुँ। जब, फिल्म ‘झ्यानाकुटी’मा केमियो गरेर थिएटर स्कुल ‘ज्ञ’सँग जोडिएँ अनिमात्र अभिनयप्रति रुची जाग्न थाल्यो। नत्र त लहडमै चलेकी थिएँ।
कला र कलाकारिताप्रतिको बुझाईचाहीं के हो त?
मेरो स्वभाव नै जिज्ञासु। कला, कलाकारितामात्र नभएर समाजका हरेक पक्षसँग म निकट रहन चाहन्छु। हरेक विषय बुझ्न र त्यहीँ रमाउन चाहन्छु।
ग्ल्यामरलाई एकातर्फ राखेर कला क्षेत्रलाई हेर्ने हो भने, आफू चेतनशील भएरमात्र अघि बढ्नु पर्ने ठाउँ हो यो। आफूले आफैलाई निखारेर मात्र पर्दामा देखिनु पर्ने क्षेत्र। यिनै सकारात्मक पक्षले नै म कलाकारिता र अभिनयसँग निकट बन्न पुगेकी हुँ।
‘आर्ट इज अ इन्डिभिजुअल रिफ्लेक्सन अन इट सेल्फ’ अर्थात्, कला आफैंमा व्यक्तिगत प्रतिविम्ब हो। अनि, कलाकारिता तिनै प्रतिविम्बको सामुच्यता।
अध्ययन एकातिर कर्म अर्कातिर, अलि चुनौतिपूर्ण भएन र?
जब तपाईं आफूले आफैंलाई बुझ्नुहुन्न भने त्यो जीवन होइन। तर, जब आफूले आफैंलाई बुझिन्छ, जीवन यथार्थ र अर्थपरक हुन्छ। जीवन रंगीन हुन्छ। त्यसैले पनि आफूसँगै हरेक मानवको व्यवहारलाई नजिकबाट नियाल्न पनि मानवविज्ञान पढें।
पेशागत हिसाबमा हेर्ने हो भने, यसलाई म चुनौति नै मान्छु। तर चुनौती विनाको जीवन जिउनुको मज्जा पनि त छैन। मैले छनोट गरेको क्षेत्रमात्र होइन हरेक क्षेत्रमा चुनौती त पक्कै छन्।
करिअरमा विकल्प नभएरै अभिनय क्षेत्र छनोट गर्नु भएको हो र?
म अध्ययनले साइकोलोजीको विद्यार्थी, अर्कातर्फ व्यापारिक पारिवारिक पृष्ठभूमि। अनि, पेशा अभिनय देख्दा उवडखावड नै लाग्छ। काठमाडौंमा कफी व्यापार, पोखरामा रेष्टुरेन्ट लगायतका विभिन्न व्यापारसँग पनि मेरो आबद्धता छ। यति हुँदाहुँदै पनि अभिनयमा आउनु एक प्रकारले रहर हो। तर, हिरोइनहरूको करिअर अवधि त छोटो हुन्छ, जसले पाएको अवसर किन गुमाउने?
sumi moktan inside photo
अबको १० वर्ष पछि त सुमी मोक्तानका लागि हिरोइनको अफर नआउन सक्छ। त्यसैले पनि प्राप्त अवसरलाई सदुपयोग गरेकी हुँ। अनेकौं विकल्प हुँदाहुँदै पनि अभिनय करिअरको आधारलाईन बनिरहेको छ।
तपाईंकै शब्द सापटी लिने हो भने हिरोइनहरूको करिअर त लामो हुँदैन, अनि सुमी मोक्तानको चाहीँ?
म सधैं हिरोइन नै भएर बस्ने त होइन। सधैंभरि कलाकारमात्र भएर रहने मेरो सपना पनि होइन र इच्छा पनि छैन। मलाई अभिनयसँगै निर्देशनमा पनि गहिरो झुकाव छ। निर्माता बनेर पनि यस क्षेत्रमा उदाउने सपना देख्न थालेकी छु।
यसको अर्थ जे गरेपनि सृजनशील बनेर यस क्षेत्रमा रहिरहने योजना छ। त्यसैले करिअर र फिल्म क्षेत्रप्रति कुनै संकै छैन।
डेब्युपश्चात् कतिपय कलाकारलाई अफर नै नआएर मानसिक तनावमा पुगेका उदाहरण छन्, यस विषयमा कति सजक हुनुहुन्छ?
कर्मप्रति विश्वास राख्छु, तर भयंकर चन्द्रमा नै छुने महत्वाकांक्षा राखेर जिउने केटी होइन म। सबैको आ–आफ्नो उद्देश्य हुन्छ, चन्द्रमा छुन सके राम्रो, तर छुन्छु नै भन्ने पनि त होइन। महत्वाकांक्षाको स्तरअनुसार मानसिक तनावकै अवस्था आउछ जस्तो लाग्दैन।
भनिन्छ नि, कर्म गर्दै जाउ फलको आशा नगर। मेरो जीवन पनि यस्तै नै हो।
तपाईं आफैं साइकोलोजिको विद्यार्थी। पहिलोपटक मुख्य अभिनेत्रीको भूमिकामा पर्दामा आउँदै हुनुहुन्छ। तपाईंले देख्नु भएको नेपाली फिल्म क्षेत्रको भविष्य कस्तो छ?
मैले मेरो बारेमा आत्ममुल्यांकन गर्ने हो भने भविष्य सुन्दर नै देख्छु। मलाई यो क्षेत्रमा अरु कोही जस्तो हुनु छैन र हुन पनि चाहन्न। यहाँ मेरो छुट्टै पहिचान बनेको छ जस्तो लाग्छ।
पहिलो फिल्ममा नै एक्सन प्रधान अभिनयमा हात हालेकी छु। जुन विषय जो कोही हिरोइनले प्रयास गर्ने आँटसम्म गर्दैनन्। अभिनेत्रीहरूमात्र होइन अभिनेता पनि चलिरहेको ट्रेन्डबाहिर रहेर प्रयास गर्नै डराउँछन्।
‘लभ स्टोरी’ मै रहेर करिअरलाई उठाउने सोचभन्दा माथि रहेर अघि बढ्ने प्रयास गरेकी छु।
मेरो काम र मेहनतले सफलता प्राप्त गर्नेमा ढुक्क छु, बाँकी दर्शकको हातमा रहने हो। दर्शकको रोजाईमा भर पर्ने हो।
नयाँ फिल्म ‘सरौतो’का लागि गरेको संघर्ष र प्रयास अनुभव कस्तो रह्यो?
करिब साढे दुई वर्ष त फिल्म ‘सरौतो’कै लागि खर्चिएकी छु। एक्सन जनराका लागि तयार हुन त्यति सहज थिएन। त्यसैले पनि डेढ वर्ष मार्सल आर्ट सिक्नकै लागि कडा मेहनत गर्नु पर्‍यो। सँगै सांकेतिक भाषा पढ्न सात महिना खर्चिएकी छु। काठमाडौं बहिरा संघमै गएर सांकेतिक भाषा पढ्नु पर्‍यो।
त्यो सिकाइ जसले म आफैंलाई कृतज्ञ बनायो। उहाँहरूसँगको सामिप्यता र सिकाइले मलाई अर्को नयाँ पात्रमा परिवर्तन गराई दियो। संघर्षसँगै नयाँ अनुभव लिने अवसर मिल्यो।
एउटा प्रोजेक्टकै लागि यो धैयर्ता सहज त पक्कै थिएन?
गाह्रो नै भयो। यस अर्थमा गाह्रो कि, एउटा कलाकारका लागि समय नै धन हो। २/३ वर्षको अन्तरालमा धेरै फिल्मका लागि अफर नआएका होइनन्। मैले पनि सबैतिर हात हाल्न सक्ने थिएँ। जीवनमा थोरै काम गर्छु तर उद्योगमा एक प्रकारको छाप छोड्न चाहन्छु भन्ने दृढता डगमगाएन।
Sumi moktan inside photo 1
कुनै पनि काम गर्न मुखले भनेझै सहज छैन। झनै फिल्मको कथाले मागेको क्यारेक्टरका लागि शारीरिक र मानसिक रुपमा तयार हुन सहज थिएन। यद्यपि अभिनयप्रति जुन अभिलाषा बोकेर आएकी छु त्यो त पूरा गर्नै पर्‍यो।
केही महिना अघिमात्र फिल्म महिलाकेन्द्रित फिल्म ‘जाईरा’ प्रदर्शनमा आएको थियो, बक्सअफिसमा असफल भयो। तपाईंको डेब्यु फिल्मको सार पनि त्यस्तै नै छ। यस अर्थमा फिल्मको सफलताप्रतिको भरोसा कतिको छ?
मलाई लाग्दैन कि ‘सरौतो’लाई ‘जाईरा’सँग तुलना गर्नुपर्छ। उक्त फिल्ममा नम्रता श्रेष्ठले गर्नुभएको मिहिनेत र काम प्रशंसायोग्य छ। तर, यी दुई फिल्मबीचको तारतम्य त मिल्दैन। फिल्मको विषयवस्तुदेखि एक्सन, संगीत, सिनेमाटोेग्राफी सबै कुरामा ‘सरौतो’ अब्बल छ।
हरेक नेपाली फिल्ममा समाजको ५ प्रतिशत हिस्सालाई पनि मात्र समेट्न नसकिरहेका बेला, सरौतोमा हामीले बाँकी ९५ प्रतिशतको पनि प्रतिनिधित्व गराउने प्रयास गरेका छौं। सम्पूर्ण युनिटले मिहिनेतका साथ दर्शक क्रेज बुझेर, अनुसन्धान गरेर नै फिल्म निर्माण गरिएको छ। अपांगताभित्र रहेर त्यसभित्रको पनि सशक्त आवाजलाई पर्दामा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छौं।
समाजका ‘अन्डररेटेड ग्रुप’ (कम आँकिएको समूह) को प्रतिनिधित्व गर्दै तयार गरिएको प्रोजेक्ट पनि हो सरौतो। यसकारण ‘जाईरा’ वा अन्य कुनै फिल्म किन सफल भएन त्यो आफ्नै ठाउँमा होला, तर सरौतो अरु कुनै फिल्मसँग तुलना गर्नु आवश्यक मान्दिन।

Comments