अन्तर्वार्ता नसोचेको विवाद झेल्नुपर्दा फिल्मी दृश्यझैं लागिरहेछ : विराज भट्ट

  • मनोज न्यौपाने माघ २१, २०७६ | मंगलबार | काठमाडौं


तस्बिरः आर्यन विमली
फिल्म ‘साङ्लो’ प्रदर्शनका लागि अब २ दिन बाँकी छ। तर, फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतलाई यतिबेला चोरीको आरोप लागेको छ।
सुरेश अधिकारीको शब्द/सङ्‌गीत भनेर अभिनेता विराजले फिल्मका लागि नयाँ गीत किने।
उनले छायाङ्‌कन गरेर बजारमा गीत सार्वजनिक गरे। तर, सार्वजनिक भएको केही दिनमा ‘आफूले रचना गरेको गीत चोरी भयो’ भन्दै वास्तविक रचनाकार सुदीपभूपाल सिंह उजुरी बोकेर प्रहरीसमक्ष पुगे।
रचनाकार सुरेश अधिकारी र सुदीप भूपालबीचको मुद्दाले सिङ्‌गो फिल्मलाई पनि विवादमा तान्यो। यसले फिल्मका निर्माता, निर्देशक तथा कलाकार विराज स्वयं पनि तनावमा परेका छन्। फिल्ममा विराज कलाकारमात्र नभएर निर्माता तथा निर्देशकका रूपमा छन्। त्यसैले पछिल्लो विवादले उनी तनावमा देखिनु स्वाभाविक छ।
यसै विषयलाई लिएर उनले बुधबार पत्रकार सम्मेलनको पनि आयोजना गरे। उक्त पत्रकार सम्मेलनपश्चात विवादको विषयमा रहेर अभिनेता विराज भट्टसँग नेपालन्युजका मनोज न्यौपानेले गरेको कुराकानीः
फिल्मको सम्पूर्ण जिम्मेवारी बेहोरिरहँदा गीतको विवादका कारण कतिको मानसिक दबाब सहनुपरेको छ?
नेपाली फिल्म बजारमा एउटा निर्माता यसै पनि मारमा छ। हामी आपसमै भिडिरहेका छौं। अरूले लडाइँ रहेका छन्। विदेशी फिल्मले पेलिरहेको अवस्था छ।
यस्तो अवस्थामा एउटा निर्माता सोझो हिसाबमा आफ्नो काम गरिरहेको बेला उसैलाई कुनै पनि सहमतिको आधार नखोजी, कुरै नगरी प्रहरीमा उजुरी दिएर पूरै ट्र्यापमा पार्दा कस्तो हुन्छ? तपाईं आफैं पनि महसुस गर्न सक्नुहुन्छ। यो साह्रै तनावको विषय हो।
यो एक हिसाबले डुबाउन खोजिएको जस्तो लागेको छ। एकदमै मर्कामा पार्न खोजिएको हो।
गीत विवादमा आएको कसरी थाहा पाउनुभयो?
सुरुमा सञ्चारकर्मीहरूबाटै थाहा पाएको हुँ। फिल्मको प्रमोसनमा व्यस्त भइरहँदा सञ्चारकर्मीहरूले यस्तो कुरा आइरहेको छ भनेर प्रश्न पनि गरे। त्यसबेला मैले सहजै भनिदिएँ कि, त्यो विषय सुरेश अधिकारी र उजुरी गर्नेबीचको कुरा हो।
किनकि, सुरेश अधिकारीसँग गीत किनेको बेला नै सम्झौता भइसकेको हो, भनिदिएँ। तर, विषय त्यतिमा मात्र सीमित रहेन। हामी सबैले समय निकालेर छलफल गर्नुपर्ने अवस्था आयो। अझ म मात्र होइन फिल्म बनाउने सबै निर्माता निर्देशकहरूले यस्तो मुद्दा/मामिला बेहोर्नुपर्ने रहेछ है भन्ने जानकारी गराउन र आफ्नो पीर-मार्का अरूमाझ पुर्‌याउन पत्रकार सम्मेलन नै आयोजना गर्नुपर्ने अवस्थामा पुगियो।
गीत चोरी विवादको वास्तविकताचाहिँ के हो?
गीतका सर्जक तथा सङ्‌गीतकार सुरेश अधिकारीले ‘हाम्रो गीतमा अरूको पनि सिर्जना मिसिएको छ भनेर जानकारी दिनुपर्ने थियो, त्यो भएन। मैले दिनुपर्ने पूरै पारिश्रमिक दिएपछि उहाँले मलाई गीत दिनुभयो, मैले गीत बजारमा ल्याएँ। कुरा त्यति हो।
रेकर्डिङ कहिले भयो, सुटिङ, एडिटिङ र गीत सार्वजनिक पहिले नै भइसक्यो त्यो बेलासम्म केही भएन। पछि फिल्म प्रदर्शनको सङ्‌घारमा आइपुग्दा गीत हटाउनुपर्छ भनेर उजुरी पर्‌यो।
द्विपक्षीय-त्रिपक्षीय छलफल गर्दा यति चाहिन्छ, उति चाहिन्छ भनेर डिमान्ड गर्ने काम भइरहेको छ। १०/२० लाखको माग राख्नु, मिलौं भन्दा ‘अरूसँग सल्लाह लिन्छु’ भन्ने जवाफ दिनुलगायत विषय भइरहेका छन्।
यो त एक प्रकारले ‘ब्ल्याकमेलिङ’ भयो। यो उद्योगमा भाइचाराको कुनै अर्थ नै रहेन। एउटा निर्मातालाई फिल्म चल्छ चल्दैन! हल/शो कति पाइन्छ? भन्ने कै चिन्ता छ। जताततै व्यवस्थापनको जिम्मेवारी एक्लैमा छ।
नेपाली फिल्म बजार आफैंमा सानो छ। त्यसमा करोडौंको लगानी, सिङ्‌गो करिअरको पाटो अनि नेपाली कला संस्कृति र फिल्म क्षेत्रको विकासमा केही गरौं भनेर लागिएको छ।
यति हुँदा-हुँदै हाम्रै क्षेत्रका मान्छेले खुट्टा तान्ने, ट्र्यापमा पार्ने प्रवृत्तिले कहाँ पुर्‌याउछ?
गीतको विवादले सार्वजनिक रूपमा कतिको दबाब झेल्नु परिरहेको छ?
विभिन्न किसिमका आरोप आइरहेका छन्। ‘गीत चोरी गर्‌यो’, ‘विराज भट्ट जेल जानुपर्छ’ भन्ने जस्ता कुरा पनि सुनिरहेको छु।
जबकि, आफूले कुनै गल्ती नै नगरी यस्ता आरोप किन खेप्ने? स्वच्छ रूपमा फिल्म प्रदर्शनको तयारीमा लागेको मान्छेले यस्ता नचाहिँदा आरोप किन व्यहोर्ने भनेर आज यो पत्रकार साथीहरूमाझ प्रस्ट पार्ने काम गरे।
Biraj inside photo
यो विवाद अब कसरी सुल्झन्छ त?
यस विषयलाई सङ्‌गीतकार सुरेश अधिकारीले ‘मिलाउछु’ भन्नुभएको छ। उहाँले, ‘म एउटा स्रष्टा हो, मसँग यस सम्बन्धमा नैतिक अधिकार पनि छ। र, सुदीपभूपाल सिंह जसले गीत चोरीको उजुरी गर्नुभएको छ, उहाँको नाम पनि रचनाकारको रूपमा राख्ने,’ भन्नुभएको छ।
यो विषयलाई पहिले नै सुरेशजीले जानकारी गराउनुभएको भए मलाई यो टाउको दुखाइको विषय नै बन्ने थिएन।
पहिलोपटक निर्माणमा हात हाल्दा झमेला आइपर्‌यो। फिल्म निर्माण, प्रदर्शन भन्ने कुरा कतिको गाह्रो रहेछ?
मलाई फिल्म बनाउन कुनै गाह्रो भएन, र छैन पनि। अभिनय गर्नु मिहेनत गर्न केही डर छैन। सबैको साथ सहयोग छ। दर्शकको, फिल्मकर्मीहरूको, सञ्चारक्षेत्र सबैको साथ छ।
फिल्म ‘साङ्लो’कै कुरा गर्दा फिल्म बजारमा चर्चा छ। सम्भावना बोकेको फिल्म भनेर विश्लेषण गर्ने पनि छन्। यसले फिल्म निर्माण, प्रदर्शनमा कुनै सन्देह छैन। तर, यो अनावश्यक विवाद, आरोप भोग्नुपर्दा चाहिँ अपाच्य लाग्दो रहेछ। यस्ता विषयले बेकारको तनाव दिने रहेछ।
लागि रहेको छ कि, यो कुनै फिल्मको दृष्य हो। विराज भट्टजस्तो मान्छे, जसले कसैको केही बिगारेको छैन, जसले जीवनमा झुटो बोलकै छैन, कसैको दुई रुपैयाँ खाएको छैन। त्यस्तो व्यक्तिलाई फिल्म क्षेत्रकै मान्छेहरूबाट यस्तो विवाद र दबाब आउँछ भने यो फिल्मी दृश्य नभएर अरू के हुन सक्ला?
कुनै आग्रह पूर्वाग्रहबिना, दुश्मनीबिना काम गरिरहेको मान्छेमाथि विभिन्न कुरा जोडिनु त एउटा फिल्मी शैलीको घटना नै त हो।

Comments