- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने फागुन २८, २०७६ | बुधबार | काठमाडौं

फागुन ३० अर्थात् शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ले प्रर्दशन स्थगन गर्यो। यस्तै, चैत ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘नीरफूल’ पनि हलमा नआउने भएको छ।
दुवै फिल्म युनिटले नयाँ प्रदर्शन मिति तय गरिसकेका छैनन्।
चीनको उहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९)को असर यति बेला विश्वका ११९ देशमा परिसकेको छ। उक्त भाइरसको प्रभाव नेपाल र नेपाली फिल्म क्षेत्रमा पनि देखिएको हो।
भलै नेपालमा भाइरसको सङ्क्रमण भयावह रूपमा देखिएको छैन, तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च जोखिमको क्षेत्र घोषणा गर्यो। यसपछि नेपाल सरकारले सबैलाई सुरक्षित रहन आह्वान गरेपछि नेपालमा यसको डर देखिएको हो र सबैले सुरक्षाका उपाय अवलम्बन गर्न खोजेका छन्।
चीनमा मात्र होइन, विश्वका विभिन्न ठाउँमा यति बेला फिल्म हलहरू बन्द भएका छन्। भाइरसका कारण इटाली, इरान, कुवेतजस्ता देशले सम्पूर्ण फिल्म हल आधिकारिक सरकारी सूचना नआउञ्जेलसम्मका लागि बन्द गरेका छन्।
नेपाल सरकारको यही आह्वानलाई मध्यनजगर गर्दै फिल्म ‘म यस्तो गीत गाँउछु-२’ हल प्रवेश नगर्ने निर्णयमा पुगेको थियो। यसकै निरन्तरता रह्यो, फिल्म ‘नीरफूल’ टिममा पनि।
सरुवा रोगका लागि फिल्म हल आफैमा जोखिमयुक्त क्षेत्र मानिन्छ। त्यसमा पनि कोरोना भाइरसको त्रासबीच फिल्म हल असुरक्षित क्षेत्र हो। यसै सङ्कटका कारण चीनमा करिब ७० हजार फिल्म हल बन्द गरिएको थियो।
चीनमा मात्र होइन, विश्वका विभिन्न ठाउँमा यति बेला फिल्म हलहरू बन्द भएका छन्। भाइरसका कारण इटाली, इरान, कुवेतजस्ता देशले सम्पूर्ण फिल्म हल आधिकारिक सरकारी सूचना नआउञ्जेलसम्मका लागि बन्द गरेका छन्।
त्यसै गरी भारतको केरला राज्यमा पनि फिल्म हल बन्द गरिएका छन्। अमेरिकाका विभिन्न सहरका केही हलहरू बन्द छन्।
अपेक्षित ठूला हलिउड फिल्म ‘नो टाइम टु डाइ’, ‘पिटर र्याबिट-२’लगायत केही फिल्मले पनि आफ्नो प्रदर्शन मिति पछि धकेलेका छन्।
न फिल्म हल बन्द भएका छन्, न छायाङ्कन रोकिएको छ
भाइरसका कारण विश्व आतङ्कित बनिरहँदा नेपालका फिल्म हल भने निस्फिक्री चलिरहेका छन्। तथापि फिल्म हलमा दर्शकको उपस्थिति भने घट्दै गएको बताउँछन् ‘क्युज सिनेमाज्’का व्यवस्थापक राकेश श्रेष्ठ।
‘हामीले दर्शकको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाएका छौं, उनी भन्छन्। यससँगै ‘सेनिटाइजर’को प्रयोग तथा हलका कर्मचारीलाई आवश्यक ध्यान दिन भनिएको उनी बताउँछन्।
यति हुँदा पनि दर्शकको भीड हलमा कम भएको उनको भनाइ छ, ‘हलमा दर्शक तान्ने फिल्म नै छैनन्। त्यसमा पनि कोरोना भाइरको त्रासले दर्शक घट्दै गएको महसुस हुन थालेको छ।’
विश्व फिल्म बजारले काेरोनाको प्रभाव झेलिरहँदा नेपाल पनि अछुतो रहने अवस्थामा छैन। सङ्कट झेल्दै ब्युँतदै गरेको नेपाली फिल्म बजार पुन: एकपटक सङ्कटमा पुग्ने सम्भावना छ।
हुर्कँदो नेपाली फिल्म उद्योगले आधा शताब्दी व्यतीत गरिरहँदा समय-समयमा सङ्कटको अवस्था झेल्नु नयाँ विषय होइन। तथापि १०-वर्षे जनयुद्धपछिको फिल्म उद्योगको अवस्था केही आशालाग्दो र प्रगतिउन्मुख मान्ने गरिन्छ।
तर, विश्व फिल्म बजारले काेरोनाको प्रभाव झेलिरहँदा नेपाल पनि अछुतो रहने अवस्थामा छैन। सङ्कट झेल्दै ब्युँतदै गरेको नेपाली फिल्म बजार पुन: एकपटक सङ्कटमा पुग्ने सम्भावना छ। यस क्षेत्रसँग जोडिएको व्यापार/व्यवसाय तथा रोजगारमा पनि प्रश्न चिन्ह उठेको बताउँछन्, फिल्म निर्देशक दीपेन्द्र लामा।
‘फिल्म उद्योगले कति मान्छेलाई रोजीरोटी उपलब्ध गराएको छ, त्यो नै सङ्कटमा पर्ने देखिन्छ। एक महिना फिल्म क्षेत्रमा काम गरेर एक वर्षको रोजीरोटीको बन्दोवस्त गर्नेहरू आज सङ्कटमा छन्,’ उनी थप्छन्, ‘यस्तो अवस्थामा सरकार पनि केही गम्भीर हुने हो कि!’
प्रदर्शनको तयारीमा रहेका फिल्म हलमा जान नसक्नु, प्रदर्शनरत फिल्महरूले अपेक्षित दर्शक नपाउनुले कोरोना भाइरसको प्रत्यक्ष प्रभाव त देखिन्छ नै, त्यसमा नेपाल चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै सम्भव भएसम्म फिल्मको छायाङ्कन नै नगर्न आग्रह गरेको छ।
यो आग्रह उति तर्कपूर्ण नरहेको बताउँछन्, निर्देशक लामा। ‘यो स्वास्थ्य अवस्थालाई ध्यान दिएर, स्वास्थ्यकर्मीसँग परामर्श नगरी हचुवाको भरमा ल्याइएको हो। किनकि, फिल्म छायाङ्कन भनेको सुरक्षित कार्यअन्तर्गत नै पर्छ, त्यसमा पनि भाइरसको संक्रमण नै नदेखिएको अवस्थामा यस्तो विज्ञप्तिले फिल्म क्षेत्रमा ज्याला-मजदुरी गर्नेको रोजीरोटी नै गुम्ने खतरा बढेको छ।’
भाइरसको त्रास बढे पनि नेपालमा न त फिल्म हल बन्द भएका छन्, न त छायाङ्कन नै रोकिएको छ। यति बेला नेपाली फिल्महरू ‘तीन जन्तु’, ‘ए मेरो हजुर-४’, ‘परदेशी-२’लगायत थुप्रै साना-ठूला फिल्म छायाङ्कनका लागि फ्लोरमा छन्। यसै साता फिल्म ‘दुई नम्बरी’ पनि छायाङ्कनका लागि फ्लोरमा जाँदै छ।
‘फिल्म छायाङ्कनका लागि फ्लोरमा नजाने कारण नै छैन। यहाँ भाइरसको जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउने हो, तर कामै रोक्न त भएन। त्यसैले फिल्म ‘दुई नम्बरी’ लिएर बिहीबारबाट फ्लोरमा जाँदै छौं,’ निर्देशक लामाले बताउँछन्।
चलचित्र निर्माणमा ठूलो प्रभाव परेको छैन
कोरोना भाइरसको प्रभाव सुरु भएको दुई महिनाभन्दा बढी बितिसक्दा नेपाली चलचित्र निर्माणमा ठूलो प्रभाव नदेखिएको बताउँछन्, नेपाल चलचित्र विकास बोर्डका निर्माण तथा चलचित्रकर्मी कल्याणकोष अधिकृत हरि सिंह राइखोला।
‘विगत डेढ महिनाको आँकडा हेर्दा १६ वटा ठूला फिल्म निर्माणका लागि दर्ता गरिएको छ भने १० ठूला फिल्मले सेन्सर अनुमति लिएका छन्। यो आँकडा सरदर वर्षभरि चल्ने आँकडा अनुरूप नै हो,’ अधिकृत राइखोलाले भने, ‘यसरी फिल्म दर्ता र सेन्सरलाई हेर्दा फिल्म निर्माणमा कुनै गिरावट म देख्दिनँ।’
‘विगत डेढ महिनाको आँकडा हेर्दा १६ वटा ठूला फिल्म निर्माणका लागि दर्ता गरिएको छ भने १० ठूला फिल्मले सेन्सर अनुमति लिएका छन्। यो आँकडा सरदर वर्षभरि चल्ने आँकडा अनुरूप नै हो,’ अधिकृत राइखोलाले भने, ‘यसरी फिल्म दर्ता र सेन्सरलाई हेर्दा फिल्म निर्माणमा कुनै गिरावट म देख्दिनँ।’
फिल्म निर्माण रोकिने विषय होइन
यता प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लक्का जवान’का निर्देशक तथा हास्य कलाकार शिवहरि पौडेल भाइरसले आफूलाई पर्ख र हेरको अवस्थामा पुर्याएको बताउँछन्। आउँदो चैत्र २१ बाट प्रदर्शन गर्ने भनिए पनि भाइरसको प्रभावलाई अझै केही दिन पर्खेर निर्णय लिने सोचमा छन्, निर्देशक पौडेल।
‘फिल्म निर्माण रोकिने विषय होइन, किनकि भाइरस जस्तो कुरा लामो समय रहन्छ भन्ने छैन। अवस्था सामान्य भएपछि प्रदर्शन गर्ने हिसाबमा फिल्म निर्माण भइरहन्छन्,’ निर्माण र प्रदर्शनको विषय जोड्दै निर्देशक पौडेल थप्छन्, ‘यहाँ प्रदर्शनको तयारीमा रहेका फिल्ममा मात्र क्षणिक समस्या आएको हो। यो पनि केही समयपछि समाधान हुने विषय हो। फिल्म उद्योग धरापमै छ भन्ने तर्क नेपालको सन्दर्भमा अहिले नै हतारो हुन्छ कि!’
आत्तिहाल्नुपर्ने अवस्था छैन
फिल्म वितरक करण श्रेष्ठ आत्तिहाल्नुपर्ने अवस्था नभएको बताउँछन्। ‘हलमा करिब ७५ प्रतिशत दर्शक छन् र हलहरूले पनि सरसफाइ, सेनिटाइजर तथा हलभित्रको तापक्रमजस्ता विषयमा ध्यान दिएका छन्, यसले आजका दिनसम्म दर्शक आइरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘नेपाली फिल्म बजारमा ठूलो असर आजसम्म छैन। तर, फिल्मको ‘ओभरसिज राइट्स’ बिक्रीका लागि भने समस्या छ।’
‘कोरोना एक प्रकारको भाइरस भएकाले यो लामो समय नटिक्ला कि भन्ने छ। त्यसैले केही समयमै फिल्मको माहोल बन्छ, तर स्वास्थ्यका लागि सावधान भने रहनै पर्छ,’ विश्व बजार भाइरस मुक्त हुने र फिल्म बजारले पनि लय लिनेमा आशावादी छन्, वितरक श्रेष्ठ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment