राष्ट्रिय सम्मान अनि छोरा मिस्कको दागबत्तीसँगै अस्ताए केशव!

  • मनोज न्यौपाने मंसिर ३०, २०७६ | सोमबार |काठमाडौं


चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्मकर्मी केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।
नेपाल सरकार सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अन्तिम श्रद्धान्जलीसहित पशुपति आर्यघाटमा नेपाल प्रहरीको सलामीसँगै भट्टराईको अन्त्येष्टी गरिएको हो।
भट्टराईलाई १४ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ती दिएका थिए।
आइतबार राति हृदयघातका कारण निधन भएका भट्टराईको पार्थिक शरीरमा सूचना सञ्चार तथा प्रविधिमन्त्री बाँस्कोटाले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।
विगत १७ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका भट्टराईको ५६ वर्षको उमेरका निधन भएको हो।
विगत ३० वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई गत चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए।
जीवनकाकालमा अभिनय र चलचित्र क्षेत्रसँगै रहेर काम गरेका भट्टराई मिलनसार, कर्मनिष्ठ भएको भन्दै अधिकांश चलचित्रकर्मीले उनको निधन सिंगो नेपाली कला जगतकै अपुरणीय क्षति भएको बताए।
भट्टराईको अन्तिम बिदाईका लागि आर्यघाट पुगेका कलाकार दीपकराज गिरीले अप्रत्यासित घटनाले निःशब्द बनाएको भन्दै नेपाली निर्माताहरूको हितमा लड्ने निस्वार्थ भावनाको अन्त्य भएकोमा दुःख व्यक्त गरे।
भट्टराईका बारेमा बोल्दै अर्की कलाकार तथा निर्देशक दीपाश्री निरौलाले हरेक पल चलचित्र र चलचित्रकर्मीका लागि सोच्ने व्यक्तिको अन्त्यले निःशब्द बनाएको भन्दै दुःख व्यक्ति गरिन्।
अर्का कलाकार दीपक क्षेत्रीकाे पनि आजै अन्तिम संस्कार
यस्तै, अर्का कलाकार दीपक क्षेत्रीको पनि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। शनिबार निधन भएका दीपक ३४ वर्षयता नेपाली कलाक्षेत्रमा सक्रिय थिए।
केही वर्ष अघि घाँटीमा ट्युमरको समस्या देखिएपछि दीपक करिव ५ वर्ष अभिनयबाट ओझेल परेका थिए। उनी पुनः चलचित्र ‘राज्जा रानी’बाट अभिनयमा फर्किएका थिए।
पछिल्लो समय चलचित्र ‘छ माया छपक्कै’ र ‘बादशाह जुट’मा देखिएका क्षेत्रीको ‘विश्वास’,‘भीष्म प्रतिज्ञा’, ‘सीमाना’, ‘झोला’ लगायत ३ दर्जन बढी फिल्ममा अभिनय रहेको छ।
कलाकार क्षेत्री लामो समयदेखि अस्वस्थ्य रहेपनि नेपाली कलाक्षेत्रमा उनको देन अविस्मरणीय रहने कलाकर्मीको भनाइ छ।
कालाकारद्वय क्षेत्री र भट्टराईको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नु अघि नेपाल चलचित्र विकास बोर्डको प्राङ्गणमा एकसाथ श्रद्धान्जलीसभाको आयोजना गरिएको थियो।
श्रद्धान्जलीसभामा नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सूचना,सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, नेपाल चलचित्र निर्मातासंघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ला, बसुन्धरा भुसाल, हरिहर शर्मा, मोहन निरौला, मदनदास श्रेष्ठ, रेखा थापा, निखिल उप्रेती, रमेश उप्रेतीलगायत नयाँ तथा पुराना पुस्ताका कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

Comments