चलचित्र क्षेत्रको सन्‍नाटाले संकटमा प्राविधिक, के गर्दैछन् सम्बन्धित निकाय?

मनाेज न्याैपाने चैत २०, २०७६ | बिहीबार | काठमाडौं
एउटा चलचित्र सफल हुन सामान्यतः कथा, पटकथा, निर्देशन अनि कलाकारले निर्वाह गरेको भूमिकालाई प्रमुख मान्ने गरिन्छ। तर यसमा अन्य धेरै पक्षहरू हुन्छन्, जसलाई हामी महत्व दिँदैनौं, दिन आवश्यक पनि ठान्दैनौं।
उक्त विषय हो, प्राविधिक। मेकअप, क्यामेरा, लाइट, भेषभुषा, सम्पादनलगायत विषय अपरिहार्य छन्। यी पक्षहरू सफल चलचित्रका गौण तर महत्वपूर्ण पाटाहरू हुन्। यी क्षेत्रमा काम गर्ने प्राविधिकहरूको देन पनि कम आँकलन योग्य हुन्न।
चलचित्र निर्माण प्रचार-प्रसारदेखि प्रदर्शनसम्म आइपुग्दा फिल्मका निर्माता, निर्देशक, कलाकार सबै दर्शकमाझ परिचित भइसक्छन्, तर प्राविधिक गुमनाम प्रायः हुन्छन्। आक्कल झुक्कलबाहेक उनीहरूको नाम सुन्न पाइँदैन, पर्दापछाडिका हिरोहरू पर्दा पछाडि नै गुमनाम रहन्छन्।
यतिमात्रै होइन, चलचित्र निर्माणका क्रममा रातदिन खटिएर काम गर्ने कतिपय प्राविधिकहरूले पूरा पारिश्रमिकसमेत नपाएको गुनासो गर्ने गरेका छन्। आफ्नो कामबापत प्राप्त हुने पारिश्रमिकबाट नै उनीहरू असन्तुष्ट रहेका बेला पारिश्रमिक नै नपाउने समस्याले उनीहरू झनै आजित हुनेगरेका छन्।
‘नेपाली फिल्म उद्योगको इतिहासले ५५ वर्ष बढी विताइसक्दा पनि प्राविधिकलाई हेर्ने नजरमा खासै ठूलो परिवर्तन म देख्दिन,’ छायांकार विष्णु कल्पित (घिमिरे) भन्छन्, ‘सार्वजनिक ठाँउमा बोल्दा कलाकार, निर्देशक, निर्माताले प्राविधिकको गुणगान गाए पनि वास्तविक छायांकन स्थलमा प्राविधिकलाई कहीँ न कहीँ होच्याउने, घोच्ने गरिन्छ।’
‘पारिश्रमिक र सन्तुष्टिका विषयमा पनि अवस्था नाजुक नै छ, सधैं र सबैमा त भन्दिन, तर प्राविधिकहरूका साना साना कमजोरीमा पनि कामबाट निकाल्ने, धेरै पारिश्रमिक माग गरेमा, अन्य प्राविधिकको विकल्पमा जाने तथा, पारिश्रमिकबापत प्राप्त गर्नुपर्ने अन्तिम किस्ता भुक्तानीमा फिल्म मेकरले आनाकानी गर्नेजस्ता पक्ष देखेको छु,’ छायांकार कल्पित थप्छन्,‘वर्षमा २-३ वटा फिल्ममा मात्र काम गर्न सकिने, त्यहीँ कामबाट प्राप्त पैसाले वर्ष कटाउनुपर्ने तर, पाउनुपर्ने पैसा पनि खुलेर पाउन नसक्नाले भने फिल्म प्राविधिकहरूको अवस्था यो विषय परिस्थितिमा त झनै सहज छैन।’
यसरी चलचित्र क्षेत्रको अवस्था सामान्य रहँदा नै संकटमा रहेको प्राविधिक क्षेत्र कोरोना भाइरसबाट उत्पन्न देशको विषम परिस्थितिमा कसरी गुज्रिरहेको छ? लामो समययता चलचित्र निर्माण, प्रदर्शन रोकिँदा प्राविधिकरूको वर्तमान र भविष्य कस्तो रहला यससँग सम्बन्धित पक्षको ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ।
यस सम्बन्धमा चलचित्र प्राविधिकहरूको छाता संगठन चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा संस्थाको तर्फबाट सम्बोधनको तयारीमा लागेको बताउँछन्।
‘प्राविधिकहरूका विषयमा संघ गम्भीर छ। हामीले यो विषय परिस्थितिमा पनि प्राविधिकहरूलाई सकेको सहयोग गर्ने तयारी बढाइरहेका छौं। आज केही प्राविधिकहरू गाँस, बास, कपासकै अभाव व्यहोर्नुपर्ने अवस्थामा छन्। त्यसैले एक दुई जनालाई नै किन नहोस् आवश्यकताअनुसार संघ सहयोग गर्ने योजनामा छ,’ अध्यक्ष लामाले भने, ‘हामी उहाँहरूका गुनासो लिने, समस्या बुझ्ने तथा सकेको आकश्मिक कोष स्थापना गरेर समाधान खोज्‍नुपर्छ।’
‘इच्छा भएर पनि केही गर्ने वातावरण प्रतिकुल छ लकडाउनको अवस्थाले हिँडडुलमै समस्या छ, प्राविधिकहरूलाई राहत दिन वा पुर्‍याउनसक्ने अवस्था छैन। तथापि, मोटरसाइकलमै भए पनि हामी सहयोगमा जुट्ने तयारीमा छौं,’ प्राविधिकहरुको तत्कालको अवस्था सम्बोधन गर्ने तयारीमा छ संघ।
०००
‘आजमात्र होइन भविष्यमा पनि प्राविधिकहरू कामविहीन, ज्यालाविहीन हुने अवस्था छ। यतिका दिन फिल्म उद्योग ठप्प हुँदा पुनः लयमा आउन केही महिना पक्कै लाग्छ। त्यो बेलासम्ममा प्राविधिहरूको आर्थिक अवस्था झन् विग्रन्छ, छायांकार कल्पित भन्छन्, ‘त्यसैले सम्बन्धित निकायले बेलेमै प्राविधिकहरूको निकट भविष्यलाई समेत सम्बोधन गर्नुपर्ने समय आएको छ।’
सरकार र सरोकारवाला संस्थाले मात्र नभएर यसअघि गरिएका कामको प्राविधिकहरूलाई दिन बाँकी ज्याला दिएमात्रै पनि कतिपयको दैनिकी सहज हुने कल्पितको भनाइ छ।
कल्पितको उक्त भनाईमा सहमत छन्, संघका अध्यक्ष लामा। तथापि, सरकारले पनि चलचित्र क्षेत्र तथा प्राविधिकहरूको समस्यालाई उती चासो नदिएको उनको अनुभव छ।
‘केही दिनअघि सरकारले विभिन्न क्षेत्रलाई समेटेर देशको विषम परिस्थितिले निम्त्याएको संकटमा आर्थिक सहुलियत सम्बन्धमा निर्णय सुनायो तर, चलचित्र क्षेत्रलाई वास्ता गरिएन। चलचित्र प्राविकिहरूको समस्यालाई सरकारले गहन रूपमा लिएकै छैन,’ अध्यक्ष लामाले भने, ‘सरकार र नेपाल चलचित्र विकास बोर्ड हाम्रा अविभावक हुन्, उनीहरूले हाम्रो संरक्षण नगरे कसले गर्ने, तर त्यो भएकै छैन।’
देश नै लकडाउनमा परी परिस्थिति असहज बनि चलचित्र प्राविधिकहरू संकटमा पर्ने विषयमा जोड दिँदै अध्यक्ष लामा सरकारले तत्काललाई राहत दिनुपर्ने र भविष्य सहज बनाउँन प्राविधिकहरूबाट १५ प्रतिशत टिडिएस काट्ने प्रावधान हटाइनुपर्ने माग राख्छन्। यसले आधा बढी चलचित्र प्राविधिकहरूको आर्थिक भार कम गराउने र जनजीवन सहज बनाउने उनको तर्क छ।
यतिमात्र नभएर चलचित्र प्राविधिक संघले सदस्यहरूबाट आएका गुनासाहरू प्रभावकारी ढंगले सम्बोधन गर्नुपर्ने, चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याण कोषबाट न्यून संख्यामा प्राविधिकका लागि दिइँदै आएको मासिक भक्ता रकम र प्राविधिकहरूको संख्या बढाउँदै जानुपर्ने तथा अध्यक्ष विहिन चलचित्र विकास बोर्डमा तत्कालै अध्यक्ष नियुक्त गरि विषम परिस्थितिमा चलचित्र क्षेत्रले भोग्नु परेका सम्पूर्ण विषयलाई सम्बोधन गरिनुपर्ने प्राविधिकहरूको भनाइ छ।
यता, सामाजिक सञ्जालमा कोरोना भाइरस रोकथाममा कलाकारको आर्थिक सहयोग र फिल्मकर्मीको भूमिकाका बारेमा चर्चा चलिरहँदा केही दिनअघि निर्देशक दिपेन्द्र लामाले कोरोना राहत कोषमा पैसा दिइरहनुभन्दा निर्माताहरूले आफूले काम लगाएका कलाकार र प्राविधिकको पारिश्रमिक दिए पुग्ने भन्दै स्टाटस लेखे।
उक्त स्टटसबाट पनि आँकलन गर्न सकिन्छ कि चलचित्र प्राविधिकहरूको अवस्था देशको विषम परिस्थितिले कहाँ पुर्‍याएको छ र निकट भविष्यमा कति संकट व्यहोर्नु पर्ला!

Comments