- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस ५, २०७६ | शनिबार | काठमाडौं

रंगकर्मी केदार श्रेष्ठले आफ्नी बहिनी सन्तोषी श्रेष्ठको खुसीमा आफ्नो खुसी मिसाउँदै कविता लेखे ‘मिलि सेकेन्ड धावकलाई पत्र’।
बहिनीले १३औं सागमा एथ्लेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा मिलिसेकन्डको अन्तरमा स्वर्ण जित्दाको खुसी केदारले कवितामा कोरे।
पुराना ती संघर्षका दिन, ठुल्ठूला सपना देख्ने विद्यालय उमेर अनि बहिनी, भाइसँगका सुखदुःख, आत्मीयता र प्रेम उनले एउटै कवितामा सम्झिए।
कविता नकोरून् पनि कसरी? सन्तोषीले जितेको त्यो स्वर्ण आस नगरिएको पदक थियो, अरुका नजरमा उनी हार्नकै लागि दौडिएकी थिइन्। हार्नु अस्वाभाविक थिएन, तर स्वयं आफ्नो र परिवारका लागि सन्तोषी जित्नकै लागि दौडिएकी थिइन् र, जितिन् पनि।
त्यही कविताभित्रको सानो अंश-
हामी कुरा गर्थ्याैं , कक्षामा कति विद्यार्थी छन्
तर, सबै फस्ट हुँदैन, सबै फस्ट हुनै सक्दैन
जीवनमा फस्ट हुनैपर्छ भन्ने पनि छैन,
तर, हामी निर्णय गर्थ्याैं, ‘गोल्ड इज गोल्ड’।
तर, सबै फस्ट हुँदैन, सबै फस्ट हुनै सक्दैन
जीवनमा फस्ट हुनैपर्छ भन्ने पनि छैन,
तर, हामी निर्णय गर्थ्याैं, ‘गोल्ड इज गोल्ड’।
हिजो बहिनीको सफलतामा आफैंले कोरेका यी कविताका हरफहरू आज केदार स्वयं दोहोर्याउँदैछन्, ‘गोल्ड इज गोल्ड’ अर्थात् जितभित्र एउटा स्वर्णिम हाँसो हुन्छ, छाती उचो हुन्छ।
स–साना कुरामा खुसी खोज्ने, साना कुराभित्र समाज बदल्नसक्ने आधार भेट्ने केदारले २०६९ ताका एउटा स्क्रिप्ट तयार गरेका थिए, ‘जुनुको जुत्ता’। पत्रकारिता, साहित्य लेखन रंगमञ्च सबै क्षेत्रमा अब्बल केदार फिल्म तथा नाटक लेखन पनि अब्बल।
तर, स्क्रिप्ट ‘जुनुको जुत्ता’ त्यतै कतै दराजभित्र रहिरह्यो। बालबालिकाबारे यशु श्रेष्ठद्वारा लेखिएको कथाबाट प्रभावित भई तयार स्क्रिप्ट लामो समय थन्किरह्यो।
‘बिर्सिसकेको थिँए, मैले यो स्क्रिप्ट लेखेको छु भनेर,’ केदार विगतमा फर्किए।
‘विद्यालय उमेरबाटै लेखनमा रुचि थियो। ८/९ कक्षामा पढ्दै गर्दा ‘बाल कोसेली अध्ययन समूह’सँग जोडिएर बालसाहित्यमा कलम चलाउने बानी परिसकेको थियो, त्यही समय बाल साहित्यकार शान्तदास मानन्धरसँग भेट भयो। मानन्धरको छत्रछायाँले बाल साहित्य लेखन रुचि तिखारिँदै गयो। बालबालिकाकै क्षेत्रमा कर्म गर्ने प्रेरणा मल्यिो।’
केदारले त्यही प्रेरणाले केही बाल साहित्यका पुस्तक प्रकाशित गरिसकेका छन्। उनी बालबालिकाकै क्षेत्रमा निरन्तर काम गरिरहेकै छन्। साहित्य, नाटक होस् या फिल्म, कलाका माध्यमबाट बालबालिकासँग उनी जोडिदै आएका छन्।
यही यात्रामा लेखिएको एउटा स्क्रिप्ट थियो ‘जुनुको जुत्ता’।

‘करिब डेढ वर्षअघि हामी फिल्म ‘सुपर मंक’ छायांकनका लागि सोलु पुगेका थियाैँ। फिल्ममा म ‘कास्टिङ डाइरेक्टर तथा कोच’ थिँए,’ केदारले चिसो मौसमसँग जोडिएको सोलुको किस्सा सुनाए, ‘फिल्मका लागि बालबालिकालाई वर्कसप गराई रहदाँ मस्तिष्कमा जुनुको जुत्ताको याद आयो। दराजको कुनामा थन्किएको कथा सुहाँउदो पात्र भेटेको अनुभूत भयो। पुनः सोलुमै पुगेर जुनुको जुत्ता बनाउने निधो गरेँ।’
‘सुपर मंक’को काम सकेर राजधानी फर्किएका केदार जुनुको जुत्ता छयाङ्कन गर्न चाँडै सोलु फर्कने सोचमा थिए। तर राजधानीको वातावरणनै त्यस्तो, व्यस्तताले उनी एक वर्षपछि धकिलिए।
एक वर्षअघि वर्कसपमा भेटिएकी सानी जुनु अर्थात् हिस्सी लामा केही ठूली भइसकेकी थिइन्। चार वर्षकी बालिका हिस्सी, उनकै आमा याङ्जी लामा र दिदी पासाङलाई लिएर त्यसमा पनि सबै नव–कलाकार फिल्म बनाउन उति सहज थिएन।
यद्यपि, गत जेठमा ५ दिन लगाएर सोलुखुम्बुको जुनबेसीमा केदारले ‘जुनुको जुत्ता’ छायांकन गरे।
बालमनोविज्ञान र सिकाइलाई केन्द्रमा राखेर तयार त्यही ‘जुनुको जुत्ता’ हालै सम्पन्न काठमाडाैं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा प्रिमियर गरिएको थियो। जहाँ फिल्मलाई प्रिमियरमात्र गरिएन, फिल्मले दर्शकको मन जित्यो। निर्णायकको मस्तिष्क खिच्यो।
अन्ततः किम्फ महोत्वसमा नेपाल पानारोमातर्फको आख्यान विधामा फिल्मले उत्कृष्ट भई एक लाख नगद हात पार्यो।
बहिनीले स्वर्ण जितेको खुसी नसेलाउँदै केदारलाई अर्को खुसी थपियो।
बहिनीका लागि कोरेको कविता पुनः उनी आफैमा पनि शिद्ध भयो।
जीवनमा फस्ट हुनैपर्छ भन्ने पनि छैन,
तर, हामी निर्णय गथ्र्यौं, ‘गोल्ड इज गोल्ड’।
तर, हामी निर्णय गथ्र्यौं, ‘गोल्ड इज गोल्ड’।
कलामा निहित केदार
पत्रकारिताका विद्यार्थी केदार, केही समय पत्रकार बने। तर, संयोग नै त्यस्तो बन्यो कि पत्रकारिता छोडेर उनी रङ्मञ्चमा रमाउन पुगे।
आफ्नो पत्रकारिता यात्रा खुम्च्याउँदै गए। रङ्गमञ्चको बाटो उनलाई केही फराकिलो लाग्यो, केही कलात्मक पनि।
केदारले समाउने कलममा रचनात्मक शैली थियो, साहित्यिक गुण थियो। अब, तिनै कलमले कोरेका शब्दलाई चेतनशील र रचानात्मक दृश्यमा उतार्नु थियो। साहित्यमा होस्, नाटकघर होस या सिनेमा घर जहाँ भए पनि उनलाई कथा भन्नु थियो, कलाकारितामा रम्नु थियो।
‘स्नातक तहमा अध्ययन गर्दैगर्दा परीक्षा आउन ७ दिन बाँकि थियो। प्राध्यापक समन्त आचार्यले नाटक ‘मानुष’मा अभिनयको अफर गर्नुभयो। अफर सबै साथीहरूका लागि थियो तर अभिनय गर्नजाने म एक्लो भएँ।’ यो नै केदारको पहिलो रङ्मञ्चको रङ्गीन यात्रा थियो।
केदारमा रंगमञ्चको लत बस्दै गयो। नाटकघरमा नाटक र्हेन जाने आउने क्रम बाक्लियो।
समय बित्दै जाँदा ‘नेसनल स्कुल अफ ड्रामा; नयाँदिल्लीले काठमाडौंमा आयोजना गरेको ३५ दिने कार्यशालामा केदारले अभिनय सिक्ने मौका पाए। कार्याशालामा उनी अडिसनबाट छानिएका थिए।

त्यही ३५ दिनमा केदारले रङ्गमञ्चभित्रका स-साना विषयलाई नजिकबाट नियाल्ने अवसर पाए। केदारका लागि तिनै ३५ दिन रङ्मञ्चको यात्रा तय गर्ने आधार बन्यो।
‘जीवनमा कथा भन्न बाहेक मलाई केही आउँदैन। कलम चलाउँ, रंगमञ्चमा रमाउँ या, फिल्ममा जहाँ गएपनि कलाका माध्यमबाट म त कथा न भन्ने हो। माध्यम फरक होला कर्म उही हो। अब, चाहेर पनि कलाबाट भिन्न भएर बाँच्ने आधार छैन,’ केदारसँग कलाप्रति गहिरो लगाव छ, भाव छ।
‘मान भर्सेस मती’, 'उँपियाकाे निबन्ध’, ‘बदरङ’, ‘भोको घर’, ‘भित्ताको नमस्ते’ जस्ता सफल नाटकहरू निर्देशन गरेका केदार केही दिनअघि भारतको कोलकतामा बालनाटक ‘करेसा कन्सर्ट’ प्रस्तुत गरेर फर्किएका हुन्। नाटकलाई केदारले लेखेका हुन्, अनि आफैंले निर्देशन गरेका हुन्।
‘थियटर मल’ नाटक घरको अस्तित्वमा रमाएका केदार
२०६४/०६५ साल ताका रङ्कर्मी केदार श्रेष्ठ र साथीहरू रसियन कल्चर सेन्टरमा रङ्गकर्म गर्थे।
जहाँ साप्ताहिक रूपमा मात्र नाटक मञ्चन गरिन्थ्यो। त्यही समय सिटीसेन्टरमा विगमुभिज सुरु भयो। फिल्मका दर्शकको भिडभाड बढ्दै गयो। त्यही भिडमा केदारको मनमा नया रहरले डेरा जमायो।
सिटीसेन्टरमा फिल्मका दर्शकको लर्को लाग्दा केदारको मनमा यस्तै मलमा नाटक घर हुनुपर्छ भन्ने भाव उत्पन्न गरायो।
‘बिगमुभिज खुलेको केहि समयपछि हामीले शैली थियटर छोयौं। विचार मिल्ने साथीहरूसँग मिलेर सुन्धारास्थित काठमाडौं मलको छतमा नयाँ नाटक घर ‘थिएटर मल’ सञ्चालनमा ल्यायौं,’ केदारले नाटकघर सञ्चालन गरेका दिन सम्झिए।
‘थिएटर मल’ सञ्चालन एक हिसाबले ठूलो चुनौती थियो तर, चुनौती झेल्न केदारसँगै रमेश भट्टराई, एलिना नकर्मी, संजिता पराजुली, सुरेश कार्की, विभु पौडेल, आकाश मगर, अभय बराल, सुशिला अधिकारी, रामशरण रेग्मीलगायतको टिम तयार भयो।
करिब २५ लाख खर्चमा सुरु भएको थियटर मलको आयु लामो रहेन। ३ वर्षमा काठमाडौं मलबाट थियटरमल प्रायः मृत अवस्थामा पुग्यो।
‘थिएटर मल भत्किए पनि हाम्रो मन भत्किएको थिएन। भलै ऋण थियो तर, साहस हराएको थिएन। अझ अभिनयको भोकले छट्पटाएका रंगकर्मीमा आफ्नै नाटकघरको खाँचो थियो। रङ्कर्मी साथीहरूले चाहेको समय स्वतन्त्र रहेर रङ्गकर्म गर्न पाउनुपर्ने मेरो चहाना थियो,’ त्यसबेलाको समस्या अनि चाहना एकैपटक पोख्छन् केदार।
बालसाहित्य र बाल नाट्य क्षेत्रमा काम गर्ने केदार विभिन्न विद्यालयमा नाटक सिकाउँथे। यही क्रममा आफूले नाटक पढाउने कीर्तिपुरको ‘रारा हिल’ विद्यालय पनि एक थियो।
केदारको रहरमा उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तुलसीदास महर्जन भगवान बनेर आइदिए। अध्यक्ष महर्जन, जसले मृत ‘थियटर मल’ ब्युँताउन केदारलाई मन दिए, भवन दिए सँगै दह्रिलो साथ दिए।
त्यही साथ र साथीहरूसँग मिलेर पुनः गत फागुनदेखि सञ्चालनमा ल्याइएको ‘थियटर मल’मा रहेर केदार नेपाली कलाक्षेत्रका लागि काम गरिरहेका छन्। अझ त्यही भवनमा रहेर बालबालिकाका लागि ‘नेसनल चिल्ड्रेन थियटर’ अर्थात् राष्ट्रिय बालबालिका नाटक घर सञ्चालनको तयारीमा छन् उनी।
के नाटकघर चलाएर मुनाफा कमाउने अवस्था छ र?
पंक्तिकारको प्रश्न सुनेर केदार केही गम्भीर देखिए र, रंगमञ्चको वास्तविकता ओकले, ‘कला पेसा बन्न सक्छ, व्यापार होइन। संसारमा जुनसुकै नाटक मञ्चन गरियोस् सायद व्यापारिक सफलता प्राप्त गर्ने नगन्य होलान्। कलालाई पेसागत रूपमा लिएर रमाउने हो, व्यापारसँग दाँज्न मिल्दैन।’
उनको जवाफ सुन्दा लाग्छ-उनले पैसा कमाउन कला अंगालेका होइनन्, केवल कलाकारितामा बाँच्न पाउनु नै उनको खुसी हो, उनको संसार हो।
रङ्गमञ्चको आडमा फिल्म यात्रातर्फ केदार
बाल साहित्यमा रुचि राख्ने केदार नाटक होस् या फिल्म बालबालिकालाई उपयुक्त र सान्दर्भिक हुनुपर्ने धारणा राख्छन्। सोही हिसाबमा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा थुप्रै फिल्ममा जोडिँदै आएका छन्।
फिल्म ‘कथा ७२’, ‘रेड मनसुन’,‘वन फुल’ जस्ता फिल्ममा फरक-फरक जिम्मेवारी अनि अभिनय गरेका उनी अन्य थुप्रै व्यावसायिक फिल्ममा पनि काम गरेको सुनाउँछन्। यद्यपि, फिल्मको नाम भने उनी लिन रुचाउँदैनन्।
पहिलोपटक आफ्नो लेखन तथा निर्देशनमा तयार ‘जुनुको जुत्ता’लाई दर्शकले मन पराइदिएकोमा उनी खुसी त छन् नै, यस्ता धेरै जुत्ता चप्पलका कथामा फिल्म बनाउने योजना बुनिरहेकाछन् केदार।
रङ्गमञ्चमा रमाइरहेका केदारले फिल्ममा झुकाव बढाउँदै जाँदा उनलाई यस्तो किन भनेर प्रश्न आउन थालेका छन्।
तिनै प्रश्नमा केन्द्रित हुँदै केदार भन्छन्, ‘समाजभित्रका बहुआयामिक कथा भन्न कलाक्षेत्र अँगालेको हुँ। कलालाई पेसा बनाएको हुँ। कतिपय कथा नाटकले मात्र बोल्नसक्छ, अनि कतिपय कथा फिल्मले मात्र। त्यसैले ‘रियल स्क्रिन’ र ‘रिल स्क्रिन’ कथाको माग हो, कथाले जुन माध्यम माग्छ, त्यही माध्यमबाट कथा वाचकले कथा बोल्छ।’
केदारले अन्तमा भने, ‘जुनुको जुक्ताले रिल स्क्रिन मागेको थियो, म त्यतै लागेँ, भविष्यका कथाले के माग्छन्, उतै लागौंला।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment