दयाहाङको पछि लाग्दा सुनिल सरसँग ठोक्किएका रेयर

  • मनोज न्यौपाने मंसिर २२, २०७६ | आइतबार |काठमाडौं


‘करिब २ वर्षको अवधि काठमाडौंमा हल्लिएरै बित्यो, भविष्य अन्यौलमा थियो। घरबाट पनि ‘के गर्छस्’ भनेर प्रश्न दोहोरिरहन्थ्यो।’ मोरङबाट काठमाडौं आएका रेयर राई कुहिरोको कागझैँ अल्मल्लिएका थिए।
‘मेरो त कहानी पनि लामो छ हो, राई आफ्नै लवजमा भन्छन्, ‘जन्म सोलुखुम्बु। विद्यालय उमेर मोरङको लेटाङमा बित्यो। प्लस-टु पढ्न मोरङकै इन्द्रपुरको सुकुना क्याम्पस भर्ना भएको थिएँ, तर खै काठमाडौंको रहरले पूरा हुनै सकेन।’ उनले सोलुखुम्बुबाट मोरङको जीवनयात्रा एकैपटक बिसाए।
रेयर राई नेपाली रङ्‍गमञ्च र फिल्म क्षेत्रमा उदाउँदै गरेको नाम हो। ‘चपली हाइट २’, ‘बिजुली मेसिन’, ‘ए मेरो हजुर ३’, ‘यात्रा’ लगायत फिल्ममा टाइपकास्टमा देखिएका राई अभिनित ३/४ वटा फिल्म अझै प्रदर्शनको पाइपलाइनमा छन्।
फिल्ममा मात्र होइन रङ्‍गमञ्चमा पनि राईको उपस्थिति उल्लेख्य छ। मण्डला थियटरमा अभिनय सिकेको राई रङ्‍गमञ्चमा धेरै रुचाइएका पात्र हुन्। फिल्म र रङ्‍गमञ्चमा जमेका राईको रङ्‍गमञ्च यात्रा भने केही रोचक छ।
‘प्लस-टु नै नसकी काठमाडौं हानिएको छोरो फेरी प्लस-टु मै भर्ना भइयो। मानविकी सङ्‍कायमा भर्ना भएको मान्छे, एकसमय कलेज गएपछि बाँकी दिनभरि खाली बसिन्थ्यो। खाली बस्दा मन पनि बहकिन थाले,’ काठमाडौंसँगको अतित सम्झन्छन् उनी।
भनिन्छ भाग्य लेखिएको हुन्छ, तर देखेको हुँदैन। राईको मनोकथा पनि त्यस्तै छ। उनी गाउँमा हुँदा पढाईसँगै फुटबलमा खुब चासो राख्थे, तर खेलाडी भएर करिअर बढाउन सकेनन्।
‘एक मनले भन्थ्यो फुटबल खेलाडी हुनुपर्‍यो। फेरि मस्तिष्कले भन्थ्यो हैन, फुटबलमा तेरो भविष्य छैन।’ मन र मस्तिष्कको द्वन्द्वमा राईका कयौं दैनिकी गुज्रिए, तर भविष्यको निकास निस्किएन।

सुनिल सर अर्थात् सुनिल पोखरेलको छत्रछायाँले राईमा साँच्चै अभिनयप्रतिको बुझाई र समर्पण परिवर्तन गराइदियो। तीन महिनाको मण्डला यात्राले रेयर राई एक सक्षम कालाकारका रूपमा उदाए।


रेयर निमेशभरको मौनता चिर्दै मुस्कुराउँछन्। केही गहनताकासाथ बोल्छन्, ‘मानिसको भाग्य माथिबाटै लेखिएको हुन्छ रे, खै त्यस्तै छ हौ मेरो त कहानी।’ फेरी उसैगरी सोचमग्न हुन्छन्।
‘मलाई कलाकार नै बन्नु थियो होला सायद,’ दायाँबायाँ नियालेर टोलाएपछिको मौनतालाई चिर्दै फेरि बोल्छन्, ‘फुटबल खेल्न रुचि भए पनि मलाई कताकता टेलिसिरियलमा अभिनय गर्ने सोख थियो। मोरङमै हुँदा पनि कलाकारिता सिकाउने भनेर सुन्ने बित्तिकै दौडिन मन लाग्थ्यो। एकदिन एफएममा सुनेर भर्ना हुनै भनेर गएको थिएँ, तर मिति नै सकिएको रहेछ।’
रहर भएपछि के चाहियो अरु! राई त्यसको केही दिनमै काठमाडौं हानिए। आमाले पैसा पठाइरहनुहुन्थ्यो। भाइ सङ्‍गीत सिक्ने राई कलेज पढ्ने सँगसँगै अभिनय पनि।
तर, रहर पनि कहिलेकाँही डरलाग्दो कहानी बन्दो रहेछ।
‘ऊ बेला, साप्ताहिक र शुक्रबारका हरेक पेज मेरा लागि प्रिय थिए। हरेक कलाकारका कुरा, फिल्म र अभिनयका कुरा मलाई प्रिय लाग्थे। यही सिलसिलामा मैले बागबजारमा अभिनय प्रशिक्षण केन्द्र पत्ता लगाएको थिएँ,’ राई सम्झन्छन्, ‘हतारिएर त्यता लागेँ। ६ महिनाको एकै पटक १८ हजार रुपैयाँ बुझाएँ। तर, पढाइ भने एकै महिनामा छोडेँ।’
एकै महिनामा अभिनयमा पारङ्‍गत बनेझैँ उनमा साहस बढ्यो। अभिनय कक्षा छोडेर फिल्ममा काम गर्न तयार भए। तर, उनको तयारी वास्तवमा तयारी थिएन, साथीभाइको लहडले निम्त्याएको दुर्घटना थियो।
अपसोच मान्दै सुनाउँछन्, ‘१८ हजार त गुम्यो-गुम्यो, न अभिनय राम्रो भयो न त करिअर नै, त्यसयताको साढे दुई वर्ष फजुलमा बिताउनुपर्‍यो।’
एक्लै मण्डलामा नाटक हेरेको त्यो दिन...
सामान्य सर्ट फिल्मसँगै फुर्सदमै दैनिकी चलिरहेको थियो। भविष्यलाई लयमा तान्ने अवसर खोजिरहेका थिए राई। तर, साथीहरूको लहडले अभिनय कक्षा छोडेका उनी बेला मौका मण्डला, दयाहाङ जस्ता शब्द सुन्दा झस्किन्थे।
साथी सङ्‍गतले मण्डलाको बयान गर्दा राईमा एक प्रकारको मोह बढी सकेको थियो। त्यही समय मण्डलामा नाटक ‘इप्सन ल्याब’ चलिरहेको थियो।
‘एक मनले भन्थ्यो फुटबल खेलाडी हुनुपर्‍यो। फेरि मस्तिष्कले भन्थ्यो हैन, फुटबलमा तेरो भविष्य छैन।’ मन र मस्तिष्कको द्वन्द्वमा राईका कयौं दैनिकी गुज्रिए, तर भविष्यको निकास निस्किएन।
‘मण्डला जाने रहर बढिरहेको थियो। एक दिन भाइ र म नाटक हेर्न जाने भयौं। पैसाको अभाव त्यस्तै साथमा ३ सय मात्र थियो। टिकटको मूल्य दुई सय प्रतिगोटा। भाइलाई बाहिर राखेर एक्लै नाटक हेरें,’ राईले ऊ बेलाको अभाव सम्झिए।
‘अभिनयको मोह बोकेको मान्छे भएर हो कि, म त त्यही समय नाटकप्रति नजिक भएँ। नाटक अत्यन्तै मन पर्‍यो,’ उनले त्यही निधो गरेँ अब अभिनय सिकेरै छोड्छु। त्यो पनि मण्डलामै।’
तर, मण्डलामा भर्ना हुन सहज थिएन/छैन। त्यो असहजता बीचमा राई पनि परे। ‘थोरै कोटा, धेरै विद्यार्थी, अडिसन दिएको कोटाभित्र अटाउन सकिएन। धन्न वैकल्पिकको एक नम्बरमा नाम आएछ।’ त्यो बेलाको पीडा भुलिसकेका राई मुस्कुराउँछन्।
सुनिल पोख्रेलसँगको सामीप्यता र अभिनय यात्रा
वैकल्पिकमा परेका राई अन्ततः ५ दिनपछि मण्डलामा भर्ना हुन पाए। अभिनय त गर्नै थियो। यो सँगै राईमा म गर्न सक्छु भन्ने भरोसा पनि थियो।
सुनेका थिए दयाहाङ राईले पढाउँछन्। तर, माहोल त्यस्तो थिएन।
पहिलो दिन कक्षा लिन मण्डला पुगेका राईले त्यहाँ कतै दयाहाङ देखेनन्। दयाहाङबाट कक्षा लिने रहरमा मण्डला पुगेका उनको सपनामा ढुङ्‍गा लाग्यो।
‘दायाहाङले पढाउनुहुन्छ भनेर गएको के को अर्कै लामो कपालसहितको बुढो पो अगाडि छ। झ्याउ लाग्यो,’ उनी सम्झन्छन्, ‘अर्कातिर अभिनय सिक्न त्यत्रो पैसा तिरेर गएको, बुढो त म अभिनय सिकाउँदिन पो भन्छ। आत्मग्लानी भयो’।
तर, राईले पछि थाहा पाए, ‘उहाँ त सुनिल सर पो हुँनुहुदो रहेछ।’
सुनिल सर अर्थात् सुनिल पोखरेलको छत्रछायाँले राईमा साँच्चै अभिनयप्रतिको बुझाई र समर्पण परिवर्तन गराइदियो। तीन महिनाको मण्डला यात्राले रेयर राई एक सक्षम कालाकारका रूपमा उदाए।
निश्चलको स्याबासी!
तीन महिनाको कक्षासँगै रेयरले आफ्नै सहपाठी साथीहरूसँग ग्रुपमा नाटक गर्ने मौका पाए।
इन्द्रबहादुर राईको ‘जार भएको एउटा कथा’मा अभिनयको तयारी चल्दै थियो।
गुरुले सबै साथीलाई नाटकका लागि पात्र छनोट गराइसकेका थिए। तर राई भने हातमा पुस्तक भएर पनि पात्रविहीन थिए। उनलाई कुनै जिम्मेवारी थिएन कि नाटकमा कुन भूमिकामा रहेर काम गर्ने भनेर।
कथाभित्रको दुई संवाद बोकेको ‘सुब्बा’ पात्र बाँकी थियो। पात्र अभावमा गुज्रिरहेका राई त्यही सुब्बा भएर काम गर्ने योजना थिए। तर, गुरुसँग कसरी प्रस्ताव राख्ने अन्योल थियो।
‘आँटैले भनिदिएँ, सर नाटककमा म सुब्बाको भूमिकामा काम गर्छु।’ उनको प्रस्तावलाई गुरुले स्वीकार गरे, तर राईप्रति उनी विश्वस्त थिएनन्।
रिहर्सलको तेस्रो दिन बल्ल राईको संवाद बोल्ने पालो आयो।
उनले रोमान्टिक मुडमा संवाद सुनाए, ‘जाठा, जब म भन्छु, तब दुगुरेर गोएर च्वाट्टै काट।’
संवाद सकिनसाथ गुरुको प्रतिक्रिया थियो गज्जब। संवादमा जाठा थिएन, तर राई आफैंले थपिदिए। लिम्बू समुदायको सुब्बामा हुने दम राईले निकाले। अब उनको भूमिका केवल सुब्बामा मात्र रहेन। अन्य धेरै भूमिका गुरुले राईलाई थमाई दिए। अन्ततः पहिलो नाटकमै उनी हिरो बने।
नाटक हेर्न धेरै कलाकार मण्डला पसेका थिएँ। त्यही भीडमा कलाकार तथा निर्देशक निश्चल बस्नेत पनि थिए।
‘नाटक सकेर म निस्कदै थिएँ। पहिलोपटक नाटक गरेको समूहमा कस्तो भयो? के भयो? सबैमा जिज्ञासा थियो। तर, निश्चल दाईले परबाटै भन्नुभयो मेरो हिरो ऊ पर आउँदैछ,’ राई सम्झन्छन्, ‘उहाँले मलाई अङ्‍गालो हाल्नुभयो अनि स्याबासी दिनुभयो। सायद यही नै मेरो अभिनय यात्राको सुखद क्षण थियो। उत्साह थियो।’
सङ्‍घर्ष र सन्तुष्टि
राईले ‘जार भएको एउटा कथा’ पछि ‘माथा पंचर’, ‘जिरो जिरो टु’, ‘सिरुमा रानी’, ‘वैतर्णी क्याफे’, लगायत १० भन्दा बढी नाटक तथा फिल्ममा काम गरिसकेका छन्।
करिअरसँग त खुसी छन् नै उनी आर्थिक उपार्जनको हिसाबले पनि खुसी नै छन्। सन्तुष्ट छन्। ‘म त सन्तुष्ट छु, कलाकारिताबाट सोचेभन्दा राम्रै पारिश्रमिक पाइरहेको छु।’
जीवन सङ्‍घर्ष हो र सङ्‍घर्ष गरिरहनुपर्छ भन्ने बुझेका छन् उनले। त्यसैले अझै सङ्‍घर्ष गरेरै भए पनि नेपाली कला क्षेत्रमा सफल बन्ने होडमा छन् उनी।
‘मलाई थाहा छ, मानिस कहिलै सन्तुष्ट हुन सक्दैन, तर सन्तुष्ट भएर पनि चल्दैन,’ राई थप्छन्, ‘अहिलेसम्म फिल्म क्षेत्रमा मैले जति काम गरेँ सन्तुष्ट छुइन। यसको अर्थ मैले अझ धेरै गर्न बाँकी छ।’
निमेशभरको मौनतालाई चिर्दै राई थप्छन्, ‘थाहा छैन आउने दिन कस्ता हुने हुन्, तर यति थाहा छ- भविष्य देख्ने होइन, बनाउने हो। भविष्य देख्नेका लागि होइन बनाउनेकै लागि हो। त्यसैले त भविष्य बनाउँदैमा दैनिकी चलिरहेको छ।’

Comments