- Get link
- X
- Other Apps
- मनोज न्यौपाने पुस २५, २०७६ | शुक्रबार | काठमाडाैं

‘अभिनय क्षेत्रमा नयाँ अनुहारलाई त्यति वास्ता गरिँदैनरहेछ, दर्शक स्रोता मात्र होइन, सञ्चार क्षेत्र पनि यस्तै रहेछ,’ फिल्म ‘१२ सत्ताइस’का नव-कलाकार समिर श्रेष्ठ गुनासो पोख्छन्।
माघ ३ गते फिल्मको प्रदर्शन मिति नजिँकिदै जाँदा उनी अलि गम्भीर छन्। ‘फिल्मको हाइप बढाउन पनि स्टार कास्टको आवश्यकता पर्ने रहेछ। तर, हाम्रो फिल्ममा सबै नयाँ अनुहार र थिएटरबाट आउनुभएका अग्रजमात्र हुनुहुन्छ, त्यसले पनि गाह्रो भइरहेको छ,’ एक खालको पीडाबोध गर्छन् श्रेष्ठ।
पीडा नहोस् पनि कसरी? बाल्यकालबाट अभिनय क्षेत्रमा रमाउने सपना देखेका समिरले पहिलोपटक काम गरेको फिल्म त्यसै अलपत्र छ। ‘रेड अम्रेला’ नामक फिल्ममा पहिलोपटक काम गरेका उनले पर्दामा अभिनय हेर्ने मौकै पाएनन्।
‘खै फिल्म प्रदर्शनमा आउनै सकेन, त्यतै कतै निर्माण युनिटकै कोठामा फिल्म अलपत्र होला,’ फिस्स मुस्कुराउँछन् श्रेष्ठ।
श्रेष्ठकै चिनजानका व्यक्ति तथा कलाकार कुलदीप अधिकारीले फेसबुकबाट फिल्म ‘रेड अम्रेला’का लागि सिफारिस गरिदिएका थिए। पछि सोही फिल्म युनिटकै मातहतबाट उनी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ सत्ताइस’मा अनुवबन्धित भए।
लामो पर्खाइ अनि मेहेनतपछि फिल्म प्रदर्शनको तयारीमा छ। श्रेष्ठ केही उत्सुक छन्। मुटुको धड्कनको तेज बढेको छ।

‘प्रतिक्षारत छु, प्रोजेक्ट कस्तो हुने हो, आफ्नो कामको नतिजाको पखाई त छु नै, तर डर पनि उत्तिकै छ किनकि यसको नतिजा राम्रो भए करिअर थप सहज बन्ने थियो,’ केही आशंका अनि केही हडबड शैलीमा उनी सुनाउाछन्।
श्रेष्ठलाई थाहा छ, अभिनय क्षेत्र सहज छैन। कलाकारितामा सम्भावना खोज्दै अभिनय क्षेत्रमा प्रवेश गरेका अधिकांश नवकलाकारले लामो समय नयाँ प्रोजेक्टको नपाएर पेसा नै परिवर्तन गर्नुपरेका उनकै आँखा अगाडी उदाहरण बनेर उभिएका छन्।
‘भविष्य कसलाई के थाहा? सफलता-असफलता आफ्नो ठाँउमा छ, तर, कर्म त गर्नैपर् यो। फेरि अभिनयको अभिलाषा बोकेर कलाकारितामा आएको अनि भविष्य के होला भनेर डराउन पनि त भएन,’ उनी हिम्मत जुटाउछन्।
सन् २०१६मा ‘मोडल आइकन नेपाल’ प्रतियोगिताको फस्ट रनरअप हुँदै मोडलिङमा प्रवेश गरेका श्रेष्ठ व्यवस्थापन संकायका विद्यार्थी रहेछन्। ‘अध्ययन एकतिर भए पनि मन अभिनयमै रमाउँछ। पढाइ औपचारिकताका लागि छ, अभिनय जीवनमा अभिलाषा बनिदियो। हुन त बुवा प्रहरी सेवामा, दिदी बैंक कर्मचारी, मेरो विकल्प नभएको होइन, तर खै! कलाकारिता क्षेत्रसँगको उनको भावनात्मक सम्बन्ध छ।
अग्रज अभिनेता आर्यन सिग्देलका डाइहार्ट फ्यान श्रेष्ठ फिल्म ‘मेरो एउटा साथी छ’ हेरेपछि हिरो बन्ने होडमा थिए। विद्यालय तहमा श्रेष्ठ मध्यम वर्गका विद्यार्थी। बास्केट बल र एथ्लेट्मा अग्रपंक्तिमा थिए। तर, कलाकारितामा भने प्रायः शून्य।
‘म आफैंमा अन्तर्मुखी स्वभावको मान्छे। भिडभाड भनेपछि बोल्नै डर लाग्ने आफ्नो प्रस्तुति दिने त कहाँ हो कहाँ,’ विद्यालय जीवनको एक किस्सा सुनाउँछन्, ‘कक्षा नौ मा अध्ययन गर्दा गीत गाउन स्टेज उक्लिएको, कापेर हाँसोको पात्र भएँ। यतिसम्म कि ज्यान नै कम्पित थियो, शब्द लेखेको कागज अनि हातको माइक परैबाट कापेको प्रस्ट देखिन्थ्यो।’
जीवन अनुभवको भोगाइ न हो। त्यसपछि उनले थाहा पाए–आफूलाई आत्मविश्वाससाथ अघि बढाउनुपर्छ। त्यो दिन आफ्नो प्रस्तुति असफल भएको भन्दा पनि प्रयासका रूपमा लिएर उनी अघि बढे। कक्षा १२ को अन्त्यतिर आइपुग्दा उनले मोडल आइकनको फस्ट रनरअपको ताज हात पारे।
अब, अभिनयमा पनि यस्ता थुप्रै ताज अनि अवार्ड जित्नुपर्ने दबाब छ, फिल्म उद्योगमा सफलताको स्वाद चाख्नु छ।
‘नयाँ फिल्म लिएर बजार आउँदैछौं, साथ र सहयोगको खाँचो छ। पुरानालाई सम्मान गरौं, नयाँलाई प्रोत्साहन ।’ सहयोगका लागि अपिल गर्छन् श्रेष्ठ।

‘लाइट कमेडी’ ‘जनरा’मा तयार फिल्म जहाँ बेरोजगार युवाको पैसा मोहको कथा प्रस्तुत गरिएको छ। त्यही कथाका पात्र हुन श्रेष्ठ। जो, पैसा पाएपछि आफ्नो औकात देखाउन पछि पर्दैनन्।
उक्त चरित्र निर्वाह गर्न सकेको मेहेनत र संघर्ष गरेको सुनाउने श्रेष्ठले अहिलेसम्म औपचारिक अभिनय कक्षा लिएका छैनन्। तर, फिल्म ‘१२ सत्ताइस’को सेट नै करिअरका लागि विद्यालय बनेको सुनाउँछन् उनी।
‘परिस्थिति नै त्यस्तो बन्यो कि फिल्मको वर्कसपबाहेक अभिनय सिक्ने मौका जुरेकै छैन। तर ‘१२ सत्ताइस’को सेट मेरा लागि अभिनय विद्यालय बन्यो। अबका दिनमा भने कसरी हुन्छ औपचारिक रूपमै भए पनि अभिनय कक्षा लिने सोच बनाएको छु।’
अभिनय सिक्ने योजना बुनिरहे पनि श्रेष्ठसँग अभिनयको विकल्प भने नभएको होइन। ‘अभिनयमै रमाउने सपना देखेको छु। तर, दुर्भाग्यबस यता जम्न सकिनँ भने रुचिको विषय व्यवसाय मेरो विकल्प हो। यद्यपि, अभिनयबाट टाढा भने जाने छैन,’ उनी भन्छन्।
नव-कलाकारलाई स्थापित हुन कठिन छ भन्ने बुझेका श्रेष्ठले नेपालन्युजसँगको बसाइको अन्त्यमा नछुटाइ लेखिदिन आग्रह गर्दै भने, ‘नव-कलाकार सफल हुनु छ भने उसको सहकर्मीका रूपमा ‘स्टार कास्ट’ चाहिने रहेछ। त्यो महसुस गरिरहेको छु।’
उनले यति भनिरहँदा पंक्तिकारको प्रश्न तेर्सियो- तपाईंलाई चाहिँ कुन स्टार कलाकारसँग काम गर्न पाएँ सफल हुन्छुजस्तो लाग्छ?
केही सोचेझैं गरेर श्रेष्ठले सुनाए, ‘सफलता असफलताभन्दा पनि रहर चाहिँ अभिनेत्री जसिता गुरुङसँग काम गर्ने हो। सँगै प्रियंका कार्की, नम्रता श्रेष्ठ पनि मन पर्छ। अभिनेतामा चाहिँ आर्यन दाइ नै हो।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment