आफूले आफैंलाई खुसी राखाैं : राजाराम

  • मनाेज न्याैपाने चैत २५, २०७६ | मंगलबार | काठमाडाैं



मुलुक दुई सातादेखि लकडाउनमा छ। अत्यावश्यक बाहेकका क्षेत्र अन्य क्षेत्र ठप्प छन्। विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुध्न घरभित्रै बसेर लकडाउनको पालना गर्नुको विकल्प छैन।
हरेक व्यक्ति जस्तै हाँस्य कलाकार राजाराम पौडेल पनि यतिबेला घरमै बसिरहेका छन्। तर उनी यसलाई बाध्यता र दिग्दारीको रुपमा नभई एउटा सुनौलो अवसरका रूपमा लिन सकिने धारणा राख्छन्। ‘मानव स्वास्थ्यका मुद्दा केही विषम अवस्थामा रहे पनि धैर्य गर्नुको विकल्प छैन। हामीले धैर्य गर्न सके यो महामारी एक दिन नियन्त्रणमा आउने छ,’ पौडेल भन्छन्, ‘त्यसैले यसलाई सकारात्मक अनि एक अवसरका रूपमा लिउँ।’
कलाकार पौडेललाई कुनै हेक्का थिएन, यो भाइरसले विश्वलाई नै यति भयावह बनाउँछ भनेर। ‘चीनबाट आएको भाइरसले यति धेरै मान्छेलाई दुःख देला भनेर कहिलैं सोचिएन। जतिबेला अमेरिका, स्पेन, इटालीलगायत शक्ति सम्पन्न देशले भाइरसलाई बेवास्ता गरेका थिए, उसैगरी मैले पनि वास्ता गरिन,’ पौडेल थप्छन्, ‘जब चीनका अन्य प्रान्त हुँदै युरोप अमेरिका जस्ता प्रविधि र शक्ति सम्पन्न देशमा भाइरस फैलियो यसबाट ठूलो त्रास जन्मियो।’
कोरोना भाइरस संक्रमण रोकथामका लागि पछिल्लो समय सरकारले जुन कदम उठाएको छ, उक्त कदम स्वागतयोग्य ठान्छन् कलाकार पौडेल। ‘सरकारले ढिलै भए पनि लकडाउन लगायतका कदम चालेको छ, यो भाइरसविरुद्ध लड्नका लागि उपयुक्त छ।’
लकडाउन भएकै दिनदेखि घरको गेटसम्म पनि ननिस्किएका कलाकार पौडेल बेला–बेला सञ्चार माध्यममा लकडाउन उल्लङ्घन गर्ने अनि प्रहरीले कारबाही गरेका खबर सुन्नुपर्दा भने दुःखी छन्।
‘लकडाउन कार्यान्वयन गराउनुपर्ने सरकार र प्रशासनले मात्र त होइन। हामी जनताकै लागि, हाम्रै स्वास्थ्यका लागि त हो। किन लकडाउनको उल्लङ्घन गर्नु, के हामीकहाँ चेतनास्तरको कमी नै भएको हो त?’ उनी सम्पूर्ण नेपालीसमक्ष प्रश्न गर्छन्, सँगै सुझाव पनि पस्कन्छन्, ‘हामी हरेक मानिस यो रोगको शिकार हुनसक्छौं, हरेकले भाइरस बोकेर हिडिँरहेका हुनसक्छौं त्यसैले आफू बँचौं अरुलाई पनि बँचाउँ, हेलचेक्राइँ नगरौं, सचेत बनौं। महामारी रोकिएपछि बाँकी सबै कुरा गरौंन।’
पौडेल थप्छन्, ‘हरेक भाइरसको लामो वा छोटो ‘इन्कुभेसन पिरियड’ हुन्छ। अर्थात् कुनै पनि भाइरस शरीरमा पसेपछि त्यसका लक्षणहरू देखिन समय लाग्छ। त्यसैले यस कोरोना भाइरसका लक्षण देखिन लाग्ने समय भनेको १४ दिन भनिएको छ। त्यसैले घरमै क्वारेन्टाइनमा बसेर भाइरस परीक्षणमा सघाउँ, धैर्यता नगुमाउँ।’
लकडाउनको समय पौडेल घरमै बस्ने, परिवारलाई समय दिने, छोरा-बुहारीले बनाएका परिकारहरू खाने, आफ्नै छतमा रहेको करेसाबारी हेरचाह गर्ने, अनि सामाजिक सञ्जालमा रमाएर बसिरहेका छन्। लामो समय घरमै बस्नु परे पनि दिग्दारीपन भने महसुस नभएको बताउँछन् पौडेल।
‘खासै आलस्यता महसुस गरेको छैन। किनकि, यो त हाम्रै स्वास्थ्यका लागि त हो,’ उनी थप्छन्, ‘म दिउँसो कहिलै पनि सुत्दिन। कारण, दिउँसो सुत्नु भनेको काललाई निम्तो दिनुु झैं लाग्छ। तर,पनि दिन बितिरहकै छन्। धैर्यता नगुमाउँ, ज्यान रहे पक्कै परिस्थिति सहज बनेको देखिन्छ।’
उनी आफू खुसी भए पनि श्रमजीवी चलचित्रकर्मी तथा कलकारहरूको असहजताप्रति भने केही दुःखी छन्। ‘यहाँ चलचित्र प्राविधिक मात्र होइन श्रमजीवी कलाकर्मी, फिल्मकर्मी सबैलाई समस्या छ, कतिपय कलकारहरू भाडामा बस्नु हुन्छ। मासिक कमाइका आधारमा खर्च टार्नुहुन्छ। उहाँहरूलाई पनि असहज पक्कै छ।
त्यसैले फेरि पनि भन्छु, विषम घडीमा धैर्यता नगुमाउँ, परिस्थितिको सामना गर्दै घरमै सुरक्षित बसौं, आफूले आफैलाई खुसी राखौं, रुचि लागेका विषयमा घरमै बसेर समयको सदुपयोग गरौं।’

Comments