- Get link
- X
- Other Apps
- मनोज न्यौपाने माघ २७, २०७६ | सोमबार | काठमाडौं

प्रेम भावना हो, र भावना भोगाइ। यिनै भोगाइ र भावनात्मक अनुभूतिको उपज मान्न सकिन्छ, गीत-सङ्गीतलाई।
गीत-सङ्गीत जीवनका अनुभूति बिसाउने शीतल चौतारीझैं लाग्छन्। यिनै चौतारीमा बसेर सङ्गीतको मधुरतामा नरमाउने मानिस यस ब्रह्माण्डमा पनि सायदै नहोलान्।
भनिन्छ- फेब्रुअरी महिना, प्रेमको महिना हो। गीत सङ्गीत अनि प्रेम एक अर्काका परिपूरक मानिन्छन्। भावनात्मक संवेदना पोख्ने माध्यम गीत-सङ्गीत अनि प्रेमको रसपान गराउने पनि गीत-सङ्गीत नै। यस अर्थमा यिनीहरू एक-अर्कामा आश्रितझैं लाग्छन्।
प्रेमको महिना अनि प्रेम सप्ताह, यतिबेला प्रेमिल गीत-सङ्गीतको मौसम छ।
‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको सप्ताह चलिरहँदा जताततै प्रेमको चर्चा छ। माया अनि सम्बन्धको चर्चा छ।
यही चर्चाबीच प्रेम/मायामा समर्पित गीत-सङ्गीतको पनि उत्तिकै चर्चा हुने गर्छ। अधिकांश गीत प्रेममै समर्पित हुन्छन्, गरिन्छन्। तर, साँच्चै यस प्रेमको सप्ताहमा तपाईं हाम्रा लागि सुन्नलायक प्रेमिल शब्द सङ्गीतले भरिएका प्रेम-गीतहरू कुन(कुन् हुन सक्छन्?
यस विषयमा नेपालन्युजले विभिन्न नेपाली गीतकार, सङ्गीतकार तथा गायकसँगको कुराकानीका आधारमा तयार पारेको सामग्रीः
वरिष्ठ गीतकार कृष्णहरि बराल २० को दशकमा माया र प्रेमका सम्बन्धमा बनेका गीत सुनेर हुर्किए। ‘माया-प्रेम र सद्भावमै रहेर संसारमा अधिकांश गीत-सङ्गीत तयार हुन्छन्। गीत-सङ्गीतमै एक प्रकारको जीवन अनुभूत गर्न सकिन्छ,’ डा. बराल निर्धक प्रेमसँग सङ्गीत जोड्न चाहन्छन्।
नारायण गोपालको स्वरमा सजिएको ‘यति चोखो यति मिठो...’ गीत गीतकार बरालका नजरमा प्रेमिल छ। नयाँ पुस्तादेखि पुराना सबैमा यो गीत अझै अजरअमर छ।
‘तिमीलाई अचेल कहाँ भेटूँ’ नामक एल्बममा समावेश तारा थापाको आवाजमा सजिएको ‘सबैले दिने उस्तै हुन्छ माया...’ बोलको गीत पनि आफ्नो रोजाइको प्रेमिल गीत रहेको सुनाउँछन् गीतकार बराल।
फिल्म ‘माइती घर’को गीत ‘नमान लाज यसरी...’ धेरै पहिलेदेखि बरालले सुन्न थालेका थिए, अझैं पनि उस्तै लाग्छ उनलाई। प्रेमध्वज प्रधान र लता मंगेस्करको आवाजमा रहेको उक्त गीत अहिलेका ‘प्रेमिल जोडी’लाई उनी सिफारिस गर्न चाहन्छन्।
स्व. तारादेवीको आवाजमा रहेको गीत ‘उकाली ओरालीहरूमा...’ बोलको गीत पनि अति नै प्रेमिल र अजरअमर रहेको छुनाउँछन् बराल।
‘स्व. नातिकाजीको सङ्गीतमा तयार गीत साँच्चै प्रेममा समर्पण हुनेहरूका लागि हो।’ गीतबारे थप प्रस्ट्याउँछन् उनी।
‘तिमीसँग जे छ, अरुसँग छैन। चुमेर कहिल्यै त्यो रित्तिँदैन...’ चलचित्र झझलक्कोमा समावेश यो गीत पनि बरालका लागि प्रिय छ। र, हिजोदेखि आजसम्मका स्रोताका लागि यो गीत रोजाइमा पर्ने बरालको तर्क छ।
यसैगरी, ‘तिमीलाई अचेल कहाँ भेटूँ’ नामक एल्बममा समावेश तारा थापाको आवाजमा सजिएको ‘सबैले दिने उस्तै हुन्छ माया...’ बोलको गीत पनि आफ्नो रोजाइको प्रेमिल गीत रहेको सुनाउँछन् गीतकार बराल।
उनी अन्तमा भन्छन्, ‘हरेक शब्द प्रेमिल लाग्छन्, दिएका स्वरले गीतलाई अजरअमर महसुस गराउँछन्। त्यसैले पनि उल्लिखित गीत आजका पुस्ताले पनि सुनेर प्रेमको आभास गर्न सक्छन्।’
गीतकार बराल आफूले लेखेका केही गीत पनि प्रेमिल र प्रेम गर्नेहरूका लागि सशक्त रहेको बताउँछन्।
फिल्म ‘नाइ नभन्नु ल...’ मा समावेश गीत ‘जुनको ज्योति ल्याएर दिन्छु...’, ‘यी आँखामा तिमी छौं...,’ ‘तिमी मसँग भइदिए...’ लगायत गीत पनि प्रेमिल जोडीका लागि सम्झाउन चाहन्छन् बराल।
०००
वरिष्ठ गीतकार दिनेशहरि अधिकारी, जो ३० को दशकका गीत-सङ्गीत सुनेर हुर्किएका सर्जक हुन्।
लामो समययता गीत लेखनमा कलम चलाउँदै आएका अधिकारी माया, प्रेम अनि गीत-सङ्गीतमा गहिरो सम्बन्ध रहेको बताउँछन्।
‘जीवन र जगत आफैंमा सङ्गीतमय छ। त्यसैले त संसारमा अधिकांश गीत माया-पीरतीका लागि लेखिन्छन्,’ प्रेम र गीत-सङ्गीतको सम्बन्धलाई प्रस्ट्याउँछन् उनी।
जीवनमा अधिकांश समय प्रेमिल गीतहरूमै रमाउने बानी परेका अधिकारी माधव घिमिरे, रत्नशमसेर थापा, गोपाल योञ्जनलगायतका गीत प्रायः सबै प्रेमिल अनि अजर-अमर रहेको बताउँछन्।
‘नयाँ, पुराना सबै पुस्तामा उहाँहरूका गीत कर्णप्रिय छन्, हरेक पटक सुन्दा प्रेमिल भाव अनुभूत गर्न सकिन्छ,’ अधिकारी अग्रज स्रष्टाप्रति उदारता देखाउँछन्।
जीवनमा अधिकांश समय प्रेमिल गीतहरूमै रमाउने बानी परेका अधिकारी माधव घिमिरे, रत्नशमसेर थापा, गोपाल योञ्जनलगायतका गीत प्रायः सबै प्रेमिल अनि अजर-अमर रहेको बताउँछन्।
यद्यपि, आफ्नो गीत लेखन यात्रामा तयार दुईवटा गीत भने हरेक प्रेमजोडीलाई सम्झाउन चाहन्छन् उनी।
२०३९ सालमा अधिकारीले तयार गरेको गीत ‘तिमी यसै लजायौं, म उसै धकाएँ...’ रवीन शर्माको स्वर तथा राम थापाको सङ्गीतमा रहेको यो गीत नयाँ पुस्ताको प्रेम जोडीका लागि समर्पण गर्न चाहन्छन्।
यस्तै ‘तिमीलाई म यस्तो माया गरूँ...’ गीत पनि अधिकारी सम्झाउन चाहन्छन्। सन्तोष लामाको आवाज अनि हरि लम्सालको सङ्गीतमा तयार गीत अधिकारी आफैंले लेखेका हुन्।
०००
पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रका व्यस्त अनि चर्चित सङ्गीतकारका रूपमा चिनिन्छन् अर्जुन पोखरेल। विशेष गरेर पाश्र्व सङ्गीतमा राम्रो छवि बनाएका पोखरेल स्वयंले पनि धेरै गीतमा स्वर भरेका छन्।
नयाँ पुस्तामा रुचाइएका पोखरेल पनि सङ्गीत अनि माया-पिरतीलाई एक रथका दुई पाङ्ग्राझैं मान्छन्।
‘मानवको उत्पत्ति नहुँदै सङ्गीतको जन्म भयो किनकि शून्यतामा पनि सङ्गीत हुन्छ, अनि कोलाहलमा पनि। तथापि, कतै मिठास छाउँछ त कतै फिक्का,’ पोखरेल केही सैद्घान्तिक भाव पोख्छन्।
पूर्वीय धर्म, संस्कारमा पनि यत्रतत्र प्रेमी-प्रेमिकाको प्रसङ्ग भएको जोड्दै पोखरेल भन्छन्, ‘राधा-कृष्ण, शिव-पार्वती देखि हरेक धार्मीक ग्रन्थमा हामी प्रेमका कथा पढ्दै सुन्दै आएका छौं र त्यसम गीत-सङ्गीत भजन-कीर्तन पनि जोड्दै आएका छौं,’ उनी थप्छन्,‘यसरी धर्म, संस्कृति भाषा, शैली जहाँ पनि हामी सङ्गीतसँग जोडिएका छौ। र, सङ्गीत सँग प्रेम र प्रेमसँग मावन जोडिएको छ।’
उनी विशेष गरेर प्रेमी-प्रेमिकाकै लागि बनेका गीतबाट धेरै प्रभावित छन्। त्यसमा पनि केही गीत छन् तिनीहरूले पोखरेललाई छोइरहन्छन्।
गीतकार कृष्णहरि बरालझैं नारायण गोपालको आवाजमा रहेको ‘यति चोखो यति मिठो...’ बोलको गीत हिजो मात्र नभएर आज र भोलीको पुस्तामा पनि उतिकै प्रेमिल हुने तर्क राख्छन् पोखरेल।
‘अगर तुम मिल्जाओ...’बोलको हिन्दी गीत पनि प्रेम जोडीका लागि उपयुक्त ठान्छन् पोखरेल।
त्यस्तै, नारायण गोपालकै ‘केही मिठो बात गर...’ यस गीत बाट पनि पोखरले प्रभावित छन्। ‘प्रेम गर्नेहरू साँच्चै वर्तमानमा बाँच्नुपर्छ भविष्य कसलाई थाहा छ र? त्यसैले यो गीत मलाई अत्यन्त मार्मिक अनि वास्तविक प्रेम गर्नेहरूका लागि हो भन्ने लाग्छ,’ गीतसँग प्रेमलाई जोड्छन् पोखरेल।
‘अगर तुम मिल्जाओ...’बोलको हिन्दी गीत पनि प्रेम जोडीका लागि उपयुक्त ठान्छन् पोखरेल। ‘साच्चै प्रेमिल शब्दले भरिएको गीत मध्येको एक गीत हो यो, हरेक व्यक्तिले प्रेमको अनुभूति गराउने क्षमता यो गीतमा छजस्तो लाग्छ।’
पोखरेल अरुका पुराना गीतझैँ आफूले सिर्जना गरेका नयाँ पुस्तामा प्रिय प्रेमगीतहरू ‘म यस्तो गीत गाँउछु...,’ ‘तिमी रोएको पल...’ जस्ता गीत पनि इतिहासका अजर-अमर गीत बन्नसक्ने क्षमता भएको दाबी गर्छन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment