- Get link
- X
- Other Apps
- मनाेज न्याैपाने फागुन २५, २०७६ | आइतबार | काठमाडौं

आज ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाँउदै गर्दा नेपाली कला क्षेत्रमा नारीको अस्तित्व, उपस्थिति र अवस्था कस्तो छ भन्ने प्रश्न पनि सान्दर्भिक हुन्छ।
१९७४ सालमा भोजपुरमा योगमायाले सुरु गरेको नारीवादी क्रान्तिको विम्ब शताब्दीपछि नेपाली कलाक्षेत्रमा देखिन्छ कि देखिँदैन भन्ने विषयले अर्थ राख्छ।
साहित्य र मनोरञ्जन क्षेत्रबाट समानतायुक्त समाज निर्माणमा नेपाली महिलाको देनलाई कम आँकलन गर्न त सकिन्न। २०३६-०३७ सालपछिको नारीवादी आन्दोलनका आयामहरूलाई केलाउने हो भने साहित्य, सङ्गीत अनि कलाक्षेत्रको भूमिका महत्त्वपूर्ण छ।
यति हुँदाहुँदै पनि पितृसतात्मक पुरुषवादी मनस्थितिमा जकडिएको समाजले सोचेजति रूप फेर्न भने सकेको छैन। २००४ सालमा चन्द्रकान्ता माथेमाले शिक्षाबिना महिला सशक्तिकरण सम्भव छैन भनेपछि सरकारी तहमा महिला विद्यालयको अवधारणा अघि सारिएको थियो। तर, आज आइपुग्दा भने सहरी परिवेशबाहिर नेपाली महिलाको अवस्था नाजुक देख्छिन्, अभिनेत्री लक्ष्मी बर्देवा।
०००
नेपाली रङ्गमञ्च, सर्टफिल्म, म्युजिक भिडियो हुँदै फिचर फिल्मसम्म आइपुग्दा अभिनेत्री लक्ष्मी बर्देवाको परिचय फराकिलो छ। कलाक्षेत्रमा महिलाको उपस्थिति र आजको अवस्थाबारे उनले खुलेर कुरा गरिन्।
लक्ष्मी एक महिला पात्र मात्र नभएर उनीसँग अन्य विविध पाटा पनि जोडिएका छन्, जसले वर्तमान नारीका पीडा अनि सिंगो मनोरञ्जन उद्योगका नारीको अवस्थाको प्रतिनिधित्व गर्छ।
कथित ‘तल्लो’ र ‘माथिल्लो जात’ भनिने परियार बुबा र ढकाल आमाको कोखबाट जन्मिएकी लक्ष्मी आफै सङ्घर्षको कथा हुन्।
जातीय विभेद मान्ने निरङ्कुश समाजको परिबन्धमा थियो, उनको परिवार। प्रेम विवाहपश्चात् उनकी आमा माइतीबाट बहिष्कृत थिइन्। त्यो बहिष्कार अनि सङ्घर्ष नै एक नारीका लागि अस्तित्वको खोजी थियो।
जातीय विभेद मान्ने निरङ्कुश समाजको परिबन्धमा थियो, उनको परिवार। प्रेम विवाहपश्चात् उनकी आमा माइतीबाट बहिष्कृत थिइन्। त्यो बहिष्कार अनि सङ्घर्ष नै एक नारीका लागि अस्तित्वको खोजी थियो।
‘खै, म आफू महिला हुँ जस्तो नै लाग्दैन, ‘बाइ नेचर’ महिलाका गुण म भित्र छन् तर व्यबहार पुरुष भन्दा कम छैन,’ उनी भन्छिन्, ‘किनकि मभित्र पनि आमाले गर्नुभएको सङ्घर्षका आयामहरू छचल्की रहन्छन्।’
‘मैले एसएलसीपछि मात्र मामाघरको परिवार देख्न पाएकी थिएँ,’ उनी बाल्यकालका तीता अनुभूति पोख्छिन्, जति बेला उनको बाल मस्तिष्कले मामाघरको चुलबुले दुनियाँ चाहन्थ्यो, पारिवारिक स्नेह चाहन्थ्यो।
मध्यम वर्गीय परिवार, जीविकोपार्जनका लागि काम गर्नै पर्ने अवस्था थियो। तीन दिदीबहिनीसहित ५ जनाको परिवार – एक हिसाबले सुखी र खुसी परिवार।
मध्यम वर्गीय परिवार, जीविकोपार्जनका लागि काम गर्नै पर्ने अवस्था थियो। तीन दिदीबहिनीसहित ५ जनाको परिवार – एक हिसाबले सुखी र खुसी परिवार।
तर, पुरुषप्रधान सामाजिक संरचनाले भने त्यो खुसी बेलाबेला धर्मराई रहन्थ्यो।
‘अभिनयका लागि मेरो प्रयास सङ्घर्ष मात्र होइन, मेरो रोजाइ हो, यहाँ म आनन्द पनि लिइरहेकी छु, सन्तुष्ट भइरहेकी छु। ‘प्रत्येकले आ–आफ्नो रोजाइअनुरूप काम गर्न पाउनुपर्छ, त्यो स्वतन्त्रता अनुभूत गर्न पाउनुपर्छ।’
‘म जेठी छोरी, १७ महिनापछि माहिली बहिनीको जन्म भयो, दुई छोरी भए पनि बुबाआमाले कहिल्यै छोराको अभाव महसुस गराउनु भएन,’ सामाजिक संस्कारमाथि कटाक्ष गर्दै लक्ष्मी भन्छिन्, ‘तर, समाजले हाम्रो परिवारिक सन्तुष्टिमाथि बेलामौका हस्तक्षेप गर्छ। ‘छोरा छैन?’ भन्ने प्रश्न चाहिँ सुनिन्छ। बाल्यकालमा त्यसको लागेको थिएन, तर आज आएर सामाजिक संरचना र सोचमाथि प्रश्न चाहिँ गर्न मन लाग्छ।’
‘आमाको माग छोराका लागि कहिल्यै थिएन, तर बुबालाई समाजको दबाब बढ्यो कि वा अरू केही, ८ वर्षको अन्तरमा कान्छी बहिनीको जन्म भयो,’ लक्ष्मी छोरी भएकोमा गौरव गर्दै भन्छिन्, ‘आज तीन दिदीबहिनी छौँ, खुसी छौँ। यहाँसम्म कि तिहारमा पनि एकअर्कामा टीका–माला लगाएर खुसी साटासाट गर्छौँ।’
योगमायाले अन्तरजातीय विवाहमा विशेषतः महिला नै विभेदमा पर्नेविरुद्ध उठाएको आवाजको निरन्तरतामा लक्ष्मी स्वयं उदाहरण हुन्। उनले करिब एक वर्षअघि कलाकार जीवन भट्टराईसँग लगनगाँठो कसिन्।
तर, झन्डै २५ वर्षअघि आमाले सुरु गरेको अन्तरजातीय विवाहको क्रान्तिको परिणाम आज पनि उनको जीवनमा ज्यूँका त्यूँ छ। आखिर समाजले त महिलालाई नै विभेदमा पारेको छ, अझै पनि उनलाई भट्टराई परिवारले स्वीकार गरिसकेको अवस्था छैन।
‘यो परिवर्तनको संघार हो, हिजो बाआमालाई जति गाह्रो थियो त्यति गाह्रो मलाई छैन र आँउदो पुस्तामा यो असहजता अझै कम हुँदै जानेछ,’ लक्ष्मी आशावादी छिन्। उनी थप्छिन्, ‘यो सबै शिक्षा र चेतनामा भर पर्ने कुरा हो, विश्वासमा अडिने विषय हो। भलै आज मलाई उहाँहरूले स्वीकार गर्नुभएको छैन, तर केही समयमा त गर्नु हुन्छ नि, किनकि उहाँहरूले मलाई बुझ्नुहुन्छ।’
‘फेरी पनि क्रान्तिकारी शैलीमा परिवर्तन हुन असम्भवजस्तै छ। यो त समयक्रमअनुरूप परिवर्तन हुँदै जान्छ र भइरहको जस्तो लाग्छ,’ उनी परिवर्तन उन्मुख समाजको विम्ब प्रष्ट्याउँछिन्।
‘बोलीले मात्र हुन्न, हरेक काम व्यावहारिक हुनुपर्छ। हरेक क्षेत्रमा वैचारिक बहस हुन्छ, सिद्धान्तमा बहस हुन्छ, उनी भन्छिन्, ‘तर सिद्धान्त र व्यवहारबीच ठूलो खाडल छ, जसलाई पुर्नु जरुरी छ।’
लैङ्गिक हिसाबले समानताका लागि उनको सहज सुझाव छ, ‘हरेकले एक–अर्काको अस्तित्व स्वीकार गर्ने हो भने विवाह मात्र होइन, यहाँ हरेक कुरामा समावेशिता देखिन्छ। अनि महिला संलग्नता र नेतृत्व दह्रो बन्छ।’
०००
विद्यालय तहबाटै अध्ययनमा अब्बल लक्ष्मी नाच्न–गाउन सक्दिन थिइन्। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा नाटक नै उनको रोजाइ हुन्थ्यो। तर, कहिल्यै सोचेकी थिइनन् म कलाकार हुन्छु भनेर।
‘म विद्यालयमा नाटक लेख्ने, निर्देशन गर्ने अनि अभिनय पनि गर्थेँ,’ पेशा प्रति सन्तुष्ट लक्ष्मी अभिनय यात्राको स्मृति सुनाउँछिन्, ‘आज अभिनयबाटै मेरो परिचय बनेको छ। तर, यहाँ सम्मको यात्रा भने स्मरणीय छ।’

‘हाम्रो समय भनेको एसएलसीपछि आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने थियो,’ व्यावसायिक जीवनका सुरुका सङ्घर्ष उनी सम्झिन्छिन्, ‘त्यसका लागि एनजिओ, आइएनजिओ, स्कुललगायत धेरै क्षेत्रमा काम गरेँ, तर कतै पनि लामो समय बसिनँ, सन्तुष्ट पनि बन्न सकिनँ।’
उनी थप्छिन्, ‘भन्छन् नि आफू जे बन्नु छ, कर्मले त्यतै डोर्याउँछ, मलाई पनि त्यस्तै अनुभव छ। प्लस–टु पढ्दै गर्दा साथीमार्फत् अभिनय क्षेत्रकै मान्छेसँग ठोक्किन पुगेँ।’
उनको पहिलो ब्रेक थियो, म्युजिक भिडियोमा सानो भूमिका। अनि त्यसलाई पछ्यायो, फिल्म ‘माला’को अकस्मात अफरले।
पहिलोपटक म्युजिक भिडियोमार्फत् स्क्रिनमा देखिँदा पनि बुबाबाट चित्तबुझ्दो प्रतिक्रिया उनले पाइनन्। त्यसले अभिनय यात्रामा उनलाई केही विचलित त बनायो, सोचिन्, ‘मेरा लागि अभिनय होइन रहेछ, सोचेँ फिल्म नै गर्दिनँ।’
तर आमाले उनको हौसला बढाइन्। लक्ष्मी सोच्छिन्, त्यो समय एकजना बुबाले छोरीको काममा प्रतिक्रिया नदिएको होइन, बरु समाजले अभिनय क्षेत्रमा महिलालाई स्वीकार गर्न नसकेको हो।
‘स्क्रिनका गतिविधिलाई वास्तविकतासँग तुलना गर्ने प्रवृत्तिले महिला कलाकारलाई यसै पनि नराम्रो दृष्टिकोणले हेरिन्छ, उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘त्यो केवल कला हो, वास्तविकताभन्दा पृथक् भन्ने बुझाइ नै नभएर कति बुबाले अभिनय पेशा स्वीकार्दैनन्।’
‘रिल’ र ‘रियल’लाई महसुस गर्दै एक-अर्काको अस्तित्व स्वीकार्ने हो भने प्रत्येक बुबाले छोराछोरीको कामप्रति गर्व गर्ने उनको धारणा छ।
उनलाई अभिनयतर्फै डोर्याउने फिल्म हो ‘माला’। यसले उनको अभिनय कलाप्रति अभिलाषा बढायो र उनी अभिनय तिखार्न थिएटर घरको खोजीमा निस्किइन्।
उनले नाटक ‘उम्बुग्लयाण्डको मूठभेठ’का लागि स्वयंसेवक र कलाकार भएर काम गरिन्। त्यसपछि अभिनय यात्रामा निरन्तरता होला भन्ने सोचेकी उनी लामो समय कामविहीन भइन्।
अवसर खोजीकै क्रममा नाट्यकर्मी राजन खतिवडाले उनलाई मण्डलामा पढ्ने वातावण मिलाइदिए। यससँगै भोजपुरी नाटक ‘माथा पञ्चर’मा उनलाई आमा पात्रको भूमिका थमाइयो।
यो चुनौती लक्ष्मीको करियरमा यु-टर्न हुन पुग्यो। यसैबाट उनको अभिनयले प्रशंसा पायो, अनि उनी बिस्तारै सर्टफिल्म, म्युजिक भिडियो हुँदै फिचर फिल्मसम्म पुगिन्।
आज, राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको नेपाली फिचर फिल्म ‘बुलबुल’मा सशक्त अभिनय गरेर दर्शकमाझ चिनिँदा उनी दङ्ग छिन्। आफैँ नारी, अनि नारी पात्रलाई यसरी सशक्त रूपमा स्थापित गर्नु र भूमिकामाथि न्याय गर्नु आफैमा सङ्घर्ष हो। तर, उनी त्यसलाई सङ्घर्ष भन्न चाहन्नन्।
‘अभिनयका लागि मेरो प्रयास सङ्घर्ष मात्र होइन, मेरो रोजाइ हो, यहाँ म आनन्द पनि लिइरहेकी छु, सन्तुष्ट भइरहेकी छु,’ उनी थप्छिन्, ‘प्रत्येकले आ–आफ्नो रोजाइअनुरूप काम गर्न पाउनुपर्छ, त्यो स्वतन्त्रता अनुभूत गर्न पाउनुपर्छ।’
यता सन्तुष्टिबारे भन्दा उनी असन्तुष्टि पनि खुलाउँछिन्। बेलाबेला पुरुषवादी सोचले कलाक्षेत्रमा महिलालाई हेर्ने चश्मा खोल्नुपर्ने उनको राय छ। महिला कलाकारलाई ‘महिला’ भएकै कारण कम पारिश्रमिक दिने प्रवृत्तिमाथि उनको असन्तुष्टि छ।
‘मनोरञ्जन क्षेत्रका महिला समाजको चश्माले देखाएझैँ गलत हुँदैनन्, त्यो चश्मा उतानुपर्छ र महिला समान नजरमा बुझ्नुपर्छ,’ उनी थप्छिन्, ‘हाम्रो समाजको आँखाले महिला कलाकारको अस्तित्वलाई मान्नुपर्छ, तब बल्ल यस क्षेत्रमा महिला संलग्नता अर्थपूर्ण र बलियो हुन्छ, अनि बल्ल समानता कायम हुन्छ।’
पारिश्रमिकमा महिलामाथि भेदभाव उनी आफैँले भोगेकी छिन्। यसप्रति असन्तुष्टि जनाउँदै उनी भन्छिन्, ‘मुख्य पात्रमा म छु र सहायक पात्रमा पुरुष छ भने पनि पुरुषले नै बढी पारिश्रमिक पाइरहेको हुन्छ।’
‘यो विषय सधैँ एकनासको चाहिँ हुँदैन,’ उनी आशावादी छिन्, ‘जब महिला आफै अब्बल छ र कथाका लागि अपरिहार्य छ भने निर्माताले उसलाई न्याय गरेका उदाहरण पनि छन्।’ उनी थप्छिन्, ‘यसको उदाहरण म आफै भएकी छु। आजभोलि मलाई पारिश्रमिकमा ठगेको महसुस हुन छोडेको छ। यसो भन्दैमा सबैमा एकनास भने पक्कै छैन।’
पारिश्रमिकमा महिला ठगिइने कारण बाहिर आउन जरुरी थान्छिन् उनी। त्यसका लागि महिलाभित्र स्वयं आफ्नो कामप्रतिको विश्वास र आत्मबल बलियो हुनुपर्ने उनको आशय छ।
‘मलाई काम चाहियो भनेर पारिश्रमिक पाउनु र अभिनय राम्रो भई दर्शकको मागबाट काम पाउनुमा ठूलो अन्तर छ,’ उनी भन्छिन्, ‘त्यसैले आफैँ कामका लागि योग्य भएमा र न्यायका लागि बोल्न सके पारिश्रमिकमा एकरूपता आउन सक्छ।’
नारीप्रधान पृष्ठभूमिबाट अघि बढेको नेपाली फिल्म उद्योगमा महिलाको उपस्थिति उल्लेख्य त छ। तर अझै उनीहरूको अवस्था भने सुदृढ हुन सकेको छैन।
आमा, माइतीघर, सिन्दूर, कन्यादान, चाँदनीलगायत थुप्र्रै नारीप्रधान फिल्म दिएको नेपाली फिल्म उद्योगमा महिला कलाकारको निरन्तरताका लागि महिलाकै भूमिका महत्त्वपूर्ण ठान्छिन्, लक्ष्मी।
'प्रत्येक मानिसको अस्तित्वको बोध हुनुपर्छ, तब मात्र महिला र पुरुषलाई हेर्ने चश्मा एक हुनसक्छ। महिला र पुरुषलाई तौलने तराजुका दुईपाटा तब मात्र समान हुन सक्छ।’
‘समयअनुसार परिवर्तन हुन्छ, तर पुरुषझैँ महिला कलाकारको स्थायित्व नहुनुले चाँहि कता–कता केही कमजोरी छ कि जस्तो लाग्छ,’ लक्ष्मी थप्छिन्, ‘हामी कलाकार हुने कि, हिरोइन हुने भन्ने छनोटले अर्थ राख्छ होला। जब आँखा चिम्लेर हिरोइन होइन, कलाकार भइन्छ तब त्यो पात्र जीवन्त रहन्छ। हिरोइन अर्थात् ग्ल्यामरको आयु त पक्कै अल्पकालीन नै होला!’
नारी सशक्तीकरण र समानताका लागि अझै बलियो स्क्रिप्टको खाँचो देख्छिन्, लक्ष्मी। ‘हामी केन्द्रमा बसेर नारी सशक्तीकरण अनि समानताका कुरा गर्छाैं भने त्यो केवल आँखीझ्यालमा बसेर संसार सुन्दर छ भन्नुजस्तै हो।’ उनी केन्द्रमा बसेर देशका समग्र नारीहरूको प्रतिनिधित्व गर्छु भन्न रुचाउँदिनन्।
‘हिजो काठमाडौंमा जन्मिएर, हुर्किएर आज सबै नारीको प्रतिनिधित्व गर्दै बोल्न धेरै गाह्रो कुरा हो। यो मैले महसुस गरेकी छु,’ गम्भीर भावमा उनी व्यक्त गर्छिन्, ‘कामको सिलसिलामा टाढा–टाढाका गाउँमा पुग्दा होस् वा कुनै संस्थामा काम गर्दा केही महिलासँग साक्षात्कारमा, यहाँ सतही कुरा मात्र हुन्छन्। यसले आजको पुस्तालाई गिज्याइरहेको जस्तो लाग्छ।’
छायाङ्कनका लागि नेपालगञ्ज, खोटाङ र तराईका जिल्लामा पुग्दा उनी त्यहाँको दयनीय अवस्था देखेर दुःखी हुन्छिन्। ‘महिलाका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्याले केन्द्रलाई गिज्याइरहेको आभास हुन्छ।’
लक्ष्मीको अनुहारमा काठमाडौंको स्थानीय हुनुमा कुनै गर्व छैन, बरु ती टाढा–टाढा गाउँका महिला, बालबालिका शिक्षा र स्वास्थ्यबाट वञ्चित भएकाप्रति करुणा छ।
ती विषयलाई कला, साहित्य क्षेत्रबाट केही टेवा पुगेता पनि त्यो अपुग भएको लक्ष्मीको ठम्याइ छ। ‘सर्टफिल्म वा नाटक÷सडक नाटकमा यस्ता विषय उठान भए पनि ती पर्याप्त छैनन्, क्षणिकजस्तो मात्र लाग्छन्,’ उनी भन्छिन्, ‘यस्ता विषयलाई फिचर फिल्मसम्म ल्याउन सके अथवा दुर्गमका हाम्रा मौलिक कथालाई मेनस्ट्रिम बनाउन सके त्यसले अर्थ राख्ने थियो कि!’
फिल्म क्षेत्रमा कन्टेन्ट अभावको बहस चलिरहँदा स्क्रिप्ट राइटरदेखि दर्शक सबै त्यसको भागीदार देख्छिन् लक्ष्मी। ‘हामी हाम्रा कथाप्रति जिम्मेवार नै छैनौँ जस्तो लाग्छ- न त दर्शक जिम्मेवार छन् न स्क्रिप्ट राइटर।’
चन्द्रकान्ता माथेमा नारी क्रान्तिका लागि शिक्षा आवश्यक ठान्थिन्, त्यस्तै विचार लक्ष्मीको पनि छ। ‘गीत–सङ्गीत, सिनेमा या नाटक होस्, हरेक माध्यमबाट समाज बोल्नुपर्छ र त्यसका पात्रले समाजकै प्रतिनित्व गर्नुपर्छ,’ उनी जोड दिन्छिन्, ‘राज्य तवरबाट मात्र होइन, ‘आर्ट’मा पनि विविधताको खोजी, अध्ययनअनुसन्धान हुनुपर्छ, त्यहीअनुरूप कथा, पटकथा र अनि स्क्रिनिङ हुनुपर्छ। प्रत्येक मानिसको अस्तित्वको बोध हुनुपर्छ, तब मात्र महिला र पुरुषलाई हेर्ने चश्मा एक हुनसक्छ। महिला र पुरुषलाई तौलने तराजुका दुईपाटा तब मात्र समान हुन सक्छ।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment