परिवर्तनले समाजलाई पर्खँदैन, भएरै छाड्छ : राधा पौडेल

  • मनाेज न्याैपाने फागुन २५, २०७६ | आइतबार | काठमाडौं

‘म आफूले आफैलाई असामान्य मान्छेका रूपमा हेर्छु, तैपनि मेरा जीवनका दृष्टान्तहरू सोझोझैं लाग्छन्, एकोहोरोझैं लाग्छ,’ राधा आफ्नो विलक्षणयुक्त प्रतिभाको सदुपयोग गर्न नसक्नुप्रति पछुतो मान्छिन्, ‘पुस्तकमा लेखेका कुरामात्र हाम्रो आधार थिए। शिक्षकले दिएको आधार लाइन नै सर्वोपरि हो भन्ने बुझाइ थियो। तर त्यस्तो होइन रहेछ। त्यो बुझाई गलत रहेछ।’
इन्टरनेट र प्रविधिले विश्व ब्रह्माण्डका हरेक गतिविधिलाई गतिशीलता बनाइदिएको आभास हुन्छ उनीमा।
‘सामाजिक सञ्जालमा हेर्नुहोस् त ५ वर्ष, ७ वर्ष अनि १२ वर्षका बालिकाहरू गायनमा विलक्षण प्रतिभायुक्त पस्किरहेका छन्। यो एउटा गतिशील समयको उपज हो। यहाँ न उमेरको हदबन्दी छ, न अनुभवको।
यसैगरी आजको गतिशीलतालाई पछ्याउन सके परिवर्तनका प्रशस्त आधार छन्,’ राधा उदाहरण पेस गर्छिन्।
‘नानो–सेकेन्डमा चलिरहेको समयको रफ्तार हेर्छु, परिवर्तनका आधार देख्छु। लाग्छ हामी त ढिलो भइसकेछौं। अब, परिवर्तन हामीबाटै हुनुपर्छ, हामीले नै गर्नुपर्छ,’ उनी थप्छिन्, ‘हामी आफैले परिवर्तनको आधार तयार नगरे अबको दस वर्षपछि यो रोकेर पनि रोकिन्न। राजनीतिक, आर्थिक वा सामाजिक कुनै पक्षको मूल्याङ्कन हुन्छ भने त्यो कार्यसम्पादन र परिणामका आधारमा हुन्छ। त्यहाँ कुनै सम्भ्रान्त व्यक्तिवाद वा नातावादको मूल्याङ्कन हुनेछैन।’
लेखक, महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता राधा पौडेल, जो वर्षौंदेखि ‘मर्यादित महिनावारी’को अभियानमा छिन्। महिला अधिकारसँगै विकृतरूपमा रहेको महिनावारीका कथित नियमहरू सदाका लागि मेट्न उनले आफ्नो जीवन सर्मपण गरेकी छन्।

परिवर्तनले कुनै आधार कुरेर बस्दैन, गतिशील समयसँगै परिवर्तनको तुफान आँउछ। लाग्छ, दस वर्षमा हाम्रो समाजले पक्कै कोल्टो फेर्नेछ।’



...
चितवनमा विद्यालय तहसम्मको अध्ययन सकेर पोखरमा स्टाफ नर्स पढेकी राधाले सुरुमा चितवनकै भरतपुर अस्पतालमा सेवा गरिन्। पछि जागिर छाडेर जनशक्ति विकास व्यवस्थापन अधिकृतका रूपमा उनी जुम्ला पुगिन्।
१० वर्षे जनयुद्ध जारी थियो। बम र बारुदको मझधारमा थियो, राधाको जीवन। ‘परिस्थिति सहज पटक्कै थिएन। गाँउहरू द्वन्द्वको चपेटामा रुमलिरहेका थिए। विकट जिल्ला प्रायः कफ्र्युमा व्यतीत थिए। त्यही समय म जुम्ला पुगेँ,’ उनी पुराना दिन सम्झिछिन्, ‘बिजुली, बाटो फोन केही थिएन। अस्पताल थियो, सेवा थिएन। १-२ जना नर्स र डाक्टर थिए, तर पद्धति थिएन। यहाँसम्म कि जिल्ला अस्पताल जुम्लामा एउटा कागजपत्रको व्यवस्थासम्म थिएन।’
उनलाई उराठलाग्दो परिस्थितिले बिझायो। ‘सोचेँ, म यस्तो ठाँउमा पुगेकी छु, जहाँ मैले धेरै गर्नु छ। यहाँका महिला तथा आम मानिसको स्वास्थ्य सेवामा सुधार ल्याउनु छ,’ उनी सुनाउँदै गइन्, ‘अस्पतालमा काम अत्यन्त सहज ढंगमा चल्दै थियो, जसले जनस्वास्थ्य क्षेत्रमा सेवा नभएर कर्मचारीलाई जागिर मात्र दिइएको थियो।’
राधाले दिनरात नभनी काम गरिन् । ‘आफ्नै पहलमा, एउटा कोचको रूपमा रहेर धेरै काम गरेँ। कागजपत्र व्यवस्थापन, मानव संशाधन व्यवस्थापनदेखि अस्पतालमा चौबिसै घण्टाको सेवासहित कर्णालीमै पहिलोपटक अप्रेसन सेवासमेत विस्तार गरियो।’
महिला र जनस्वास्थका क्षेत्रमा अझ धेरै काम गरिन् उनले । ‘परिवर्तनको खाँचो थियो त्यहाँ। तर भाषा, परिवेश अनि देशको विसम परिस्थिति सबै बाधक थिए। तथापि पानी–पँधेरोदेखि विद्यालय, सभा–सेमिनार सबै परिवर्तनको सम्बाहकका रूपमा लिइरहेँ। अनेकौं उपाय रचिरहेँ,’ उनी सुनाउँछिन्।
२०५८, ०५९ र ०६० सालमा उनले जुम्लाको जिल्ला अस्पतालमा धेरैथोक गरिन्। जसले कर्णालीमा परिवर्तनको नयाँ आयाम थपियो। प्रजनन स्वास्थ उपचारको अभावमा अकालमै ज्यान गुमाउने महिलादेखि तुच्छ मानिने महिनावारीको समस्या अझ ज्यूँका त्यूँ थिए। त्यसका लागि उनले घरमै सुत्केरी गराउनेदेखि छाउगोठ तथा छाउपडीविरुद्ध अभियान चलाइन्।
जुम्लामा मात्र नभएर देशैभर रहेको छाउपडी प्रथा उन्मूलनका लागि उनको प्रयास निरन्तर चलिरह्यो। आज पनि चलिरहेको छ ‘मर्यादित महिनावारी’को अभियान।
राधाले २०१४ बाट जुम्ला र कालिकोटमा पुनः प्रयोग गर्न मिल्ने ‘सेनेटरी प्याड’ प्रयोग तथा निमार्णको तालिम दिइन्। पछि सन् २०१८ मा जैविक सेनेटरी प्याड फ्याक्ट्री सञ्चालन गरिन्, जसले महिलाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्छ।
‘नेपालमा महिनावारीको इतिहासलाई हेर्दा धेरै काम भएकोजस्तो लाग्छ। सुरुवात भएको छ, तर तात्त्विक निष्कर्षमा पुग्नचाहिँ अझै धेरै गर्नु छ।’
...
‘समाजले आमालाई गिज्याई रहन्थ्यो। कारण हामी पाँच बहिनीको जन्म हुन्जेल छोराको जन्म भएकै थिएन। छोरा भएन भने त स्वर्ग जान पाइँदैन। छोराले दागबत्ती दिएन भने नर्क गइन्छ रे,’ राधाको साढे पाँच वर्षको बाल मस्तिष्कले सुनेको थियो, ‘यति मात्र होइन, सात वर्षको उमेरमा आमा महिनावारी हुँदा बगेको रातो रगतले म विचलित थिएँ। योसँगै अरुभन्दा टाढा गोठमा बस्नुपर्ने, अरुलाई छुनै नहुनेलगायतका विषयले मलाई घोचिरहन्थ्यो। यसैको नतिजा हुनपर्छ म आज अभियन्ता भएर बाँच्न सकेकी छु।’
यही सु–कर्मले राधालाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो। उनले युनिभर्सिटी अफ सान डिएगोबाट ‘वुमन पिसमेकर अवार्ड, युनाइटेड नेसन डिभलपमेन्टबाट एन–पिस–अवार्ड’समेत प्राप्त गरिन्। केही दिन अघि मात्र उनले फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका तर्फबाट अल्मुनाई अचिभ्मेन्ट अवार्डसमेत प्राप्त गरिसकेकी छिन्।
समाजसेवा, सामाजिक अभियानमा मात्र होइन, साहित्यमा पनि उनको उपस्थिति बलियो छ। २०७१ सालको मदन पुरस्कार विजेता ‘खलङ्गामा हमला’, ‘अपवित्र रगत’जस्ता कृतिबाट नारी आवाजलाई बुलन्द गर्ने शक्ति उनले चलाउने कलममा पनि प्रत्याभूत गर्न सकिन्छ।
आज विश्वले नारीहरूका लागि ‘इच फर इक्वेल’को विगुल फुकिरहँदा परिवर्तनको सम्बाहक बनेर उभिएको एउटा पात्र राधा भने नेपाली समाज अनि काठमाडौंबाट उति खुसी छैनन्।
राजनीतिक, आर्थिक, सामाजिक सबै परिवर्तनको आधार ‘मर्यादित महिनावारी’ नै भएको उनको तर्क छ। जबसम्म समाजले यसलाई स्वीकार गर्न सक्दैन, तबसम्म अन्य पक्ष पनि ओझेलमै रहने उनी बताउँछिन्।
radha 1‘नेपालमा महिनावारीको इतिहासलाई हेर्दा धेरै काम भएकोजस्तो लाग्छ। सुरुवात भएको छ, तर तात्त्विक निष्कर्षमा पुग्नचाहिँ अझै धेरै गर्नु छ,’ उनी आशावादी भावमा भन्छिन्, ‘बच्चादेखिको संघर्ष हेर्दा एक्लै मुहसुस हुन्थ्यो, तर आज सरकारले पनि यस क्षेत्रमा जिम्मेवारी लिएको छ। यसले एउटा माहोल बनेको छ। अब यो अभियान मर्दैन, परिवर्तन भएरै छाड्छ।’
समाजले महिला अनि महिनावारीलाई हेर्ने चश्मा खोल्नुपर्ने धारणा उनको छ। ‘हरेक व्यक्ति, परिवार अनि हजुरबुबा–हजुरआमा धामी–झाँक्रीका दृष्टिबाट हेर्दा यो सुरुवातजस्तो लाग्छ। उनीहरूको चश्मा पुरातन नै छ। तर, यो चश्मा देशका प्रत्येक नागरिकबाट खोल्ने हो भने मर्यादित महिनावारीको अभियान पूरा हुन्छ।’
‘हाम्रो समाजको स्वरूप फेरिएको छ, तर नियति उस्तै छ। महिनावारीका समय कोही महिला छाउगोठमा छन्, कोही महलभित्रै कार्पेट पल्टाएर बस्छन्,’ उनी भन्छिन्, ‘हामी जुम्ला, हुम्लालाई दोष लगाउँछौं, तर छुई प्रथा काठमाडौंका कोठाकोठामा छ। जबसम्म केन्द्रले यसलाई सम्बोधन गर्दैन, जबसम्म मनबाट महिनावारी मर्यादित बन्दैन, यसले सोचेजति परिवर्तन पनि पाउँदैन।’
महिलाका विशेष प्राथमिकता र आवश्यकता सम्बन्धमा नेपाली राजनीति र नारी क्रान्ति पनि बीच बाटोमै अल्मलिएको उनको बुझाइ छ। राधाका अनुसार २००७ साल पछिको क्रान्ति केवल राजनीति केन्द्रित बनिदियो र त्यसले महिलाका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ भन्ने ठानेन।
‘राजीनितक परिवर्तन महिलाहरूका लागि पनि हो। तर, यो पुग्दो हुँदै होइन। जति पनि महिलाहरू परिवर्तनका लागि राजनीतिमा आए, ती सबै राजनीति केन्द्रित भए,’ उनी थप्छिन्, ‘यो क्रम ०४६-०४७ मा आएर ध्रुवीकरण भयो।’
‘राजनीति गर्ने महिलाहरूको एउटा झुण्ड एनजिओतर्फ आयो। त्यो पनि आयातित कल्याणकारी आयाम बोकेर आयो। समुदायको आवश्यकता पहिचान नगरिकनै ‘च्यारिटी एप्रोच’मा व्यावहारिक दृष्टिकोण पस्किन्छिन् राधा, ‘यहाँ गैरसरकारी संस्थाले परिवर्तनको आधार तयार नगरेको भन्न मिल्दैन। तर, तिनीहरू रूपान्तरणमुखी हुन सकेनन्। तिनीहरूको प्रकृति ढुलमुल–ढुलमुलमै रहिरह्यो।’
राधा समयक्रमअनुसार महिला आवाजको फेहरिस्त पल्टाउँछिन्, ‘जनयुद्धले महिलाबारे केही गर्छ कि भन्ने भान भयो। परिवर्तनको संकेत पनि गर्‍यो। बन्दुक बोकेर युद्धको मैदानमा महिलाको उपस्थिति भयो। महिला आफैमा परवर्तनको आधार हुन्, चुलो–चौकामा मात्र होइन भन्ने सन्देश दिन खोजियो। यहाँ कुनै विदेशी महिला शक्तिका बारेमा पुस्तक पढ्नु परेन। आफ्नै परिवारका सदस्यमा त्यो शक्ति छर्लङ्ग देखियो।’
यस प्रकारका गतिविधिले परिवर्तनको आधार तयार गर्न नसक्दा उनी दुःखी छिन्। ‘सबै कुरा एक प्रकारको लोभ देखाउने प्रवृत्तिका रूपमा मात्र देखियो। जनयुद्धपछिको अवस्थाले पुनः महिलाको प्रयोग केवल प्रयोगका लागि मात्र देखियो।’

‘जनयुद्धमा बन्दुक बोकाएर उपस्थिति गराएझैँ आजको परिवर्तनले साँच्चै गुणात्मक नतिजा दिन्छ कि दिँदैन भन्ने डर छ। सिद्धान्त र व्यवहारमा ठूलो खाडल छ, यो पुर्न अपरिहार्य छ।’ 
‘आज आएर देशका स्थानीय, प्रदेश तथा संघीय सरकारमा महिलाको उपस्थिति केही आशलाग्दो देखाएको छ,’ परिवर्तनको आधारप्रति उनी आशावादी छिन्, तर विश्वस्त छैनन् । ‘आधार तयार हुँदै छ। तर डर यो छ कि, यी अधार पिल्लरहरू दीगो हुन्छन् कि हुँदैनन्? महिला शक्ति र सशक्तीकरण प्रथमिकतामा रहिरहन्छ वा रहँदैन?’
‘जनयुद्धमा बन्दुक बोकाएर उपस्थिति गराएझैँ आजको परिवर्तनले साँच्चै गुणात्मक नतिजा दिन्छ कि दिँदैन भन्ने डर छ। सिद्धान्त र व्यवहारमा ठूलो खाडल छ, यो पुर्न अपरिहार्य छ,’ राधा मुद्दामा रहेर समय र परिस्थितिलाई सदुपयोग गर्न सुझाउँछिन्,‘ संघीयताले सिकाइका अवसर दिएको छ, अभ्यास जारी छ। तर अझै गर्ने ठाउँ धेरै छन्।’
महिला प्रजनन् स्वास्थ्य, महिनावारी तथा महिला समानता यो पूर्ण सम्भव छ। तर, यहाँ हरेक मान्छे महिलाका लागि बोल्न डराउँछन्,’ उनी भन्छिन्।
‘गोठमा बस्नु र एउटै कोठामा कार्पेट पल्टाएर वा अर्को कोठामा छुट्टै बस्नु उस्तै हो। तरिका फरक भए पनि, अभ्यास त एउटै हो,’ उनलाई विश्वास छ परिवर्तन पक्कै हुन्छ।
हामी न्यानो सेकेण्डका आधारमा बाँचिरहेका छौं, यो असहज छैन। परिवर्तनले कुनै आधार कुरेर बस्दैन, त्यसैले फेरि भन्छु, गतिशील समयसँगै परिवर्तनको तुफान आँउछ। लाग्छ, दस वर्षमा हाम्रो समाजले पक्कै कोल्टो फेर्नेछ।’

Comments