फिल्म ‘साङ्लो’ गीत विवाद, संगीतकारले स्वीकारे गल्ती

  • मनोज न्यौपाने माघ १९, २०७६ | आइतबार | काठमाडौं


विराज भट्टको पहिलो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’को गीत विवामा तानिएको छ।
केही दिनअघि सार्वजनिक गरिएको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलेको गीतमा समावेश शब्द चोरिएको आरोप लागेको छ।
रचनाकार सुदिप भूपाल सिंहले गीतमा आफ्नो शब्द प्रयोग गरिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको जानकारी दिए।
‘मेरो रचनामा तयार गीतका शब्द तोडमोड गरेर नयाँ गीत तयार गरियो। त्यो बेला सम्ममा मलाई कुनै जानकारी गराइएन। मेरो गीतको मर्म र भावलाई मारेर त्यसो गरिनु मेरो चित्त दुखाइको विषय भयो,’ भुपाल सिंहले कानुनी उपचार खोज्नुको कारण खुलाए।
यता गीत सार्वजनिक गरिएको समय निशान भट्टराईको शब्द भनेर जानकारी गराइएको थियो। तर उक्त शब्द आफ्नो नभएको गायक भट्टराईको भनाइ छ।
गीतको रचनाकारमा निशान भट्टराईको नाम लेखिनु प्राविधिक गल्ती भएको फिल्म निर्देशक तथा कलाकार विराज स्वयंले पनि स्वीकार गरेका छन्।
नेपालन्युजसँग कुरा गर्दै अभिनेता विराजले भने, ‘फिल्मलाई एउटा राम्रो गीत चाहिएको थियो, त्यसैले मैले सुरेश अधिकारी दाइलाई जिम्मा दिएँ। उहाँले आफ्नै शब्द संगीत भनेर गीत दिनुभयो र हामीले भिडियो तयार गरेर सार्वजनिक गरेका हौं।’
गीत विवाद नआउन्जेल विराजले गीतको शब्द सुरेश अधिकारीकै हो भनेर पत्याएका रहेछन्। तर जब गीत विवादित बन्यो, विराज आफै तनावमा छन्।
‘सुरेश दाइले मलाई गीत दिनुभयो, अहिले विवादमा तानियो। यो कुन नियतले विवाद झिकियो, थाहा छैन। तर फिल्म निमार्ण युनिटको कुनै गल्ती छैन,’ विराजले थपे, ‘फिल्म प्रदर्शनको केही दिन बाँकी हुँदा यस्तो किन गरियो यो त गर्नेलाई थाहा होला तर सुरेश दाइले किन अरूको रचना आफ्नो भन्नुभयो त्यो उहाँहरू आफैले जान्ने कुरा हो।’
यता रचनाकार तथा संगीतकार सुरेश अधिकारीले पनि गीत सार्वजनिक गर्ने क्रममा त्रुटी भएको स्वीकार गरेका छन्।
‘गीत बनाउने क्रममा भूपालजी र मेरो बीचमा सम्पर्क हुन सकेन र ‘मिसकम्युनिकेसन’को मामिला आइपरेको हो,’ उनले गल्ती स्वीकार गर्दै भने ‘१० वर्षदेखि स्रष्टाको अधिकारका लागि लडेको मान्छे हुँ। भूपालजीले न्याय माग्नु स्वभाविक हो। म उहाँकै पक्षमा छु। र, गीतको वास्तविक रचनाकार पनि उहाँ नै हो त्यसैले आपसी छलफलमा उहाँको माग सम्बोधन गर्न म आफै पनि सकारात्मक छु।’

Comments