- Get link
- X
- Other Apps
- मनोज न्यौपाने माघ २४, २०७६ | शुक्रबार | काठमाडौं

फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनपछि नेपाली फिल्म बजार एक हिसाबले सुस्ताएको छ। बीच–बीचमा केही नेपाली फिल्म प्रदर्शनमा आए पनि दर्शकको मन जित्न सकेन। ती फिल्महरु बक्सअफिसमा प्रायः असफल भए। तर, विदेशी फिल्मको वर्चस्व भने कायमै रह्यो।
यसैबीच आजबाट आश लाग्दा दुई फिल्म प्रदर्शनमा आएका छन्। फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’।
फरक–फरक 'जनरा'मा बनेको फिल्मले एउटै प्रदर्शन मिति तय गरेर दर्शकमाझ आँउदा फेरि दुर्घटनामा पर्नेहुन् कि, भन्ने फिल्म विश्लेषकहरू बताउँदै आएका छन्।
तथापि स्वयं फिल्मका निर्माता, निर्देशक भने नेपाली फिल्मको प्रतिस्पर्धा नेपालीसँग नभइ विदेशीसँग मात्र रहेको बताउँछन्।
फिल्म ‘साङ्लो’का निर्माता विराज भन्छन्, ‘दुई नेपाली फिल्म एकसाथ आउनु नराम्रो होइन। फरक जनराका दर्शक फरक-फरक छन्। हाम्रो प्रतिस्पर्धा विदेशी फिल्मसँग हो।'
यता फिल्म ‘सेल्फी किङ’का निर्देशक विशाल सापकाटो पनि विराजको तर्कमा सहमत देखिन्छन्। तर, नेपाली फिल्मलाई चासो राख्ने सरोकारवाला भने एकैदिन राम्रा चलचित्र प्रदर्शनमा आउनुलाई राम्रो संकेत मान्दैनन्।
निर्माता तथा निर्देशक तुलसी घिमेरे भन्छन्, ‘राम्रा र अपेक्षित फिल्म एकै दिन प्रदर्शनमा ल्याउनु हुँदैन। यो जानाजान गरिएको गल्तीबाहेक अरू केही होइन।’ यस्तो गर्दा दर्शक भुलभुलैयामा पर्ने उनको तर्क छ। 'दुई फिल्म पदर्शनमा आउँदा दर्शकहरु फिल्म रोजेर हलमा पुग्छन्। यसले संख्यात्मक दर्शक घटाउनुको साथै माउथ पव्लिसिटीमा पनि असर पुग्छ,’ उनी थप्छन्।
फिल्मकर्मी घिमिरेले भनझैँ यसअघिका उदाहरण थुप्रै छन्, जसले एउटै प्रदर्शन मिति तय गर्दा दुर्घटना व्यहोरेका छन्।
यसरी एउटै मितिमा राम्रा फिल्म प्रदर्शनमा ल्याइनुलाई नराम्रो मानिए पनि ४ महिनापछि ‘साङ्लो’ र ‘सेल्फी किङ’ एकसाथ प्रदर्शनमा ल्याइएको छ।
सेल्फी किङ
अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहेको सेल्फी किङमा हाँस्य कलाकारको वास्तविक जीवनको चित्रण गरिएको छ।
फिल्मले बुधबार साँझ एक प्रिमियरको शो सम्पन्न गर्यो कलाकारिताबाट आफ्नो अनि परिवारको सन्तुष्टि पूरा गर्न दौडिरहेको कलाकारका तीन दिने भोगाई फिल्मको मुख्य पाटो हो।
यही तीन दिने यात्रामा कलाकारले व्यहोर्ने मानसिक, पारिवारिक र सामाजिक भोगाईलाई सेल्फी किङमाको कथावस्तु बनाइएको छ।
फिल्ममा अभिनेता विपिन, गोपाल दाहाल उर्फ ‘सेल्फी किङ’को भूमिकामा छन्। त्यस्तै लक्ष्मी वर्देवा, भुवन चन्द, लोकमनी सापकोटा, गीता अधिकारी, जीवन भट्टराई पनि फिल्ममा अभिनय गरेका छन्।
समग्रमा विपिनको अर्ग्यानिक अभिनय, एक टेलिभिजन हाँस्य कलाकारको वास्तविक जीवन अनि नेपाली समाजमा बाबु छोराको सम्बन्धको प्याकेजका लागि सेल्फी किङ दर्शकको रोजाइ बन्न सक्छ।
साङ्लो
यता एक्सन किङको उपनाम पाएका विराज भट्ट अभिनित फिल्म साङ्लो पनि आजदेखि प्रदर्शनमा आएको छ।
धेरै वर्षअघिबाट एक्सन जनरामा रहेर काम गर्दै आएका विराजले यसपटक आफैँ फिल्म निर्माणमा हात हालेका छन्। सामाजिक कथा वस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले तस्करी र त्यसले निम्त्याएको प्रतिशोधको कथा बोल्छ।
लामो समय भोजपुरी क्षेत्रमा राज गरेर फर्किएका विराज ४ वर्षअघि फिल्म ‘जय पर्सुराम’मा देखिएका थिए। उनी पुनः आफ्नै निर्माण, निर्देशन, अनि अभिनयमा पार्दामा देखिँदैछन्।
एक्सनमा काम गर्दै आएका विराजका फ्यान फलोवर्सका लागि ‘साङ्लो’ पक्कै रोजाईको फिल्म बन्न सक्छ। यससँगै लामो समयदेखि विराजको फिल्मको पर्खाइमा रहेका नेपाली दर्शकका लागि पनि साङ्लो मनोरञ्जनको प्याकेज बन्न सक्छ।
फिल्ममा विराजसँगै मिस नेपाल २०१७ की विजेता निकिता चाण्डकले डेब्यु गर्दैछिन्। यस अर्थमा निकिताका फ्यान फलोवर्समाझ पनि साङ्लोको माग बढ्न सक्छ।
विराज र निकितासँगै फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, प्रकाश साह, आरपी पन्त, भिष्मा जोसीलगायतको पनि अभिनय छ।
शुक्रबार यी दुई फिल्मले नेपालका क्युएफएक्स चेनमा २० शो ‘साङ्लो’ले र ३५ शो ‘सेल्फी किङ’ले प्राप्त गरेका छन्। यस अर्थमा विराजको साङ्लो सिंगल थिएटर हल लक्षित मानिएको छ भने विपिनको ‘सेल्फी किङ’ मल्टीप्लेक्स लक्षित।
- Get link
- X
- Other Apps
Comments
Post a Comment