- Get link
- X
- Other Apps
- मनोज न्यौपाने माघ ११, २०७६ | शनिबार | काठमाडौं

तस्बिर: आर्यन विमली
फिल्म ‘पशुपति प्रसाद’को ‘भष्मे डन’ पात्र यहीँबाट सुरु भयो विपिनको अभिनय यात्राको युटर्न।
दुब्लो पातलो शरीर, तालु खौरिएको क्यान्डिक्रस प्रेमी पात्र, जो कसैका लागि सम्झनयोग्य थियो, प्रिय थियो। अनि फिल्म ‘पशुपति प्रसाद’ जसले एउटा भुइँमान्छेको कथा बोलेको थियो।
विपिन फिल्ममा चरित्र अभिनेताका रूपमा मात्र थिए। तर, चर्चा मुख्य अभिनेताको भन्दा कम थिएन।
हुनत विपिनले ‘पशुपति प्रसाद’ अघि तीनवटा फिल्ममा काम गरिसकेका थिए। तर, चर्चा भष्मे डनकै बढी चल्यो।
त्यसयता विपिनले दश वटा फिल्ममा काम गरिसकेका छन्। चरित्र अभिनेतामा निकै रुचाइएका विपिनको जीवनमा अभिनयका थुप्रै पात्र सफल छन्।
पित्ले डन, गोलदाइ, हरि, फणिन्द्रजस्ता धेरै पात्र चरित्र अभिनेताकै उपज मान्न सकिन्छ।
२०७५ र ७६ को ६ महिना बीचमा विपिन अभिनित तीन फिल्म प्रदर्शनमा आए। फिल्म हुन्–‘प्रसाद’, ‘गोपी’ र ‘जात्रैजात्रा’। ३ वटै फिल्ममा विपिन मुख्य अभिनेताका रूपमा चित्रित थिए। तीन फिल्म मध्ये गोपीले दर्शकको मन जित्न सकेन तथापि, प्रसाद र जात्रैजात्राले दर्शकको मन जिते। विपिनको अभिनय रुचाइयो।
अब, उनी फिल्म ‘सेल्फी किङ’ ठूलो आशा बोकेर पर्दामा आउने तयारीमा छन्। भन्छन्,‘मलाई एक प्रकारको आस छ। जहिले पनि म आवश्यकता र सम्भावना भन्दा माथि रहेर अपेक्षा बाँड्न रुचाउँदिनँ। तर फिल्म ‘सेल्फी किङ’ बाट धेरे थोर आस छ।’
माघ २४ अर्थात् फिल्म प्रदर्शनमा मिति नजिकिँदै छ। विपिन फिल्मको प्रचारमा व्यस्त छन्। उनलाई एक टेलिभिजन हाँस्य कलाकार गोपाल दाहाल ‘सेल्फी किङ’ पात्रका रूपमा दर्शकले देख्न पाउने छन्।
जहाँ एक हास्य कलाकारको तीनदिने यात्रा, यात्रामा भोग्ने परेका आरोह–अवरोह अनि पारिवारभित्रका परिस्थितिजन्य दृश्य।
‘सेल्फी किङ’प्रतिको आशा र भरोसा
‘म सधैं पनि दर्शकलाई अपेक्षा बाँडेर हिँड्ने मान्छे होइन। यसअघि ‘जात्रैजात्रा’को बेला पनि फिल्मबाट समीक्षात्मक आशा बोकेको छु भनिन्। तर, व्यावसायिक आस त्यो बेला नै भनेको थिएँ,’ सेल्फी किङप्रति भरोसा छ उनीमा,‘ धेरै त होइन, सेल्फिकिङ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबमा सफल हुन्छ भन्ने पूर्ण विश्वास छ।’
आफ्नो फिल्म र दर्शकका लागि ठूलो सपना बाँड्न चाहदैनन् विपिन। तर, फिल्मको कथा वस्तु र प्रस्तुतिको मानकलाई लिएर भने आशावादी देखिन्छन्।
‘व्यावसायिक पक्षलाई ध्यानमा राखेर फिल्म तयार छ। सँगै भावनात्मक प्रस्तुतिलाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको छ, जुन विषय सर्वव्यापी छ,’ विपिन थप्छन्, ‘भावनात्मक विषयले बच्चा, वयस्क वा बुढो केही भन्दैन, यो सबैमा लागू हुन्छ। त्यसैले पनि सेल्फी किङको भावनात्मक पक्ष सफलताको आधार बन्न सक्छ।

संसारमा हाँस्य रस वा कमेडीभन्दा बलियो पक्ष ‘इमोसन’ अर्थात् भावनात्मक पक्ष बलियो मान्छन् विपिन, ‘इमोसन युनभिर्सल हुन्छ। अन्य विधाभन्दा पृथक हुन्छ। अन्य विधा सीमित वर्गका लागि अनुकूल हुन सक्छ, तर इमोसन सबै उमेर र वर्गमा लागु हुन्छ, रुचाइन्छ। सैले पनि सेल्फिकिङप्रतिको आधार महसुस गर्छु म।’
उदाहरण दिँदै प्रश्न गर्छन्,‘मेरो हजुरबुबा अनि मेरो इमोसन उस्तै नै हुन्छ नि हैन? अथवा सानो बच्चाको इमोसनल करुणा पनि त्यस्तै नै हुन्छ नि हैन? यिनै पक्षहरू सेल्फीकिङभित्रका विषय वस्तु हुन्। सफलताका आधार हुन्।’
‘सेल्फी किङ’ पात्रको मनोविज्ञान र निजी जीवनसँगको अन्तर्सम्बन्ध
टेलिभिजन हाँस्य कलाकारितामा रमाइरहेकोे गोपाल दाहाल ‘सेल्फी किङ’ विपिन। उनको अभिनय हरेर आमा मख्ख छिन्, तर बुबा उत्ति सन्तुष्ट छैनन्। छोराले घरको जिम्मेवारी नसम्हाल्दा बुबाको घैंटोमा घाम लाग्या छैन।
उता श्रीमती चाहिँ श्रीमान्ले घरमा समय नदिएकाले आजित छिन्। तैपनि, सेल्फी किङ भन्न छाड्दैनन्– ‘विभिन्न ठाउँमा जाने, दर्शक हसाउने, आनन्दित गराउने यो हो मेरो काम, आएम एन आर्टिस्ट।’
अर्थात् सेल्फी किङलाई कलाकारिताको मोह छ। सार्वजनिक ट्रेलरले फिल्मको यही पाटोलाई उठान गरेको छ।
यसै क्रममा सोलुखुम्बुको सल्लेरीमा दर्शक हँसाउन जाँदा सेल्फी किङले भोग्नु परेका र आइपरेका अनेकन समस्याको मनोदशा फिल्मको मुख्य पाटो हो। एक हिसाबले पात्र जीवनबाट फ्रस्टेड छ, भावविह्वल छ।
तर के यो पात्र मनोदशा विपिनको निजी जिवनसँग सम्बन्ध राख्छ? अधिकांशको जिज्ञासा हुनसक्छ!
जिज्ञासा मेटाउने प्रयत्न गर्छन् विपिन– ‘फिल्म सेल्फी किङ मेरो जीवनसँग केही नजिक पनि छ। म विपिन कार्की अनि पात्र गोपाल दाहाल दुवै सेलिब्रिटी हुन्। उनीहरू दुवैको फ्यान फलोइङ छ। पर्दाभित्रको पर्दामा रमाएको गोपाल दाहाल र पर्दामा रमाउने विपिनबीच अन्तर्सम्बन्ध छ।’
‘मसँग भेट्दा धेरै मान्छे सेल्फी खिच्न आतुर हुन्छन्। पर्खिएर बस्छन्। अनि पर्दाभित्रको गोपाल दाहाल पनि उस्तै,’ उनी जीवनका भोगाइ ओकल्छन्, ‘हिजोको कुरा आमालाई अस्पताल लैजाँदा त्यहाँ पनि सेल्फीका लागि फ्यान फलोवर्स झुम्मिनु भयो। के अस्पताल सेल्फी खिच्ने वा उत्सव मनाएर रमाउने ठाउँ हो र? यस्तै रियल र रिलबीच अन्तर्सम्बन्ध हुन्छ।’
सेल्फी किङको विषयवस्तु यतिमा मात्र सीमित छैन। यसले बाबु–छोराबीचको सम्बन्धलाई पनि नयाँ शिराबाट सम्बोन्धन गरेको विपिनको भनाइ छ।
‘समसामयिक विषयमा रहेर हरेक दर्शकको आफ्नो कथा फिल्मले महसुस गराउन सक्छ। यससँगै बाबु–छोरा बीचको सम्बन्धलाई पनि उजागर गर्छ। परिवारमा छोराप्रति बुबाको आशा, भरोसासँगै आर्थीक उपार्जन र जिम्मेवारीको भाव सेल्फी किङको अर्को आयाम हो, बाबु–छोराबीचको भावनात्मक सम्बन्धको नयाँ रूप हो।
‘यद्यपि, फिल्मको प्लट नै चाहिँ मिल्दैन। गोपाल दाहालको पारिवारिक मनोदशा अनि म विपिन कार्कीको पारिवारिक मनोभाव फरक पर्न जान्छ,’ फिल्मसँग निजी जीवनलाई अलग्याउन चाहन्छन् विपिन।
फिल्म भित्रका संवाद अनि विपिनको स्पष्टीकरण
फिल्म सेल्फी किङले आफ्नो प्रचारका सामग्री बजारमा ल्याइरहँदा केही संवादले राम्रो स्थान पाइरहेका छन्।
जस्तो–‘सेलिब्रिटी, पपुलारिटी, फेम भन्ने कुरा छ नि, मूतको न्यानो जस्तै एक छिन तातो हुन्छ मज्जा आउँछ, एक छिनपछि घिन लाग्छ, गह्नाउँछ।’
‘अनि कलाकार बन्न कति पढ्नु पर्छ सर? – खलासी बन्न जति पढ्नुपर्छ, त्यति नै।’
यी प्रसंगमा विपिन केही गम्भीर छन्। यी संवाद फिल्ममा मात्र सीमित छैनन्, संवाद प्रायः वास्तविक जीवनका बिम्ब हुन्।
‘सेलिब्रिटी, पपुलारिटी, फेम पात्र गोपाल दाहालका लागि मात्र क्षणिक लाभ भन्ने होइन। संसारका सबै सेलिब्रिटीमा यही नियम लागू हुन्छ,’ किटानीका साथ विपिन थप्छन्,‘ब्रह्माण्डमा जे कुरा बन्छ, त्यो सकिन्छ, नष्ट हुन्छ, ध्वस्त भएरै जान्छ। र, सकिनै पर्छ पनि। त्यसैले जीवन पनि क्षणिकको न्यानो हो।’
‘हामी सबै अल्पकालीन छौं र हाम्रो स्टारडम पनि अल्पकालीन नै छ। हरेक कलाकार मात्र नभएर हरेक मानिस दुनियाबाट विलय हुन्छभने यो स्टारडम पनि त छ क्षणिक नै होइन र?’ विपिन पंक्तिकारसँग प्रतिप्रश्न गर्छन्।
फिल्मको पढाइ सम्बन्धित संवादप्रति पनि विपिन समय सान्दर्भिकताको बिम्ब पस्कन्छन्, ‘हाम्रो समाजमा हरेक क्षेत्रमा औपचारिक शिक्षाको आधार चाहिन्छ। मानाैं, अधिकृत बन्न स्नातकको प्रमाणपत्र, तर कलाकारबन्न कुनै औपचारिक शिक्षाको आधार छैन। यसले आर्टसँग अन्तर्सम्बन्ध कायम गरेजस्तो लाग्छ। कालासँग शिक्षाको आधार खोजी गरेझैं लाग्छ।’
यद्यपि, कलाकार बन्न चाहिने पढाइको स्तरबारे बोलिएको संवादलाई बसको सहचालकको प्रश्नलाई सहज भाषामा दिएको उत्तरका रूपमा मात्र ग्रहण गर्न विपिनको आग्रह छ।
विपिनको अभिनय करिअर, अनुभव र बुझाइ
नेपाली फिल्म बजारमा विपिनको माग बढ्दो छ। थिएटरबाट ठूलो पर्दामा आएका विपिन ‘भर्साटायल’ अभिनेताको रूपमा गनिन्छन्।
रंगमञ्चबाट अभिनय–यात्रा तय गरेका विपिन अभिनित फिल्म असफल भए पनि उनको पात्र र अभिनय कौशल चर्चामा हुन्छ। कथाको मागअनुरूप अभिनय गर्न सक्षम विपिनकाे जीवन्त अभिनय सर्वप्रिय लाग्छ।
यस अर्थमा अभिनयप्रति उनको बुझाइ के छ? अभिनयलाई उनी कसरी परिभाषित गर्छन्? पक्कै पनि चासोको विषय हो।
तर, यतिका समय अभिनय गरेर पनि विपिनको मस्तिष्क खाली छ। अभिनय के हो? उनी आफैंलाई प्रश्न सोधिरहेका छन्।
‘अभिनय के हो? मैले यसको परिभाषा भेटाइसकेको अवस्था छैन। मैले पढेका, कण्ठ गरेका वा पुस्तकमा पढेर याद गरेका लाइन म भन्न सरर सकूँला, तर, अभिनय सम्बन्धमा आफ्नै परिभाषा तयार गर्ने ल्याकत ममा बनिसेको छजस्तो लाग्दैन,’ विपिन थप्छन्,‘फलानोले के भनो वा डिस्कानाले के भनो भनेर जस्ताको त्यस्तै सुनाउनुभन्दा म आफ्नो परिचय र परिभाषा खोजिरहेको छु।’

लामो समय अभिनय क्षेत्रमा विताए पनि विपिनभित्र अस्तित्वको खोजी जारी छ, ‘म त्यही कुरा खोजिरहेको छु, जसले मेरो कर्मलाई मूर्त रूपमा परिभाषित गर्नसकोस्। तर, अहँ मैले भेट्नै सकेको छैन।’
विपिनको मस्तिष्क भौतारिरहन्छ कि, ‘म आफू के गरिरहेको छु?’ तर, अहँ उनलाई थाहा छैन।
एक्टिङ इज रियालिटी, एक्टिङ इज इमेजिनेसन, एक्टिङ सुड वि विलिवेभल यी यावत कथ्य लाइन वारम्बार पढ्दै सुन्दै आएका छन् उनी। तर, यसरी आफ्नो कर्मको परिभाषा बनाउन योग्य ठान्दैनन् उनी आफूलाई।
‘मेरो आशय कथित परिभाषा सुनाउने होइन, म आफैले भन्न सकुँ, मेरो मनले बोल्न सकुँ कि, अभिनय यो हो। ऊ हो,’ विपिन सुनाउँछन्।
‘यो हो कि भन्छु, त्यो हो कि भन्छु, यो पनि होइन रहेछ, त्यो पनि होइन रहेछ। त्यो पनि हो, तर पूर्ण छैन। अनि यो पनि हो जस्तो लाग्छ, तर अहँ यो पनि पूर्ण रहेनछ। यो, ऊ, त्यो सबैको मिश्रण पो होकि भन्छु, तर त्यो पनि पूर्ण छैन,’ विपिन मस्तिष्कमा चलिरहने अस्तित्वको अन्तरकहानी सुनाउँछन्।
यद्यपि, उनलाई विश्वास छ कि कुनै दिन आफूले आफैंलाई चिन्नेछु।
‘हरेक दिन म अभिनयको परिभाषा खोजिरहेको छु। आफ्नो कर्मको अस्तित्व खोजिरहेको छु। शायद त्यो दिन आउनेछ,’ पंक्तिकारसँग आँखा जुधाएर विपिन फिस्स हाँस्छन्।
नेपाली फिल्म क्षेत्रप्रति विपिनको आशा
‘मैले नेपाली फिल्म बजार कामै नलाग्ने, अन्धकार छजस्तो लाग्दैन। यो क्षेत्र अझै माथि जान्छ,’ नेपाली फिल्म बजारप्रति विपिनमा पूर्ण विश्वास छ किनकि, उनी यही क्षेत्रमा हरेक सेकेन्ड खर्चिरहेका छन्। यही क्षेत्रले उनलाई एउटा सेलिब्रिटीको दर्जा थमाएको छ।
‘राम्रो सम्भावना बोकेका, पढेलेखेका नयाँ युवापुस्ता कलाक्षेत्रमा आइरहेका छन्। यसले कला क्षेत्रमा विविधता पस्किरहेका अनुभूत हुन्छ,’ नयाँ पुस्तामाथि पनि विपिनमा एक प्रकारको विश्वास छ।
यद्यपि, जीवनमा उनले आफूलाई अरू कलाकर्मीसँग तुलना गर्ने कष्ट भने गरेका छैनन्, ‘अभिनय करियरलाई लिएर आफूलाई कोहीसँग तुलना गरेकै छैन। अग्रज मेरा गुरु हुन्, पथप्रदर्शक हुन्। उनीहरूले तय गरेको बाटो मैले पछ्याएको मात्र हो। र, नयाँ जो हुनुहुन्छ, उहाँहरू आफ्नै विविधतामा रहेर आइरहनु भएको छ।’
विपिन कार्की र जीवन भोगाइ
आरआर क्याम्पस पढ्दा–पढ्दै रंगमञ्चको मोहमा लठिएर अभिनय क्षेत्र अँगाल्न पुगेका विपिनको जीवन भोगाइ पनि रंगमञ्चजस्तै छ। तथापि, आफ्ना भोगाइलाई छताछुल्ल पार्नैपर्छ भन्ने उनीमा छैन।
जीवन के हो? भोगाइ के हो? यी सबै विषयबारे पूर्ण हुन चाहन्छन्। त्यसैले जीवनलाई एउटा विश्वविद्यालय मान्छन्।
‘विपिन कार्की एउटा अभिनयको,’ आफ्नो परिचय सुनाउँछन् विपिन, ‘अभिनय भवसागर हो। अभिनयको परिभाषा नै भन्न नसकिरहेका बेला जीवनको परिचय दिने औकात ममा रहेन। अन्यथा, यो अभिनयको भवसागरमा बल गरेर तैरिन खोजिरहेका एउटा स्विमर हुँ म,’ यति भन्दै विपिन खित्का छाड्दै प्रतिप्रश्न गर्छन्,‘अलि बढी साहित्यिक भयो कि क्या हो?’
निमेश भरको मौनता चिर्दै विपिन थप्छन्, ‘जीवन र भोगाइका विषयमा बोल्न योग्य मान्छे विपिन कार्की होइन। यस विषयमा सत्यमोहन जोशी, अभि सुवेदी वा माधव प्रसाद घिमिरेलाई सोध्नुहोस्। जसले जीवनको वास्तविक भोगाइ बताउन सक्छन्।’
‘आजसम्मको अनुभवअनुसार अभिनय नै जीवनजस्तो लाग्छ। तर खै, अरूनै त्यस्ता चिज छन् जसलाई जीवन भन्न सकिएला कि अथवा अझै भयंकर, डरलाग्दो केही वस्तु होला त्यसलाई जीवन भनुँ? म आफैं भुँमरीमा छु। यही भुँमरीलाई चिरेर जीवनलाई परिभाषित गर्न प्रयत्नशील छु।
केही गम्भीर मुद्रामा विपिन थप्छन्, ‘जीवन त भोगाइ रहेछ, बाध्यता रहेछ। जिउँदिनँभन्दा पनि जिउनै पर्ने।’
- Get link
- X
- Other Apps
Comments
Post a Comment