
नेपाली फिल्म बजारमा नम्रता श्रेष्ठ भन्ने बित्तिकै ‘नोभेम्बर रेन’ फेम नम्रता श्रेष्ठलाई चिन्ने गरिन्छ। थिएटरसँगै फिल्म बजारमा चर्चा पाउन सफल अभिनेत्री पनि हुन नम्रता श्रेष्ठ।
तर, नेपाली फिल्म बजारमा अर्की अभिनेत्री पनि छिन्, जसको नाम नम्रता श्रेष्ठ नै हो। फिल्म क्षेत्रमा उनलाई कान्छी नम्रता भनेर पनि भन्ने गरिन्छ। फिल्म गाँठोबाट नेपाली फिल्म बजारमा प्रवेश गरेकी नम्रता अग्रज नम्रताका कारण छायाँमा छिन्।
कान्छी नम्रता जसको डेब्यु अभिनय रहेको फिल्म ‘गाँठो’ बक्स अफिसमा असफल भयो। दर्शकले उनलाई चिन्ने मौका नै पाएनन्। फिल्ममा नम्रतासँगै थिए अभिनेता नाजिर हुसेन।
त्यस्तै नम्रताको दोस्रो फिल्म थियो, ‘जानी नजानी’। उक्त फिल्मबाट पनि नम्रताले दर्शकको माया पाउन सकिनन्। बक्स अफिसमा फिल्म असफल भयो।
अब भने नम्रता फिल्म ‘माछा माछा’को आशमा छिन्। मङ्सिर २० गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘माछा माछा’मा नम्रता मुख्य भूमिकामा छिन्। अभिनेता सौगात मल्लको प्रेमिकाका रूपमा रहेकी नम्रता अब भने फिल्म बजारमा आफ्नो परिचय व्यापक हुनेमा आशावादी छिन्।
करियरलाई अभिनयमै व्यस्त बनाइरहँदा यतिबेला नम्रतालाई नम्रताकै चुनौती बढेको छ। फिल्म बजारमा कान्छी नम्रता पनि छिन् भनेर आफ्नो परिचयलाई व्यापक बनाउन नै आफूलाई चुनौती रहेको नम्रता स्वयंले पनि स्वीकार गरेकी छन्।
मंगलबार काठमाडौंमा फिल्म ‘माछा माछा’ निर्माण युनिटसँगको बसाइमा सञ्चारकर्मीको प्रश्नमा नम्रताले पेसागत हिसाबमा कुनै चुनौती नरहेपनि पहिचानमा भने ‘नम्रतालाई नम्रताकै थ्रेट’ रहेको स्वीकार गरिन्।
सकेजति काम गरिरहेपनि आफ्नो अभिनयमा रहेका फिल्म धेरै दर्शकमाझ पुग्न नसकेकोले कान्छी नम्रतालाई धेरैले चिन्न नसकेको उनको भनाई छ।
Comments
Post a Comment