लकडाउनमा निर्देशक भट्टराई, ‘जीवनमा छुटाएको पाटो बुझ्न पाएँ’

  • मनाेज न्याैपाने चैत ३०, २०७६ | आइतबार | काठमाडाैं



पुस्तक पढ्न होस् वा फिल्म हेर्न अरूका रचनाहरूमा रमाउन सहज नै हुने रहेछ। तर, आफ्नो मस्तिष्कले भने देश, काल अनि परिस्थिति नै विषम बनेका बेला रचनात्मक कार्य गर्न नसक्ने रहेछ।
चैत ११ गतेबाट देश लकडाउनमा छ। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन हरेक मानिस घरमै बस्न बाध्य छन्। यस बाध्यतामा देशका हरेक कलाकर्मी पनि बाँधिएका छन्।
कलाकर्मीलाई देशको गहना मानिन्छ, जसले कलामार्फत समाजको विम्ब पर्दामा उतार्ने क्षमता राख्छन्। उनीहरू एउटा समाजको वास्तविक रूप अर्को समाजसम्म पुर्याउने सिर्जनात्मक क्षमतायोग्य हुन्छन्। तर, कोभिड-१९को प्रभावले यतिबेला आम मानिसझैं सृजनशील कलाकर्मी पनि घरभित्रै छन्। त्यसमध्येका एक हुन्, निर्देशक प्रदीप भट्टराई।
नेपाली फिल्म बजारमा जात्रा, शत्रुगते, जात्रैजात्रा जस्ता सफल फिल्मको निर्देशन तथा स्क्रिप्टमा काम गरेका भट्टराई लकडाउनको अवस्थामा के गर्दै छन्? उनी आफ्नो सृजनशील मस्तिष्क केमा खर्चिरहेका छन्? यी र यस्तै प्रश्नमा रहेर निर्देशक भट्टराईसँग नेपालन्युजकर्मी मनोज न्यौपानेले गरेको टेलिफोन संवादः
होम क्वारेन्टाइन बसाइ कस्तो हुँदैछ?
देश लकडाउनपछिका केही दिन त अत्यन्तै कष्कटर थिए, तर आजभोलि रमाइलो नै हुँदै छ। पहिले पहिले त जंगली जनावरलाई घरमा बाँधेर राखेझैं भएको थियो, अहिले त घरपालुवा नै भइयो। लाग्छ, भाइरसको त्रास अनि होम क्वारेन्टाइनले मान्छेलाई साँच्चै घरपालुवा झैं बनाइसक्यो।
यस्तो अवस्थामा रचनात्मक विषयमा कतिको चाख लाग्ने रहेछ त?
पहिले रचना गरिएका विषयमा समय खर्चन खासै गाह्रो हुँदैन र त्यहाँ मानसिक दबाब पनि नहुने रहेछ। पुस्तक पढ्न होस् वा फिल्म हेर्न अरूका रचनाहरूमा रमाउन सहज नै हुने रहेछ। तर, आफ्नो मस्तिष्कले भने देश, काल अनि परिस्थिति नै विषम बनेका बेला रचनात्मक कार्य गर्न नसक्ने रहेछ।
सृजनाका लागि देश र कालभन्दा केही फरक सोचमा हराउनुपर्ने हुन्छ, मस्तिष्कमा एउटा छुट्टै संसार बसाउनुपर्ने हुन्छ, अनि मात्र नयाँ सृजनाका लागि तयार भइन्छ। तर, यहाँ बाहिर के हुँदै छ? अब के होला? विश्व बजारको अवस्था कस्तो छ, यस्तै यस्तै त्रास अनि जिज्ञासाले मन घच्घच्याइ रहन्छ। यसले मलाईं चाहिँ सृजनशील हुन दिएन।
लकडाउनको केही दिनअघि मात्र हामीले एउटा नयाँ स्क्रिप्टलाई अन्तिम रूप दिने तयारीमा थियौं। तर, घर बसेपछि त्यसमा रहेर पनि काम गर्न सकिरहेको छैन। यसको अर्थ मेरो मस्तिष्कले काम गरिरहकै छैन। संसार एकातिर छ अनि म अर्कातिर रहन नै सकिरहेको छैन।
यो फुर्सदको समयमा हालसम्म चाहिं के–के गर्नुभयो?
फिल्म हेर्ने, पुस्तक पढ्ने जस्ता काम त हामी लकडाउन नभएको अवस्थामा पनि गथ्यौं। केही न केही समय निकालेर यस्ता काम गरिरहेकै हुन्छौं, किनकि फिल्म नहेरे, पुस्तक नपढे त रचनात्मक अनि सृजनशील नै हुन सकिन्न जस्तो लाग्छ। तर, यो प्रक्रिया होम क्वारेन्टाइनले बढाएको भने अवश्य हो।
यो समयमा यति धेरै फिल्म हेरिसकियो कि फिल्मका नाम नै बिर्सने बेला भयो। तर, यसबाहेकका काम चाहिं केही भिन्न छन्। एउटा फिल्मकर्मी जो, अन्यबेला रातसाँझ घर आउने, परिवारलाई समय दिन नभ्याउने हुन्थ्यो। न त शनिबार, न त चाडपर्वको बिदा सधैं व्यस्त जीवन यतिबेला भने साँच्चै फुर्सदिलो भएको छ। जीवन पारिवारिक भएको छ। म मात्र होइन सबै फिल्मकर्मी यतिबेला परिवारप्रति जिम्मेवार बनेका छन्, कर्तव्यनिष्ठ बनेका छन्।
पारिवारिक जिम्मेवारीबाट टाढा रहेका सदस्यहरूलाई यो विषम परिस्थितिले पाठ पढाएको छ। मैले गर्नेभन्दा पनि यो विषम परिस्थितिले मलाई चाहिं एउटा जिम्मेवार बुबा बनाएको छ, राम्रो श्रीमान बनाएको छ, राम्रो छोरो बनाएको छ। बुबाआमालाई दैनिक फोन गर्न भ्याएको छु, छोरालाई समय दिएको छु, श्रीमतीलाई भाँडा माँझ्न र सरसफाइमा सघाइरहेको छु।
लाग्छ जीवनमा गर्नैपर्ने अनि गर्न छुटाएको एउटा अर्को पाटो पनि बुझ्ने मौका पाएको छु।
आफ्नो जीवनकालमा यस्तो भयावह अवस्था भोग्न पर्दाको अनुभूति?
यो विपत्ति अन्यभन्दा विल्कुल फरक छ। भूकम्प, बाढी पहिरो वा अरू केही कुनै एक ठाउँमा हुन्छ र अन्य ठाउँका, देशका मानिसले सहयोग गरेर त्यो विपत्ति समाधानतर्फ जान्छ। तर, यो भाइरसको प्रभाव त साना–ठूला, यो–त्यो नभनी सबै देशमा छ। एउटाले अर्कोलाई सहयोग गर्नेभन्दा पनि आफ्नो देश र ठाउँलाई नै कसरी बचाउने भन्ने अवस्था छ।
हिजोसम्म मानिस यो सृष्टिको, संसारको सर्वश्रेष्ठ प्राणीका रूपमा थियो। मानिसले हरेक ठाउँमा आफ्नो अनुकूल काम गर्ने र अन्य प्राणीजगत्देखि प्रकृतिलाई नै आफ्नो वसमा पार्ने सामथ्र्य राख्थ्यो। त्यो एकप्रकारले अहित थियो, अन्याय प्रायः थियो।
तर, यो भाइरसको प्रकोपले मानिस मात्र सर्वश्रेष्ठ होइन है, प्रकृतिमा अन्य धेरै कुराहरू छन् जसले विश्व तहसनहस पार्न सक्छन् भन्ने नयाँ पाठ सिकाएको अनुभूत गरेको छु। मानिसले प्रकृतिलाई विचलन गरेर, यसको दोहन मात्र गर्नु हुन्न, भविष्यका लागि पनि हामी चनाखो रहनुपर्छ है भन्ने पाठ चाहिं यसले सिकाएको छ।
योसँगै हामी दुःखको बेला अनुशासित हुन सिकिरहेका छौं, परोपकारी हुँदै छौं। अझ महत्वपूर्ण कुरा प्रदुषणले थलिएको प्रकृतिले स्वच्छ अनि लामो स्वास फेर्ने मौका पाएको छ। त्यसैले भाइरसलाई जित्दै प्रकृति प्रेमलाई पनि निरन्तरता दिन पाइयोस्।
तपाईं नेपाली फिल्म उद्योगको एक सफल फिल्मकर्मीका हैसियतले यो विषम परिस्थतिमा सिंगो चलचित्र क्षेत्रका लागि केही पहलकदमीको काम गर्नुभयो त?
यो आफैमा सबैले सबैलाई सहयोग गर्ने समय हो। अझ ठूलो विषय भनेको हामीले राज्यलाई घरमै बसेर भाइरसको संक्रमण फैलन नदिन सहयोग गर्ने समय हो। त्यही अनुरूप हामी घरमा बसेर सहयोग गरिरहेकै छौं।
यससँगै हामी हाम्रो तर्फबाट सहयोगको तयारीमा छौं। हामी पक्कै केही न केही गर्ने छौं, किनकि यो विषम परिस्थितिमा चलचित्र क्षेत्र वा अन्य क्षेत्रका सबै श्रमिक वर्गमा ठूलो असर परेको हुनसक्छ। त्यसैले हामी हाम्रो निर्मातासँगको छलफल र सल्लाहपछि सहयोगका लागि पक्कै अघि बढ्ने छौ।
वर्ष २०७६ को अन्तिम संघारमा छौं हामी, फिल्म क्षेत्रका लागि २०७६ कस्तो रह्यो?
यो वर्ष हाम्रो फिल्म बजारले २–४ वटा फिल्म व्यापारिक रूपमा र २–४ वटा फिल्म समीक्षात्मक रूपमा उत्कृष्ट बने। कारण, हाम्रो फिल्म उद्योग सिकाइकै चरणमा छ।
तर, वर्षको अन्तिम-अन्तिममा राम्रो लगानी र अपेक्षा बोकेका फिल्महरू यो महामारीले रोकिन पुगे। यो आफैंमा दुःखद पक्ष हो। तर पनि सिकाइको चरणमा जे जति प्रदर्शनमा आए त्यसलाई नराम्रो भन्न मिल्दैन।
अब महामारीले रोकिएका फिल्मले पनि चाँडै नै लय लिने छन्। किनकि यो भाइरसको प्रभाव पक्कै लामो समय त रहँदैन होला। दुःख र सुःख दुवै उस्तै हुन्, कहीं न कहीं पुगेर टुङ्गिन्छन्। त्यसैगरी भाइरसले निम्त्याएको दुःख पनि छिट्टै सकिनेछ र नेपाली फिल्म बजार पनि तङ्ग्रिने छ।
लकडाउन अनि कोरोना प्रभाव फिल्म निर्माण र प्रदर्शनका लागि नयाँ विकल्प खोजीको समय पनि भन्न थालिएको छ नि?
यो विषम परिस्थितिपछिको विश्व मलाई लाग्छ केही फरक सोचसहित अघि बढ्नेछ। हिजो सडकमा रहेका कुकुरलाई हेर्ने दृष्टिकोण र भोलिको दृष्टिकोण फरक हन्छ होला।
त्यसरी नै अबको फिल्म मेकिङ नयाँ धारमा जाने छ। हिजोको फिल्म मेकिङ र भोलिको फिल्म मेकिङमा परिवर्तन देखिनुपर्छ। अब कथावाचन शैली परिवर्तन गर्नैपर्छ। किनकि कोरोना भाइरसको प्रभावले अब संसारलाई केही नयाँ सोचसहित अघि बढाएको छ।
हिजो घरभित्र बस्न अल्छी मान्ने मान्छे अब बाहिर निस्कन अल्छी मान्छ, केही डराउँछ पनि। भिडभाडमा जान, समूहमा बस्न मान्छे हिचकिचाउन सक्छ। त्यसैले फिल्म मेकिङ भनेको समाजको चित्रण हो, सोचको व्यापार हो। समाज अनुरूपको सोच निर्माण गरेर फिल्म निर्माण गर्नुको विकल्प हुँदैन।
प्रदर्शनका पक्षमा पनि अब सोच्ने बेला आएको छ। फिल्म हेर्नका लागि हल मात्र नभएर डिजिटल माध्यम पनि सशक्त बनेका छन्। आज, विश्व लकडाउनको अवस्थामा गुज्रिरहँदा मान्छेको समय कटाउने ठूलो माध्यम फिल्म बनेको छ। तर, हल त चलेका छैनन्।
त्यसैले विश्वलाई व्यस्त बनाउन सक्ने फिल्म उद्योगलाई मेकिङसँगै डिजिटल माध्यमबाट दर्शकसम्म पुर्याउनुपर्छ। अब, हलमा दर्शक आएनन् भनेर बस्ने भन्दा पनि डिजिटल माध्यमलाई पनि सदुपयोग गर्ने समय आएको छ। जसका लागि नेटफ्लिक्स, अमेजन इन्स्टान्ट, आइट्युन्स, युट्युबजस्ता माध्यमहरूतर्फ पनि ध्यान लानुपर्ने बेला आएको छ।
अन्त्यमा केही सामाजिक सन्देश छन्?
हामी नेपाली हरेक पक्षमा धैर्य छौं, परिवर्तनका खातिर हामी जस्तोसुकै चुनौती पनि सामना गर्ने क्षमता राख्छौं। त्यसैले यो कोरोना भाइरसको महामारी र संक्रमण विरुद्धको युद्धमा पनि धैर्यता नगुमाऔं। घरमै बसौं, विज्ञहरुको सल्लाह, सरकारको आग्रहलाई साथ दिऔं, सचेत नागरिक बनौं। देश र समाजलाई बचाऔं।

Comments