रक्सीको पेग लिँदै राजा वीरेन्द्र भन्थे,‘मलाई सङ्‌गीत मन पर्छ तर, सङ्‌गीत पारखी चाहिँ भाइ ज्ञानेन्द्र हो’

  • मनोज न्यौपाने पुस २६, २०७६ | शनिबार | काठमाडौं


भनिन्छ, सङ्‌गीतको मुर्च्छनासँग जति गहिराइमा डुब्‌न सकिन्छ, त्यति गहिराइमा अन्य विकल्पबाट पुग्न सहज हुँदैन।
सङ्‌गीतभित्रका प्रत्येक आलाप, आरोहअवरोहमा मानिसले नवीनता महसुस गर्छ। त्यसैले ध्यान गर्नुपहिले पनि सङ्‌गीतको सहारा लिने गरिन्छ।
सङ्‌गीतमा नहराउने मानिस संसारमा बिरलै होलान्। सङ्‌गीतसँगको सामीप्यतामा नरमाउने मान्छे पनि कमै होलान्। त्यही भएर त संसारका राजा-महाराजा अनि उच्च पदमा पुगेका व्यक्ति हरेक साँझ सङ्‌गीतमा झुम‌्न पुग्छन्।
यसरी नै सङ्‌गीतमै लीन हुनेहरूमध्ये एक थिए-स्वर्गीय राजा वीरेन्द्र शाह। दर्शक दीर्घामा वीरेन्द्रसँगै राजपरिवार अनि स्टेजमा सङ्‌गीतकर्मीको सामीप्यता एक हिसाबले गज्जब हुन्थ्यो।

सङ्‌गीतमै लीन हुनेहरूमध्ये एक थिए- स्वर्गीय राजा वीरेन्द्र शाह। दर्शक दीर्घामा वीरेन्द्रसँगै राजपरिवार अनि स्टेजमा सङ्‌गीतकर्मीको सामीप्यता एक हिसाबले गज्जब हुन्थ्यो।


तिनै सङ्‌गीतकर्मीमध्ये एक हुन् वरिष्ठ गायक आनन्द कार्की। नेपालन्युजसँगको बसाइमा कार्कीले त्यसबेला दरबारसँगको सामीप्यता र सङ्‌गीत-यात्राका केही किस्सा सुनाउन भ्याए।
लखनउ छाडी काठमाडौंको मायाले बाँधिएका आनन्द
सोलुखुम्बुमा जन्मिएका गायक आनन्द कार्कीको स्कुले उमेर भारतमा बित्यो। बुबाको जागिर भारतीय सेनामा भएकाले उनी सानै उमेरमा भारत पुगेका थिए।
बुबाको अपेक्षा औपचारिक अध्ययनमा विशिष्टता होस् भन्ने थियो। तर, छोरो भने सङ्‌गीत र साधनामा लिप्त थिए।
१५ वर्षको उमेरमा बुबाको निधनले उनलाई मर्माहत बनायो। त्यसपछि सङ्‌गीतलाई करिअरको आधार बनाउने सङ्‌कल्प लिए उनले।
भारतको लखनउस्थित भारतखण्डे सङ्‌गीत विद्यालयमा सङ्‌गीत सिकेका गायक कार्की गजल, सुगम तथा आधुनिक गायनमा दख्खल राख्थे।
यही क्रममा उनी साथीहरूसँग नेपाल आए। यहाँको विशेष कार्यक्रममा उनको प्रस्तुतिपछि ‘डिमान्ड’ बढ्यो।
‘नेपाल र नेपालीको मायाले मेरो मन काठमाडौंमा अडियो, अझै केही समय यतै बस्ने निर्णय गरेँ,’ त्यो क्षण गायक कार्कीलाई अझै याद छ, ‘नेपालमा गजलको माहोल भर्खर बन्दै थियो। विशेषगरी भन्ने हो भने गजलको सुरुआत मैले गरेको थिएँ। पछि धेरैको उपस्थिति रह्यो।’
जहाँ गायो त्यही हिट...
नेपालको गीतसङ्‌गीत र कलाक्षेत्र कहिले पनि हिन्दीबाट अछुतो रहेन। गायक कार्की २०४१/४२ सालमा पहिलोपटक काठमाडौं आउँदा पनि हिन्दी गीतको माग कम थिएन।
उनी सुनाउँछन्, ‘म त भारतमा पढेको केटो। मेरो लवज पनि मधेसी थियो। दर्शकको मागअनुसार केही नेपाली बाँकी हिन्दी गीत नै गाउने गरेको थिएँ। विशेष गरी गजल मेरो प्राथमिकतामा हुन्थ्यो।’
जहाँ-जहाँ गाए पनि उनको चर्चा काठमाडौंभरि थियो। जहाँ गाए पनि हिट थिए उनी। जस्तो कार्यक्रम भए पनि उनले गाएपछि सफल हुने। यी सबै कुराले आनन्दलाई हौस्याएको थियो। त्यसैले लखनउ छाडेर उनले काठमाडौंलाई कर्मथलो बनाए।
अहिले उनलाई पछुतो लाग्छ- त्यो समय उनी अग्रज सङ्‌गीतकर्मी नातिकाजी, भक्तराज आचार्य, गोपाल योञ्जन, नारायण गोपाललगायतलाई गन्दैन थिए।
ananda karki inside photo 4
कारण, नेपाल आउनासाथ कसैको गोडा नमोली दर्शकको माया अथाह भएजस्तो लाग्थ्यो उनलाई। जताततै वाहवाही! एकैपटक धेरै माथी पुगेछु भन्ने लाग्थ्यो उनलाई। यतिसम्मकी उनको डिमान्डअनुसार पारिश्रमिक तय हुन्थ्यो।
अर्को कारण थियो- उनी भारतबाट भर्खर नेपाल छिरेका थिए। लवज पनि मधेसी भएकाले अग्रजहरूले उतिसारो वास्ता गर्दैनथिए। त्यही भएर आनन्दलाई पनि उनीहरूको आवश्यकता परेन।
होटेलदेखि दरबारसम्म गायक कार्कीकै चर्चा...
काठमाडौंंमा कुनै पनि हल्ला फैलन समय लाग्दैन। त्यस बेला पनि आनन्द कार्कीको गायनको चर्चा चुलिन समय लागेन। होटेल-होटेलमा गाउने कार्कीको गायनकलाको चर्चा दरबारसम्म फैलियो।
कार्कीले सोचेका थिएनन् आफ्नो गायकीले यो रुप लिन्छ भनेर। ‘मैले त्यतातिर ध्यान पुर्‌याएकै थिइनँ, मेरो चर्चा दरबारसम्म पुग्ला भनेर तर,पुगेछ,’ उनी सम्झिन्छन्।
‘हामी त्यो बेला स्यारेटन होटेलमा साँझ गाउँथ्यौ। एक दिन प्रेक्षा सरकार, धीरेन्द्र सरकार, नीर शाहलगायत होटेल आउनुभएको रहेछ। हाम्रो गायकी मिठो लागेर होला, भोलिपल्ट दरबारमा चर्चा चलेछ,’ गायक कार्की विगत कोट्याउँछन्, ‘भारतबाट आएको नेपाली केटो राम्रो गाउने रहेछ। गीत पनि गाउँछ, गजल पनि गाउँछ।’
बजारमा गीत हिट भए पनि रेडियो नेपालमा बज्ने आस थिएन। तर, भर्खरै टेलिभिजन खुलेको थियो। टेलिभिजनले बजायो। त्यता पनि चर्चामा रह्यो।‌
कुनै समय कसैले कार्कीलाई सुनाएको थियो- एउटा कलाकार आममानिसभन्दा एक स्टेपमाथि हुन्छ। तर, किन कार्की कारण खोजिरहेका हुन्थे। पछि उही व्यक्तिले सुनाएको थियो- चाहे त्यो राजा-महाराजा होस् वा अरु कोही, कलाकारको कलाकारिता हेर्न/सुन्न ऊ स्टेजमुनि नै बसेको हुन्छ। एक स्टेप तल नै हुन्छ।
सेराटन होटेलबाट फर्किएका कार्कीले मनन् गरे साँच्चिकै कलाकार एक स्टेपमाथि नै हुने रहेछ।
त्यसपछिको साङ्‌गीतिक यात्रामा दरबारसँगको सामीप्यता आनन्दले सुनाउँदै गए-
त्यो समय, भारतीय राजदूतावासले २५ जनवरी, १५ अगस्टमा विभिन्न क्षेत्रका राम्रा-राम्रा स्रष्टा, सर्जकलाई निम्ता गरी कार्यक्रम गर्ने चलन थियो।
पाकिस्तानबाट उस्ताद गुलाम अलीसमेत नेपालकै सङ्‌गीत निर्देशकहरूसँग मिलेर कार्यक्रम गर्ने, एल्बम निकाल्ने, संयुक्त गायन गर्ने चलन थियो। यता, नेपाली सङ्‌गीत क्षेत्रमा नारायणगोपाल, भक्तराज आचार्यलगायतको माहोल थियो।
त्यही समय काठमाडौंमा मेरो उदय भयो, वास्तवमा म बिल्कुलै नयाँ थिएँ।
तर, अपसोच म त लगभग उदितनारायाण झाजस्तै भएछु। त्यसबेला उदितनारायण दाइलाई रेडियो नेपालमा खुब हेप्दा रहेछन्। समय नै त्यस्तो थियो रे कि जुन नेपालीले पनि तराई मूलको नेपालीलाई मधेसी यस्तो/उस्तो भनेर हेप्दा रहेछन्।
मलाई पनि रेडियो नेपालका वरिष्ठहरूले उति वास्ता गरेनन्। म पनि सानैबाट भारतमा बसेको। यो सानो मधिसे केटो कहाँबाट आएछ भन्ने भाव लिन्थे कतिपयले।
यतिसम्म की रेडियो नेपालमा स्वर परीक्षण गर्दा पास नै गराएनन्। तर, भगवानको कृपा भन्नुपर्छ, होटेलतिर कामैकाम, आम्दानी नै आम्दानी। रेडियो नेपालको ‘इगो’ एकातिर, हातमा पैसैपैसा अर्कातिर।
अब, आफैं गीत गर्नुपर्छ भन्ने लाग्यो। केही साथीहरूसँग मिलेर एउटा एल्बमको तयारी गर्‌यौं। सहकार्यमा थियो म्युजिक नेपाल।
जीवनले ‘युटर्न’ लियो। ‘आनन्द कार्कीका गजलहरू...’ नामक एल्बम सार्वजनिक भयो। एल्बममा समावेश ‘तिम्रो पनि मुटु नै भए यति साह्रै कठोर किन...,’ ‘यी हल्लाहरु हुन्...’ लगायत गीत सुपर हिट भए।
बजारमा गीत हिट भए पनि रेडियो नेपालमा बज्ने आस थिएन। तर, भर्खरै टेलिभिजन खुलेको थियो। टेलिभिजनले बजायो। त्यता पनि चर्चामा रह्यो।‌
अर्को संयोग के थियो भने त्यही समय अर्थात् २०४२ साल पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सव। रानीले जुन-जुन गीत फर्माइस गर्थिन्, तिनै मात्र बजाउनुपर्ने बाध्यता थियो। त्यो पनि रेडियो नेपालमा। त्यस वर्ष रानीले मेरै केही गीत रेडियो नेपालमा बजाउन निर्देशन दिनुभएछ।
तर, रेडियो नेपालमा गीत बजाउन उति सहज थिएन। व्यक्तिगत रुपमा रेकर्ड गरेर तयार गीतहरू बजाउन पाइँदैन थियो। रेडियो नेपालकै स्टुडियो रेकर्ड हुन पर्थ्याे।
यतिमात्र होइन, आनन्द कार्कीलाई त्यस दिन दरबारमै निमन्त्रणा गरियो। ऐश्वर्या राज्यलक्ष्मी शाहको ठाडो निर्देशनपछि रोडियो नेपालबाट नातिकाजी दाइ, शिव शंकरलगायतले मेरो लागि गाडी नै पठाउनुभयो।
त्यस बेला म भाडामा बस्थेँ। पहिले हेप्नेहरूले रानीको निर्देशन पछि बाध्यताले त्यस्तो गर्नुपरेको थियो।
मलाई याद छ- पहिलोपटक हेपेर स्वर परीक्षा फेल गराएकाहरूले नै दरबारमा मेरो माग भएपछि पहिले नै पास भएको भन्न भ्याएका थिए।
‘आज रानीकहाँ जाने र, फर्किएर केही दिनपछि गीत तयार छ, एउटा रेकर्ड गर्नुपर्छ, कहाँ फेल हुनु, गल्ती भयो होला, तपाईं पहिले नै पास हुनुभएको हो,’ उनीहरू यतिसम्म भन्न भ्याए।
त्यो रात म पहिलोपटक दरबार पसेँ, नातिकाजी दाइ हार्मोनियम, राजु अग्रवाल तबला, शिवशंकर दाइ र म गायनमा रहेर दरबारमा पहिलो साङ्‌गीतिक प्रस्तुति दिएका थियौं।
रेडियो नेपालमा पहिलो गीत रेकर्डिङ
दरबारमा प्रस्तुति दिएको ३-४ दिनपछि नै रेडियो नेपालमा शक्ति वल्लभ दाइसँग चिनजान भयो। उहासँगै ‘जीवनमा धेरै खोला तर्नुछ...’ बोलको गीत रियाज गरी पहिलोपटक रेडियो नेपालमा रेकर्ड गर्ने अवसर जुर्‌यो।
त्यसपछि मात्र मेरो रेडियो नेपालमा राम्रो सम्बन्ध बन्यो। यतिसम्मकी, पुग्नेबित्तिकै ओहो! आनन्द भाइ आउनुभएछ, चिया खाने कि कफी...? यसरी सोध्न थालियो। रानीको नजिकको मान्छे भनेपछि त माहोल नै छुट्टै थियो।
अर्कातिर त्यही समयमा नेपाल टेलिभिजनको औपचारिक उद्घाटन पनि भयो।
त्यसपछि म टेलिभिजिनमा पनि देखिन थालेँ, यसरी रेडियो, टेलिभिजन, दरबारलगायत यत्रतत्र मेरो चर्चा भयो।
यसले मेरो व्यस्तता बढायो। कार्यक्रम नै कार्यक्रम। राजारानीले मन पराएको मान्छे भनेपछि मेरो बजार ह्वात्तै बढ्यो। आर्मीका कार्यक्रममा पनि मेरा माग बढ्दो थियो।
राजपरिवारका सदस्यसँगको व्यक्तिगत सम्बन्ध...
त्यसबेला विभिन्न धनाढ्य व्यक्तिहरूकहाँ राजा-महाराजा साँझ डिनरमा जाने चलन थियो। जहाँ, साङ्‌गीतिक माहोल हुन्थ्यो। त्यहाँ हामी सङ्‌गीतकर्मीहरूको पनि माग हुन्थ्यो।
हरेक कुरा राजालाई फर्माइस गरेर मात्र गरिन्थ्यो। त्यस हिसाबमा गायनका लागि उहाँबाट मेरो नाम उच्चारण हुन्थ्यो। मन्त्री क्वार्टरलगायत स्थानमा साङ्‌गीतिक साँझ आयोजना हुन्थ्यो। हामी बैठक कक्षमा सङ्‌गीतिक माहोल बनाउँथ्यौं।
साङ्‌गीतिक टिम ठूलो हुँदैन थियो। नातिकाजी, राजु अग्रवाल, भूपेन्द्र रायमाझी, योगेश वैद्य, मलगायत सीमित सङ्‌गीतकर्मी मात्र बोलाइएका हुन्थ्यौं।
राजपरिवारको साङ्‌गीतिक डिमान्ड गजल, स्लो प्याट्रनका गीत नै थिए। हातमा पेग बोकेर, केही नसासँग सङ्‌गीतमा लीन हुन मन पराउने राजा वीरेन्द्रको बानी थियो।
ananda karki inside photo 4
हातमा पेग बोकेर नजिकै आएर भन्नु हुन्थ्यो- आनन्द सङ्‌गीत मनपर्छ तर, सङ्‌गीतबारेमा मलाई केही थाहा छैन। यो सब भाइ ज्ञानेन्द्रका लागि हो। सङ्‌गीतको पारखी उनै हो, जति बुझ्छ उसले बुझ्छ।’
ज्ञानेन्द्र भने हामीसँगै आएर तबला बजाउने, सँगै गाउने, केही बिग्रिहाल्यो भने पनि तिम्रो यस्तो बिग्रियो है भनेर सम्झाउने गर्नुहुन्थ्यो। यसको मतलव उहाँहरू हामीसँग साङ्‌गीतिक माहोलमा निकट हुनुहुन्थ्यो। पारिवारिक हुनुहुन्थ्यो।
कहिलेकाही ज्ञानेन्द्रले पनि हामीलाई घरमै बोलाउनु हुन्थ्यो। उहाँको घरमै साङ्‌गीतिक माहोल हुन्थ्यो। राति ३-४ बजेसम्म गाएरै बसेका हुन्थ्यौं।
राजपरिवारसँगको बेलायत यात्रा...
म एक हिसाबले भाग्यमानी मान्छे हुँ किनकि देशविदेशमा राजपरिवारसँगै हेलमेलको माहोल धेरै बन्यो। दरबारसँगको हेलमेलकै कारण बजारमा माग धेरै थियो। होटेलतिर कार्यक्रमको आम्दानी मनग्य थियो।
काठमाडौं आएको ३-४ वर्षमा मैले गाडी चढ्ने हैसियत राखेको थिएँ।
विशेष त राजपरिवारका सदस्यलाई मनोरञ्जनको आवश्यकता पर्ने। हाँस्नुपर्‌यो भने हाँस्य कलाकार राख्ने। लोकगीत चाहियो भने लोकक्षेत्रकै मान्छे राख्ने। समग्रमा मनोरञ्जनका लागि विधागत सदस्य राख्ने चलन थियो।
यही क्रममा उहाँहरूसँग बेलायत यात्रा गर्ने मौका जुर्‌यो। बेलायतमा गएर त्यहाँको राजदूतावासमा आयोजित कार्यक्रममा राजपरिवारसँगै त्यहाँका रानी/ महारानीहरूलाई पनि गाएर सुनाउने अवसर जुरेको थियो।
भगवान विष्णुको रूपमा राजा वीरेन्द्र...
उहाँ एउटा कल्पनाभन्दा बाहिरको व्यक्तित्व बोकेको मान्छे हुनुहन्थ्यो। म सँगचाहिँ उहाँको बखान गर्ने कुनै शब्द नै छैन।
अहिले सम्झँदा पनि एउटा भगवानजस्तो लाग्छ। सौम्य, शालीन अनुहार, बोलाइ, हसाइँ, हिँडाइ हरेक कुरा तारिफयोग्य लाग्छ। भन्छन् नि उहाँ भगवान विष्णुको अवतार हुनुहुन्थ्यो। मलाई पनि त्यस्तै लाग्छ।
व्यवहारका पनि उहाँ एकदमै मिजासिलो मान्छे। कही कतै देख्नुभयो भने पनि टक्क अडिएर के छ आनन्द भनेर सोध्ने। एउटा निकट मित्रजस्तै उहाँको व्यवहार हुन्थ्यो।
वीरेन्द्रसँगको एउटा रमाइलो किस्सा मेरो मस्तिष्कमा बेलाबेला घुमिरहन्छ।
उहाँ एउटा कल्पनाभन्दा बाहिरको व्यक्तित्व बोकेको मान्छे हुनुहन्थ्यो। म सँगचाहिँ उहाँको बखान गर्ने कुनै शब्द नै छैन।
सन् २००० को कुरा। डेनमार्कमा घुमिरहेको थिएँ, एउटा सिगार (चुरोट) पसलमा राजा वीरेन्द्रको तस्बिर देखेँ। डेनमार्कजस्तो ठाउँमा हाम्रो राजाको फोटो देख्दा खुसी लाग्यो। उत्सुकुता जाग्यो।
पछि भित्र गएपछि थाहा भयो, त्यहाँबाट त हरेक देशका प्रमुखलाई सिगार जाने डेलिभर हुने रहेछ। त्यसबेला मैले उहाँका लागि भनेर ७ हजार नेपाली रकममा एक प्याकेट सिगार बोकेर आएको थिएँ।
समय मिलाएर उहाँकै हातमा सिगार थमाउने मरो लक्ष्य करिब डेढ वर्षमा पूरा भयो। लोकेन्द्रबहादुर चन्दको छोराको विवाह पार्टीमा वीरेन्द्रको उपस्थिति हुने। गायनमा भने उहाँबाट मेरै नाम फमाइस भएछ।
सोही दिन जसले मलाई लोकेन्द्रबहादुरको घरमा बोलायो, उसैलाई राजालाई आफ्नै हातले उपहार दिन पाउनुपर्छ भन्ने सर्तमा विवाह पार्टीमा पुगेर सिगार थमाएँ। उहाँले खुसी हुँदै भन्नुभयो,‘आनन्द तिमी त चलाख रहेछौं। मेरो रुचिको कुरा मेरै हातमा थमायौं। आजसम्म कुनै कलाकारले यस्तो गरेको थिएन।’
यति भन्दै वीरेन्द्रले प्याकेट खोलेर एउटा सिगार त्यही सल्काउनुभयो।
राजा वीरेन्द्रसँग मेरो अन्तिम भेट त्यही नै थियो। तर, जे भए पनि मेरो सङ्‌गीत यात्रामा राजपरिवारको देन मननयोग्य छ। सम्झनलायक छ।
वीरेन्द्र मरेर गए पनि ज्ञानेन्द्रले बेलाबेला सम्झिनुहुन्छ...
राजा वीरेन्द्रको परिवार सकिए पनि ज्ञानेन्द्रले सम्झि रहनुहुन्छ। उहाँसँग मेरो साङ्‌गीतिक सामीप्यता त छँदैछ, व्यक्तिगत सम्बन्ध पनि नजिकको छ।
ananda karki inside photo 4
अहिले मेरो श्रीमतीको दुवै मिर्गौलाले काम नगरेर हाम्रो परिवार पीडामा छ। यस घडीमा ज्ञानेन्द्र स्वयंले फोन गरेर परिवारको बारेमा जानकारी लिनुभएको थियो। यसको अर्थ अझै पनि उहाँहरूले मलाई सम्झनुहुन्छ।
ज्ञानेन्द्रसँग नजिक हुनुको अर्को कारण मैले पारस शाहलाई मेरै हातले मृत्युको मुखबाट बचाएको पनि छु। माइतीघर छेउमा कार दुर्घटनामा उद्धार गरेको थिएँ। उक्त कुराले ज्ञानेन्द्र मप्रति आभारी हुनुहुन्छ।
मलाई भन्ने गर्नुहुन्छ-आनन्द! त्यो क्षण जीवनको बिर्सन नसक्ने क्षण थियो है।

Comments