शनिबार-अन्तरङ्‍‍ग : कहिल्यै सोचिनँ ‘मिस नेपाल’ हुँ, सोचिरहन्छु- ‘अभिनेत्री’ भएर के दिन सकूँला!

  • मनोज न्यौपाने माघ १८, २०७६ | शनिबार | काठमाडौं


पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक। तस्बिर: दिनेश गोले
यति बेला मिस नेपाल-२०१७ निकिता चाण्डक फिल्म ‘साङ्लो’को प्रचारप्रसारमा व्यस्त छिन्। ‘करिअर’कै पहिलो फिल्म प्रदर्शन हुन लाग्दा उनीलाई एकातिर कताकता डर-त्रास छ, अर्कातिर उत्साह पनि। उनी माघ २४ को व्यग्र पर्खाइमा छिन्।
अचानक ‘मिस नेपाल’को ताज जिते पनि निकिताको भित्री अभिरुचि अभिनय थियो। आखिर उनको सपना साकार हुँदैछ।
मिस नेपाल भएपछि उनले विभिन्न खालका नकारात्मक टीकाटिप्पणी पनि खेप्दै आएकी छन्। नेपाली फिल्म उद्योगमा ‘मिस नेपाल’हरूको असफल यात्रा चिर्दै ‘सफल हुनुपर्ने’चुनौती उनलाई छ। 
आफ्नो ‘करिअर’, मिस नेपाल भएपछिका अनुभूतिलगायत विषयमा केन्द्रित रहेर पूर्वमिस नेपाल तथा नवअभिनेत्री निकिता चाण्डकसँग नेपालन्युजका मनोज न्यौपानेले गरेको अन्तरङ्‌ग कुराकानी:
पहिलो फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा कस्तो अनुभूति भएको छ?
अहिलेचाहिँ त्यस्तो केही महसुस भएको छैन। तर, प्रदर्शन हुन एक/दुई दिन बाँकी रहँदा कस्तो हुने हो थाहा छैन।
कहिलेकाहीँ चाहिँ उत्साह र तनाव एक-अर्कामा ‘मिक्स’ हुन्छ। यद्यपि, त्यसलाई छाडेर के अनुभव गर्ने भन्ने नै छैन। प्रमोसनमा धेरै व्यस्त छु। यसले गर्दा पनि धेरै सोच्न भ्याइएकी छैन। तर, प्रदर्शन मिति भने गनेर बसेकी छु।
फिल्मको विषयगत अनुभव कस्तो रह्यो ?
एउटा सामान्य शिक्षित केटी, जो परिवारका लागि त्याग गर्न सक्षम हुन्छे। हो, म त्यही ‘क्यारेक्टर’मा छु। मैले महिला पात्रले निर्वाह गर्नुपर्ने भूमिकालाई ‘जस्टिस’ गरेकी छु। वास्तवमा, मैले सत्यको पक्षमा लड्ने ‘सक्षम’ पात्रका रूपमा काम गरेकी छु।
अब, अभिनयको कुरा गर्दा दर्शकहरूले फिल्मको गीत र ट्रेलर हेरिसक्नुभएको छ। फिल्ममा रमाइला कमेडी संवाद पनि छन्।
समग्रमा ‘फेमिली ड्रामा’ र सामाजिक विषयवस्तु फिल्ममा देख्न सकिन्छ।
‘एक्सन किङ’ विराज भट्टसँगको ‘स्क्रिन सेयर’ अनुभव नि ?
विराज दाइ, एकदमै रमाइलो मान्छे हुनुहुन्छ। एक्सन अनि उहाँका ‘सिक्वेन्स’ हेर्दा अलि कडै लाग्छन्, तर सामान्यतया उहाँ धेरै नै सहज र रमाइलो मान्छे हुनुहुन्छ।
एकसाथ काम गर्न पनि सहज भयो, नजानेको कुरा सिकाउने, धैर्यता भएको मान्छे हुनुहुन्छ उहाँ।
मभन्दा धेरै सिनियर हुनुहुन्छ उहाँ। ‘करिअर’मा यति धेरै फिल्ममा काम गरेर पनि मजस्तो नवअभिनेत्रीसँग सिनियर-सुपेरियर हुँ भन्ने कहिल्यै देखाउनु भएन। उहाँ मित्रवत व्यवहारले फिल्म युनिटका लागि सहज वातावरणमा तयार गर्न सक्षम व्यक्ति हुनुहुँदो रहेछ।
तपाईँले अभिनयको सपना कहिलेबाट देख्नुभएको थियो?
सात/आठ वर्ष पुरानो कुरा हो। कक्षा ९ को अन्त्यतिर म राजस्थानमा पढ्थेँ। जहाँ मैले अचानक एउटा अवसर पाएकी थिएँ ‘डान्स ड्रामा’।
संवाद नभए पनि ‘एक्टिङ’ थियो। त्यस बेला मैले एउटा जड्याहा श्रीमानको भूमिका निर्वाह गरेकी थिएँ।
थाहा थिएन त्यो पात्रलाई मैले न्याय गर्न सक्छु कि सक्दिनँ? तर, पछि गरेपछि जुन प्रशंसा पाएँ, त्यसले अभिनयप्रति रुचि बढायो।
त्यहीबाट अभिनय गर्ने, अभिनेत्री बन्ने महत्वाकांक्षा बढेर आएको हो।
Nikata Chandak 3
तपाईंको सपना पूरा भएको छ, यो खुसी कसरी सेयर गर्नुहुन्छ?
वर्षौं पर्खिएर पाएको प्राप्तिमा धेरै खुसी हुने मेरो आदत नै छैन। तर, फिल्मको मामलामाचाहिँ पहिलो गीत ‘चरीले काफल टिप्यो...’ प्रदर्शनमा आउनुअघि दुई दिन म सुत्नै सकेको थिइनँ।
एक प्रकारले भावनात्मक अन्तरद्वन्द्वजस्तो भयो, कहिले टाउको दुख्ने, कहिले हाँसो त कहिले रुन मन लाग्ने।
यस प्रकारको ‘इमोसन’ जीवनमा कहिल्यै महसुस गरेकी थिइनँ। सायद, अब फिल्म प्रदर्शनमा आउने दिनअघि पनि त्यस्तो हुनसक्छ। हेरौं, के-कस्तो हुने हो।
अभिनय रहर हो वा ‘करिअर’को आधार रेखा?
मेरो रहर मात्र नभएर ‘आधार रेखा’ पनि हो अभिनय। किनकि, जुन कुरा ७/८ वर्षदेखि मेरो मस्तिष्कमा छ।
अहिलेका लागि मेरो ‘करिअर’ यही नै हो। भविष्य कस्तो हुन्छ, कसैलाई थाहा हुँदैन। म चाहन्छु कि- यही नै मेरो दीर्घकालीन ‘करिअर’ बन्न सकोस्।
राजस्थानमा पढे-हुर्केर पनि नेपालमै आफ्नो ‘करिअर’को सम्भावना किन देख्नुभयो?
जीवनमा अवसर आउँदै गए, मैले त्यसलाई सदुपयोग गर्दै गएँ। म सन् २०१७ मा पहिलोपटक काठमाडौं आएकी हुँ। त्यो पनि फेसबुकमा देखेको विज्ञापनका आधारमा एक ‘मोडलिङ शो’को अडिसनका लागि।
त्यो मेरा लागि एउटा अवसर थियो। काठमाडौं आएपछि अवसरका रूपमा ‘मिस नेपाल’ आयो। ‘मिस नेपाल’को क्राउन जितेपछि फिल्म उद्योगमा काम गर्ने मौका पाएँ।
मैले ती अवसर गुमाइनँ। र, त्यसकै कारण आज यो उद्योगमा सिक्ने मौका पाइरहेकी छु।
जीवनमा आइपर्ने घटना भाग्यले जुराउँदो रहेछ कि रोजाइमा भर पर्छन्?
जीवनमा रोजाइले नै अर्थ राख्छ जस्तो लाग्छ। प्राप्त अवसलाई सदुपयोग गर्दै हुनुहुन्छ कि हुनुहन्न भन्ने पनि हुन्छ।
मिस नेपालको अवसर आउँदा म आफैंचाहिँ ‘नगरौं कि क्या हो’ भन्ने सोचमा थिएँ। किनकि, मलाई मिस नेपाल भनेको के हो? भन्ने थाहै थिएन।
तर, मेरो दिदीले प्रयास गर भन्नुभयो। अन्ततः यो सुखद परिणाम आएको हो।
कुन अवसरले कहिले साथ दिन्छ भन्ने थाहा हुँदैन। तथापि, ती अवसरलाई ‘जज’ गर्न सक्नुपर्छ। जीवनमा केही गल्ती भयो भने त्यसबाट सिक्दै अगाडि बढ्नुपर्छ।
Nikata Chandak 2
तपाईंले भनिसक्नुभयो- ‘मिस नेपाल’ बन्ने योजना नै थिएन। के रहर पनि थिएन?
रहर पनि थिएन, किनकि ‘मिस नेपाल’ भन्ने सुनेकै थिइनँ। ‘मोडलिङ शो’ का लागि काठमाडौं आएका बेला मैले मिस नेपाल–२०१६ अश्मि श्रेष्ठलाई भेटेकी थिएँ।
उहाँसँग परिचय भएपछि मात्र थाहा भयो कि यहाँ पनि ‘मिस नेपाल’ प्रतियोगिता हुन्छ भनेर।
अहिलेचाहिँ मिस नेपालको चर्चा अलि धेरै भइरहेको छ जस्तो लाग्छ।
त्यसबेला जीवनको लक्ष्यचाहिँ के थियो?
‘अभिनेत्री’ बन्ने नै थियो। ७/८ वर्षदेखिको महत्त्वकांक्षा नै ‘अभिनेत्री’ बन्ने थियो।
हिरोइन बन्ने लक्ष्य र उद्देश्य तय गरेको मान्छे, पहिलोपटक फिल्म ‘रानी महल’मा अनुबन्ध हुनुभयो, तर फिल्म बीचमै तुहियो। पहिलो पाइलामै ठेस लाग्दा कस्तो पीडा भयो?
त्यो समय धेरै नै दुःखी भएकी थिएँ। भावनात्मक रूपमा धेरै नै असन्तुलित थिएँ। जीवनको सपना पूरा हुन लागेको बेला अचानक 'ब्रेक' हुँदा मेरा लागि निकै नै कठिन समय थियो त्यो।
यद्यपि, आज आएर त्यो समय सम्झँदा जे भयो ठिकै भयो जस्तो लाग्छ। फिल्म अपूरो रहे पनि त्यसबाट सिकेका विषयले दोस्रो फिल्ममा सहयोग गर्‍यो।
मिस नेपालको ताज जितेपछि आजसम्म नकारात्मक टिप्पणी बेहोर्नु र फिल्म ‘करिअर’को पहिलो प्रयास असफल हुनुलाई जीवनका दुई दुःखद घटना मान्नुहुन्छ?
हो, म ‘मिस नेपाल’ भएपछि आएका नकारात्मक टिप्पणीले आज पनि मलाई असर गरेको छ, प्रभाव परिरहेकै छ। तर, ती विषयलाई परास्त गरेर म अघि बढिरहेकै छु। अघि बढ्ने प्रयासमा छु।
यद्यपि, फिल्मको विषय भने जीवनको दुःखद घटना नै थियोजस्तो लाग्दैन। जे भयो राम्रोकै लागि भयो र ‘करिअर’मा फिल्म ‘साङ्लो’ नै डेब्युका लागि उपयुक्त ठहरियो।
Nikata Chandak 1
त्यस्ता नकारात्मक टिप्पणी आइरहनुलाई कसरी लिनुहुन्छ?
सबैजना त्यस्तो समूहमा पर्नुहुन्छ भन्ने छैन। किनकि, धेरै जनाले सकारात्मक प्रतिक्रिया पनि दिइरहनुभएको छ।
तर, पछिल्लो समय सामाजिक सञ्जाल यस्तो माध्यम भएको छ कि जहाँ कसैले नसोचिकनै कमेन्ट गरिदिन्छन्। कुनै वास्तै नगरी लेखेर पठाउने गर्छन्।
यसरी हेर्दा एक प्रकारले सामाजिक सञ्जालको दोहन गरिँदैछ। लाग्छ- मानिसहरूले आफूमा भएको व्यक्तिगत नैराश्य र कुण्ठा सामाजिक सञ्जालमा जो कोहीमाथि पोखिरहेका छन्।
त्यस्तो गर्दा उनीहरूलाई भलै एकपटक खुसी मिल्ला, तर दीर्घकालीन रूपमा पक्कै फाइदा गर्दैन।
उनीहरूले गर्दा हामीलाई चाहिँ असर परिरहेको हुन्छ। तर, एउटा ‘पब्लिक फिगर’ भएपछि यस्ता विषयबाट माथि उठ्ने र यसैबाट सिक्नु पर्नेरहेछ। शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाइन्छ भन्ने छैन।
नकारात्मक टिप्पणी गर्ने अनि तपाईंको प्रतिभा नबुझ्नेलाई ‘उत्कृष्ट अभिनय’ मार्फत् जवाफ फर्काउने तयारी हो?
यस्तो प्रकारको चुनौती होजस्तो मलाई लाग्दैन। सबैले राम्रो मान्नुहुन्छ वा राम्रो प्रतिक्रिया दिनुहुन्छ भन्ने छैन।
फिल्मको गीत सार्वजनिक भएपछि त्यहाँ मैले गरेको नृत्य हेरेर अधिकांश दर्शक खुसी हुनुहुन्छजस्तो लाग्छ।
मेरो बारेमा ‘जज’ गरेर बसेका अन्य दर्शकले ‘म सक्षम छु’ भनेर नमान्न सक्छन्। त्यसैले यो मेरो सपनाको यात्रा हो।
अभिनयलाई नै आफ्नो ‘करिअर’का रूपमा छनोट गरिसकेपछि फिल्ममा एउटा मनोरञ्जनात्मक पात्रका रूपमा आफ्नो कर्म गर्नु मेरो कर्तव्य हो। मलाई नकारात्मक टिप्पणी गर्नेहरूका लागि प्रमाणित गर्नुपर्ने मेरो कर्तव्य होइन।
पूर्व‘मिस नेपाल’को फिल्म यात्रा त्यति सफल देखिएको छैन, यसमा कतिको चुनौती देख्नुहुन्छ?
हामी ‘मिस नेपाल’ मात्र भनेर प्रतियोगितामा आएका हुँदैनौं। त्यहाँ आ-आफ्नो परिचय पनि बोकेर आएका हुन्छौं। म निकिता चाण्डक ‘मिस नेपाल’ मात्र होइन, स्वयं निकिता चाण्डक पनि हुँ।
त्यसैले, यहाँ आफ्नो आफ्नो व्यक्तित्व हुन्छ। आ-आफ्नो रुचि हुन्छ, ‘प्यासन’ हुन्छ।
अरुको बारेमा थाहा छैन, तर मैले कहिल्यै पनि सोचिनँ कि म ‘मिस नेपाल’ हुँ भनेर। यतिमात्र सोचिरहेँ- एउटी अभिनेत्री भएर मैले के दिनसक्छु भनेर!
हो, सबैले आ-आफ्नो क्षेत्रमा मिहेनत गरिरहेकै हुन्छन्। सँगै भाग्यले पनि साथ दिनुपर्छ जस्तो लाग्छ।
मेरो मामलामा हेरौं कस्तो हुन्छ। जीवन, भविष्य अप्रत्याशित हुन्छ। यति थाहा छ, आफ्नो तर्फबाट शतप्रतिशत मिहेनत गर्नेछु।
अभिनय नै ‘करिअर’ भनिरहँदा नेपाली फिल्म बजार त्यति सहज र सफल छैन, तपाईंले बुझ्नुभएको नेपाली दर्शकको चाहना के रहेछ?
म र मेरो पुस्ता कस्तो छ भने फिल्म हलमा पसिसकेपछि त्यहाँ एक प्रकारको निर्णायक भूमिकामा हुन्छौं। अभिनेता-अभिनेत्रीदेखि फिल्म कस्तो छ? त्यसको निर्णायक हुन्छौं।
तथापि, जुन प्रकारको फिल्म निर्माण गरिएको हुन्छ, त्यसअनुसारका दर्शक हुन्छन्। सबैको बुझाइ उस्तै हुन्छ भन्ने पनि हुँदैन।
Nikata Chandak 4
तपाईंको अबको अभिनय–यात्रा नेपाली फिल्म बजारका लागि मात्र कि हलिउड-बलिउडमा पनि?
पहिलो कुरा त आत्ममूल्याङ्‌कन महत्त्वपूर्ण हुन्छ। र, म आफूले आफ्नो कामलाई मूल्याङ्‌कन गरिरहेकी हुन्छु। सँगै फिल्म ‘साङ्लो’मा म कस्तो देखिन्छु, वा मेरो काम कस्तो भएको छ, त्यो हेर्न मन छ।
यस अर्थमा मैले अन्य फिल्म उद्योगमा पनि प्रयास गर्नेछु। तर, त्यो स्वमूल्याङ्‌कन पछिमात्र तय हुने बाटो हो, किनकि यो पछि यो गर्छु भन्ने योजना अहिलेसम्म छैन। अवसर पाएँ भने पक्कै सम्भव छ।
फिल्म उद्योगमा सफल हुनु भएन भने त्यसको विकल्प?
आशा छ, यही क्षेत्र राम्रो हुन्छ। अन्य विकल्प तय भएको छैन। मेरा कुनै योजना छैनन्।
मेरा साथीहरूको ‘टेन टु फाइभ’ वाला काम हेर्छु, अनि महसुस हुन्छ- मलाई डर लाग्छ। किनकि, म त्यसका लागि सक्षम छु भन्ने लाग्दैन।
आफूमा के छ, के छैन? भन्ने कुरा आफूलाई थाहा हुन्छ। यस हिसाबमा म सिर्जनात्मक कर्ममै ठिक छु, फिट छु।
तस्बिर/भिडियाे: दिनेश गाेले/नेपालन्युज

Comments