‘अमेरिकन आइडल’को स्टेज तताउँदै दिवेश पोखरेल

  • मनोज न्यौपाने फागुन ५, २०७६ | सोमबार | काठमाडौं


गायक दिवेश पोखरेल यतिबेला अमेरिकामा आफ्नो प्रतिभाको जादू छरिरहेका छन्। विश्वमा रहेका नेपालीहरूको ध्यान खिचिरहेका छन्।
नेपालमा जन्मिएर सन् २०१३ बाट अमेरिकाको कान्ससमा बस्दै आएका पोखरेल अहिले चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल-२०२०’को स्टेजमा आफ्नो प्रतिभा देखाइरहेका छन्। उनले आफ्नो स्वरको जादू संसारभर देखाइरहेका छन्।
निर्णायकहरूमाझ उत्कृष्ट गायकी प्रस्तुत गरेसँगै उनको अमेरिकन आइडलकाे यात्रा अझ सहज देखिएको छ। १८औं संस्करणमा चलिरहेको उक्त गायन प्रतियोगितामा पोखरेल विश्वका दर्शकमाझ आशाको केन्द्र बनेका छन्।
निर्णायक लुक ब्रायनले पहिलो अडिसनमै पोखरेललाई प्रतियोगिताकै ठूलो स्टारको उपमासहित प्रशंसा गरेका थिए। ब्रायनले पोखरेलको प्रस्तुति हेरेपछि भनेका थिए, ‘ऊ अमेरिकन आइडलकै ठूलो स्टार हुनसक्छ।’
प्रतियोगिताका अन्य निर्णायक केटी पेरी र लाइनल रिचीले पनि पोखरेलको गायन प्रस्तुति उत्कृष्ट रहेको भन्दै तारिफ गरे। पोखरेलको आवाज सुनेर उनीहरूले दिवाना भएको प्रतिक्रिया दिए।
फेब्रुअरी १६ अर्थात् आइतबारबाट प्रसारणमा आएको रियालिटी शो पोखरेलका कारण नेपाली दर्शकका लागि पनि विशेष बनिरहेको छ।
गायक पोखरेलको आवाज श्रोता, दर्शकका लागि अमेरिकन आइडलको स्टेज पहिलो भने होइन। उनले यसअघि ‘न्यानो घर’, ‘मन’, ‘समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’, ‘प्रलय बी’ लगायत नेपाली गीत बजारमा ल्याइसकेका छन्।
उनी आफ्नो नाम ‘अर्थर गन’बाट चिनाउन चाहन्छन। यो कुरा आइडलको स्टेजमा पनि उनले भन्न छुटाएनन्।

पोखरेलको गायन अमेरिकन आइडलको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा अधिकांश प्रतिक्रिया गायक पोखरेलको तारिफ गर्दै लेखिएका छन्। उनको आवाजबाट धेरै श्रोता/दर्शक लोभिएका छन्।
उनको प्रतिभाले अमेरिकन आइडलको उपाधि जित्ने दाबी अधिकांशको प्रतिक्रियामा देख्न सकिन्छ।
पोखरेलको प्रतियोगिताका लागि तयार परिचयात्मक भिडियोमा नेपालको वर्णन गरिएको छ। जहाँ पोखरेलले आफ्नो जन्मभूमि नेपालको खुलेर प्रशंसा गरेका छन्। यसले अमेरिकन आइडलको पर्दाबाट विश्वमा नेपालको परिचयलाई विस्तृत बनाएको महसुस गर्न सकिन्छ।
पोखरेलले नेपालको काठमाडौंमा जन्मिएको र नेपालमा जन्मिन, हुर्कन पाएकोमा गौरव गरेका छन्। ‘हिमालै हिमालले भरिएको सुन्दर देश नेपाल, आफ्नो जन्मभूमि नेपाल मेरा लागि सधैं प्रिय छ,’ उनले भनेका छन्।
पोखरेलले आफ्नो गायनयात्रालाई पनि सरसर्ती सम्झिएका छन्। ‘पहिलोपटक मलाई आमाले गितार किनिदिनुभयो र त्यहीँबाट रेडियो टिभीमा गीत सुन्दै गाउन थालेको हुँ।’
‘सङ्‌गीत मेरो सपना थियो। त्यहीबेला उच्च शिक्षाका लागि म अमेरिका आएँ। कारण अमेरिकामा धेरै अवसर पाइन्छ भनेर,’ भिडियोमा पोखरेलले अमेरिका रोज्नुको कारण पनि खुलाएका छन्।

Comments